मतगणनास्थलमा सुरक्षा व्यवस्थापनका लागि प्रहरी, त्यसबाहिर सशस्त्र र अझ बाहिर सेनाको टोली परिचालन। अफवाह नफैलियोस् भनेर साइबर ब्युरोसागै प्रहरी प्रधान कार्यालयका युनिटसमेत तैनाथ।
काठमाडौँ — निर्वाचन मतगणनामा देशैभर सीसीटीभी क्यामरा र तारजालीको प्रयोग गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा कार्ययोजनाअनुसार मतगणनालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्थापन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए ।
देशैभरि तारजालीको भित्रतर्फ निर्वाचन अधिकृत तथा मतगणना गर्ने कर्मचारी र बाहिरतर्फ चुनावमा सहभागी उम्मेदवारका प्रतिनिधि बस्ने व्यवस्थापन गरिएको छ । २०७४ को चुनावमा भरतपुरमा मतपत्र च्यातिएको घटनायता मतगणनामा तारजाली राख्ने व्यवस्था गरिएको थियो । त्यसलाई निरन्तरता दिँदै यसपालि थप सुरक्षा प्रबन्ध गरिएको प्रहरीले जनाएको छ ।
भरतपुरमा स्थानीय तहको निर्वाचनमा माओवादी उम्मेदवार रेनु दाहाल र एमालेका देवीप्रसाद ज्ञवालीबीच प्रतिस्पर्धा भइरहेका बेला १४ जेठ २०७४ मा मध्यराति मतपत्र च्यातिएको थियो । त्यसले ठूलै विवाद निम्त्याएको थियो ।
‘यसपालि कुनै पनि किसिमका घटना नहोस् भन्नेमा सचेत छौं, त्यसैले मतगणना गर्दा उम्मेदवार वा सम्बन्धित प्रतिनिधिलाई मतपत्र छुन नदिने गरी व्यवस्थापन गरिएको छ,’ डीआईजी काफ्लेले भने, ‘सुरक्षामा कुनै चुक नहोस् भनेर प्रहरी कर्मचारीलाई समेत सिफ्टअनुसार ड्युटी मिलाएका छौं । प्रज्वलनशील पदार्थ, मसी, पानी, दूध, चियालगायतका तरल पदार्थसमेत लैजान दिएका छैनौं ।’ उनले मतगणनास्थलमा पुग्ने प्रतिनिधिको जाँचमा समेत कडाइ गरिएको बताए ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समेत देशभरका वरिष्ठ प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै शुक्रबार मतगणनास्थलमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । ‘आवश्यक सुरक्षा रणनीतिसहित प्रभावकारी प्रहरी परिचालनमा विशेष सतर्कता अपनाउनुहोला । मतगणनास्थल, मतगणनाको परिणाम र विजयी दलको र्याली, जुलुसलगायतका क्रियाकलापमा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भई कार्य गर्नुहोला,’ उनले भनेका छन्, ‘प्रहरीबाट समेत उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमान्दार र प्रतिबद्ध भएर काम गर्नुहोला ।’
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार, मतगणनास्थल व्यवस्थापनका लागि प्रहरी, त्यसबाहिर सशस्त्र र अझ बाहिर सेनाको टोली बसेको छ । ‘ठाउँ ठाउँमा सिनियर प्रहरीहरू आफैं खटिनुभएको छ,’ उनले भने, ‘त्यसैले निर्वाचन जसरी शान्तिपूर्वक सम्पन्न भयो, त्यसैगरी गणना पनि हुनेछ ।’
एकीकृत सुरक्षा कार्ययोजनामा समेत मतगणनाको समयमा कुनै अप्रिय घटना हुन नदिन घुम्ती सुरक्षा टोली, स्टाइकिङ टोली र जगेडा टोली परिचालन गर्ने भनिएको थियो । ‘मतगणनास्थलमा मानिसको भीड हुन नदिन र मतपत्र खोसी नष्ट गर्न नदिन विशेष निगरानीको व्यवस्था मिलाउने,’ योजनामा भनिएको छ, ‘मतगणना कार्य प्रारम्भ भएपछि सम्बन्धित सबै मतदान केन्द्रका मतपत्रको गणना नसकिएसम्म शान्तिपूर्वक लगातार मतगणना गर्न सक्ने वातावरण सिर्जना गर्ने ।’
मतगणनाको समयमा भित्र प्रवेश गर्ने व्यक्तिलाई सलाई, लाइटरजस्ता वस्तुसँगै मोबाइल, क्यामरा, फोटो खिच्ने सामग्रीलगायत लैजान नदिने भनिएको छ । मतगणना भइरहेका बेला अफवाह नफैलियोस् भनेर साइबर ब्युरोसँगै प्रहरी प्रधान कार्यालयको अरू युनिटसमेत परिचालन गरिएको प्रहरीको भनाइ छ ।
अन्तिम परिणाम घोषणापछिको अवस्थामा समेत मतगणनास्थलको भरपर्दो सुरक्षा गर्ने योजना बनाइएको छ । परिणामको घोषणालगत्तै विजय जुलुस र आमसभाको सुरक्षा व्यवस्था मिलाउनेदेखि विजयीसँग पराजित उम्मेदवारको सुरक्षा मिलाउनेसमेत भनिएको थियो । विभिन्न राजनीतिक दलबाट निस्किने जुलुसको मार्ग तोक्ने र समारोह स्थल जुध्न नदिनेसमेत भनिएको थियो । त्यस्तै कुनै व्यक्ति वा समूहबाट हुन सक्ने उच्छृंखल गतिविधिमाथि निगरानी राख्ने तयारी प्रहरीले गरेको छ । विजयी तथा पराजित पक्षबीच हुन सक्ने झडपलाई समेत ध्यानमा राखेर गस्तीको तयारी प्रहरीले गरेको छ ।
