तारजालीको सुरक्षा र सीसीटीभीको निगरानीमा हुनेछ मतगणना

उम्मेदवारका प्रतिनिधिले मतपत्र हेर्न पाउँछन्, छुन पाउँदैनन् 

फाल्गुन २१, २०८२

दुर्गा दुलाल

The vote counting will be conducted under the security of barbed wire and CCTV surveillance.

काठमाडौँ — जब निर्वाचन आउँछ मतपत्र च्यातिएको दुई घटनाले चर्चा पाउँछन् । त्यस्ता घटनाले देशव्यापी चर्चा पाएसँगै निर्वाचन आयोगलाई पाठ पनि सिकाएको छ । २०७४ र २०५४ मा सालमा भएका मतपत्र च्यातिएको घटनाबाट पाठ सिकेर आयोगले  हरेक पटक मतगणनास्थलमा नयाँ-नयाँ सुधार गर्दै आएको छ ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनका मतपत्र गणनाका लागि विगतका भन्दा परिष्कृत र सुरक्षित व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । विगतका सबै घटनाबाट पाठ सिकेर आयोगले निर्वाचन प्रणाली र अभ्यासमा सुधार गरेको दाबी गर्दै यस पटक झन् परिस्कृत र सुरक्षित बनाइएको भण्डारीको भनाइ छ । 

यसपटकको प्रतिनिधिसभा निर्वाचनका मतगणनास्थल बलियोसँग निर्माण गरिएको भण्डारीको भनाइ छ । जसलाई तारजालीले बेरेर सुरक्षितस्थल बनाएको उनको तर्क छ । मतगणना गर्ने र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँ छुट्टै बनाइएको छ । उनीहरूले मतगणना हेर्न पाउँछन् तर गणकको छेउमा पुग्न भने नपाउने व्यवस्था गरिएको छ । 

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने ठाउँ छाडेर तारजालीसहितको फलामको बार राखिएको छ । प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी जालीसहितको फलामको बार बनाइएको निर्वाचन आयोगले जनाएको छ ।

हरेक मतगणनास्थलमा कम्तीमा  ८ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । ठूलो मतगणनास्थलमा अझै धेरै सीसीटीभी क्यामेरा हुनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

भरतपुरमा मतपत्र च्यातिएको घटनाबाट पाठ सिक्दै निर्वाचन आयोगले यसपटक देशभरका मतगणनास्थलमा सीसी‍टीभी क्यामेरा अनिवार्य गरिएको र त्यसलाई मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन आयोगले समेत केही क्षेत्रको हेर्नसक्ने बनाइएको छ ।

निर्वाचन आयोगका अनुसार मतगणना हरेक जिल्लाको निर्वाचन कार्यालयमा हुनेछ । मतदान सकिएलगत्तै मतपेटिका संकलन कार्य सुरु भएको छ । मतपेटिका जिल्ला निर्वाचन कार्यालयमा जम्मा गरिने क्रम सुरु भएको छ । तर, काठमाडौंका मतपत्र भने १० निर्वाचन क्षेत्रमा नै गणना गर्ने व्यवस्था मिलाइएको छ । 

अन्य जिल्लाका निर्वाचन कार्यालयमा जम्मा गरिएपछि मतपेटिकालाई गणना गर्नुअघि सबै राजनीतिक दलको सर्वदलीय बैठक बस्छ । सर्वदलीय बैठकमा मतगणना देखि बदर र सदरसम्मको लागि नियम निर्धारण गरिनेछ । निर्वाचन कानुन,विगतको अभ्यासदेखि आइपर्ने समस्यासम्मका बारेमा पहिल्यै निर्णय हुँदैछ । त्यसपछिमात्र मतगणना सुरु हुन्छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले पहिला प्रत्यक्षतर्फको मतगणना हुने अनि समानुपातिक तर्फ गणना गरिने बताएका छन् । भण्डारीले प्रत्यक्षतर्फ गणना थालेको २४ घन्टाभित्रै नतिजा दिने दाबी गर्दै आएका छन् ।  निर्वाचन आयोगले एक साताभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने देखिन्छ ।  

निर्वाचन आयोगले दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने बताएको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बिहीबार मतदान सकिएपछि आयोझना गरेको पत्रकार सम्मेलनमा मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि मतगणना कार्य तत्काल सुरु हुने जानकारी दिए ।

हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने जिल्लामा ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुर्‍याउने लक्ष्य रहेको उनले बताए भने संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पुऱ्याइने उनले बताए ।  

के थियो भरतपुर घटना ?

२०७४ सालको स्थानीय निर्वाचनमा भारतपुर महानगरपालिका माओवादी केन्द्रबाट रेणु दाहाल मेयरको उम्मेदवार थिइन् ।  उनको प्रतिस्पर्धीमा नेकपा एमालेबाट देवी ज्ञवाली थिए । दुवै चर्चित भएका र कडा प्रतिस्पर्धा भइरहेको थियो ।  जेठ १४ गते राति वडा नम्बर १९ को मतगणना हुँदै थियो । मतगणना चलिरहँदा एमाले र माओवादीका प्रतिनिधिका बीचमा विवाद सुरु भएको थियो । विवादकै बीचमा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतपत्र च्याते ।

मतपत्र च्यातिएपछि निर्वाचन परिणाम स्वीकार गर्ने कि नगर्ने लामो विवाद भयो । यो विवाद सर्वोच्च अदालतसम्म पुग्यो ।  जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई एक/ एक लाख जरिवाना सजाय पनि सुनायो । सो निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रले गठबन्धनको उम्मेदवारको रुपमा  दाहाललाई सर्मथन गरेको र  एमालेले ज्ञवालीलाई उम्मेदवार बनाएको थियो ।  

पुनः मतदानपछि माओवादीका दाहाल ४३ हजार १२७ मत ल्याएर मेयरमा विजयी भए । निकटम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

ज्ञवाली  २०३ मतले पारजित भएसँगै मतपत्र च्यातिएको विषय राष्ट्रियस्तरमा आलोचनाको विषय बनेको थियो । उक्त घटनापछि निर्वाचन आयोगले मतगणनाका क्रममा मतपत्रको सुरक्षाका लागि मतगणनास्थलमा तारजाली लगाउन थालेको हो । २०७४ मै भएको प्रतिनिधिसभाको निर्वाचनमा मतगणनाका क्रममा चितवनसहित विभिन्न जिल्लामा तारजालीले घेरेर मतगणना गरिएको थियो । 

२०७४ मा मात्र हैन २०५४ सालमा पनि  मतपत्र च्यातिएको थियो । तत्कालीन समयमा बाग्लुङमा मतपत्र च्यातिएको थियो । त्यसबेला एमाले कार्यकर्ताले मतपत्र च्यातेका थिए । तत्कालीन अमलाचौर गाविस हालको बाग्लुङ नगरपालिका १२ मा मतगणना हुँदै गर्दा एमाले प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको थियो ।

काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमै मतगणनास्थल निर्माण

निर्वाचन आयोगले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा मतदान पछि मतगणना गर्ने व्यवस्था मिलाएको छ । सम्बन्धित क्षेत्र जहाँ हो त्यहीँ मतगणना हुने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले काठमाडौंमा सहज भएको र प्रतनिधिसभा निर्वाचन क्षेत्रको हुने भएकाले अपनत्व पनि हुने तथा नतिजा पनि छिटो आउने भएकाले निर्वाचन क्षेत्रमै मतगणनाको व्यवस्था मिलाइएको उनले बताए । 

काठमाडौंमा पनि मतगणनास्थलमा तारबार र सीसीटीभी क्यामेरा जडान गरिएको प्रवक्ता भट्टराईले बताए । काठमाडौंमा मतदान सकिएको केही घण्टामै मतपेटिका संकलन हुने सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भएको छ । मतगणनाका क्रममा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था चुस्त राखिएको आयोगका प्रवक्ता भट्टराईले बताए ।  

कसरी जानकारी पाइन्छ मतपरिणाम

निर्वाचन आयोगले करिब एक साताभित्र सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले मतगणना सुरु भएको २४ घन्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी गरेपनि प्रत्यक्षतर्फ तीन देखि चार दिन लाग्ने र त्यसको तीन दिनपछि समानुपातिक तर्फको मतगणना गरिसक्ने निर्वाचन आयोगको योजना छ । काठमाडौंसहित सुगम स्थानहरूमा आजै मतपेटिका संकलन गरी सर्वदलीय बैठकको सहमतिमा मतगणना सुरु गरिने र सम्भव नभए शुक्रबार बिहानदेखि मतगणना सुरू हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले हिमाली र टाढाबाट ढुवानी गरेर मतपत्र ल्याउनुपर्ने स्थानमा केही ढिलाइ हुने नत्र अरु क्षेत्रमा ढिलाइ नगरी मतगणना सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए । आयोगले मतपरिणाम तत्काल जानकारी दिनका लागि आयोगले मतगणना स्थलमै मतपरिणाम निर्वाचन आयोगको साइटमा उपलब्ध गराउने तयारी गरेको छ । आयोगको वेबसाइटको 'निर्वाचन नतिजा'मा गएर आफ्नो र आफूले हेर्न चाहेको क्षेत्रको मतमरिणाम हेर्न सकिने आयोगले जनाएको छ । 

त्यस्तै मतगणना जारी रहेको क्षेत्रमा पनि माइकिङ गर्ने तथा सञ्चार माध्यमलाई समय समयमा उपलव्ध गराउने व्यवस्था जिल्ला निर्वाचन कार्यालयले मिलाएको आयोगले जनाएको छ । त्यसका लागि प्रत्येक गणनास्थलमा एक-एक जना अधिकृतलाई परिणाम अपलोड गर्नका लागि तालिम दिएर 'युजर र पासवर्ड' दिइएको छ । उनीहरूले मतगणनास्थलबाटै परिणाम अपलोड गर्नेछन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully