कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका आठ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको हो ।
काठमाडौँ — प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबार साँझ ६ बजेसम्म हिमाली जिल्लाका आठ वटा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छैन ।
मतपेटिका संकलनको काम जारी रहेकाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका आठ वटा निर्वाचन क्षेत्रमा मतगणना हुन नसकेको हो ।
कोशी प्रदेशमा संखुवासभा र सोलुखुम्बुको मतगणना सुरु भएको छैन । संखुवासभास्थित भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका शनिबार मात्रै ल्याइने भएको छ । खराब मौसमका कारण सदरमुकाम ल्याउन नसक्दा मतगणना अझै हुन सकेको छैन । थुदाममा १३ मत मात्रै खसेको छ । त्यहाँ ६३ मतदाता थिए ।
सेनाको हेलिकोप्टरले शुक्रबार पटकपटक मतपेटिका ल्याउने प्रयास गरे पनि खराब मौसमका कारण ल्याउन सकेको छैन । भौगोलिक रूपमा विकट मानिएका भोटखोलाका तीन, भोटखोला गाउँपालिकाको रिदाक र किमाथांका तथा सिलिचोङ गाउँपालिका–५ का काम्पेक र गौथलाका मतपेटिका ल्याइएको डिएसपी कुमारप्रसाद मैनालीले बताए ।
पटकपटक मतपेटिका ल्याउने प्रयास गरे पनि थुदाममा पानी परिरहेकाले ल्याउन नसकिएको उनले बताए । सेनाको हेलिकोप्टर मतदान केन्द्रमा अवतरण हुन नसकेको खाँदबारीमा रहेको सेनाको ईन्द्रदल गुल्मले जनाएको छ। जिल्लाका १ सय २४ मतदान केन्द्रको पैदल मार्गबाट मतपेटिका गणनास्थल ल्याइसकिएको छ । जिल्लामा एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् ।
सोलुखुम्बुका १३९ वटै मतदान केन्द्रका मतपेटिका संकलन सकिए पनि मतगणना सुरु भएको छैन ।
केही बेरअघि बसेको सवर्दलीय बैठकले शुक्रबार साँझ ७ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ ।
गोरखा क्षेत्र नम्बर १ खराब मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ भएपछि मतगणना सुरु हुन सकेको छैन। शुक्रबार अपरान्ह ५ बजेसम्म उत्तरी गोरखा २३ मध्ये ९ वटा मतदान केन्द्रको मतपेटिका संकलन भएको छ ।
शुक्रबार दिउँसो चुमनुब्री–१ का दुई वटा मतदान केन्द्रको मतपेटिका बोकेको सेनाको हेलिकप्टर पोखरामा अवतरण भएको थियो । केहीबेर पोखरामा बसेर सेनाको हेलिकप्टर गोरखाका लागि उडेको थियो । पोखराबाट उडेको हेलिकप्टर गोरखामा अवतरण भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुमा पनि शुक्रबार साँझसम्म मतगणना सुरु हुन सकेको छैन । हुम्लामा शुक्रबार साँझ पौने ८ बजेदेखि मतगणना हुने भएको छ । मतपेटिका संकलनपछि सम्पन्न सर्वदलीय बैठकले साँझ ७ः४५ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य मतदान अधिकृत नीलकण्ठ बरालले बताए । ‘मतपेटिका संकलन भइसक्यो, सर्वदलीय बैठक बसेर आजै ७ः४५ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेका छौं,’ उनले भने । हुम्लामा ६५.३६ प्रतिशत मतदान भएको छ । कुल ३४ हजार ३ सय ७२ मतदाता रहेको हुम्लामा २२ हजार ४ सय ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
डोल्पाका सबै मतदान केन्द्रबाट मतपेटिका ढुवानी सकिएको छ । जिल्लामा स्थायी र अस्थायी गरी तोकिएका सबै ७० वटै मतदान केन्द्रबाट शुक्रबार साँझ मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनैमा ल्याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।
उपल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका ओसार्नकालागि पाँच वटा हेलिकप्टर प्रयोग गरिएको थियो।
भौगोलिक रूपमा अत्यन्तै विकट तथा सडक सञ्जालको पहुँच बाहिर रहेका उपल्लो डोल्पाका मतदान केन्द्रबाट शुक्रबार दिनभर हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइएको प्रजिअ हमालले बताइन् । मतपेटिका संकलनकार्य सम्पन्न भइसकेकाले मतगणनाकालागि सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुगुको मुगुमकर्मारोङ गाउँपालिकाको जनजागृति मावि र कान्जीरोवा मावि मतदान केन्द्रका मतपेटिका संकलन हुन बाँकी रहेको छ । त्यहाँको प्रहरी चौकीमा राखिएको मतपेटिका शनिबार मात्रै संकलन हुने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रामप्रकाश शाहले बताए ।
सुदूरपश्चिममा बाजुरा र दार्चुलामा शुक्रबार साँझ ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । विकट क्षेत्रमा रहेका बाजुराको हिमाली गाउँपालिका दार्चुलाको अपिहिमाल गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ढुवानी गर्न ढिलाई भएपछि गणना सुरु हुन नसकेको हो । १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमका अन्य क्षेत्रमा मतगणना भइरहेको छ ।
