शुक्रबार बिहानसम्म सबै मतपेटिका सदरमुकाम चामे ल्याइसकिने
लमजुङ — मनाङमा ४३ प्रतिशत मात्र मत खसेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार यसअघिको चुनावभन्दा निकै कम मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा कम मत खसेको छ । कूल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार २१ मत खसेको प्रारम्भिक रिपोर्ट छ ।
सिंगो नार्पाभूमि गाउँपालिकामा ४ सय ८८ मतदाता रहेकोमा १ सय २१ मत अर्थात २४ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिका १ देखि ३ सम्मको नार गाउँको ३ वटा केन्द्रमा ८० मत र वडा नं. ४ र ५ को फू गाउँको २ वटा केन्द्रमा ४१ मत खसेको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए । नार गाउँमा ३ सय २२ मतदाता र फू गाउँमा १ सय ६६ मतदाता छन् ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले सबै मतपेटिका आइसकेपछिमात्रै यसको पूर्ण जानकारी हुने बताए । मनाङमा एउटा अस्थायीसहित २९ मतदानस्थलमा २९ मतदान केन्द्र छन् । ४ वटा गाउँपालिका रहेको मनाङमा २८ वटै वडामा वडैपिच्छे मतदान केन्द्र छन् ।
मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ मतदाता छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलानामा यसपटक २ सय २१ मतदाता थपिएका थिए ।
मनाङमा ०७९ को चुनावमा ७४ प्रतिशत मत खसेको थियो । प्रजिअ पौड्यालले भने, '३ हजार २१ मत खसेको छ । यसमा कर्मचारी र सुरक्षाकर्मी पनि हुनुहुन्छ । ब्रेकडाउन गर्न बाँकी छ ।' प्रजिअ पौड्यालले शुक्रबार बिहानसम्म सबै मतपेटिका सदरमुकाम चामे ल्याइसकिने बताए । उनका अनुसार ५ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइनेछ ।
मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ मतदाता छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निवाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा यसपटक २ सय २१ मतदाता थपिएका थिए ।
