चुनावमा ९ लाख १५ हजार जना नयाा मतदाता थपिए उम्मेदवार र पार्टीका एजेन्डा अध्ययन गरेर मत हाल्ने जेन–जी युवाको भनाइ
काठमाडौँ — भक्तपुर–२ की २० वर्षीया कृपा अर्याल पहिलो पटक मतदान गर्दै छिन् । ‘एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट’ मा स्नातक अध्ययनरत उनले चुनावलाई लिएर अत्यन्तै उत्साहित रहेको बताइन् । ‘नेतृत्व छान्ने अधिकार पहिलो पटक उपभोग गर्दै छु, खुसी लागेको छ,’ उनले भनिन् ।
कसलाई मत हाल्ने भन्नेमा परिवारसँग छलफल भइरहेको कृपाले सुनाइन् । ‘परिवारसँग छलफल भए पनि आफ्नै विवेक प्रयोग गरेर उम्मेदवार छनोट गर्छु,’ उनले भनिन्, ‘उम्मेदवार र पार्टीका एजेन्डा अध्ययन गरेकी छु । युवालाई प्रविधिसँग जोड्ने र जनताका समस्या बुझ्ने प्रतिनिधि नेतृत्व चाहिएको छ ।’ सामाजिक सञ्जालमा पर्याप्त सूचना पाउने भए पनि सबै सामग्रीलाई सहजै विश्वास नगर्ने उनले बताइन् । 
काठमाडौंको ‘नेसनल ल कलेज’ मा स्नातक अध्ययनरत २० वर्षीया विपिका सिलवाल पनि नयाँ मतदाता हुन् । उनी धादिङ–२ बाट मतदान गर्दै छिन् । ‘मतदान गर्नु भनेको आफ्नो भविष्य निर्माणका लागि अधिकार प्रयोग गर्नु भन्ने बुझेकी छु । मतदाता परिचयपत्रले आफू सक्षम नागरिक भएको आभास दिलाएको छ,’ उनले भनिन् ।
विपिकाले आफ्नो क्षेत्रका उम्मेदवारहरूको एजेन्डाबारे बुझिरहेको जानकारी दिइन् । ‘पहिलाका प्रतिनिधिले कति काम गरे, नयाँ प्रतिनिधिका योजना के छन् भनेर नियालिरहेकी छु,’ उनले भनिन्, ‘हामीलाई राम्रो काम गर्ने नेता चाहिएको छ । उम्मेदवारबारे सामाजिक सञ्जालबाट सूचना लिइरहेको छु । उम्मेदवार छनोटका विषयमा परिवारको पनि आफ्नो धारणा छ । म आफ्नो विवेक प्रयोग गर्छु ।’ अबको नेतृत्वले प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ ।
कृपा र विपिकाजस्तै बिहीबार पहिलो पटक मतदान गर्न लागेका युवा उत्साही देखिन्छन् । जेन–जी विद्रोहबाट तत्कालीन सरकार र प्रतिनिधिसभा विघटन भएपछिको चुनाव भएका कारण पनि उनीहरू मताधिकार प्रयोगका लागि अधैर्य देखिन्छन् । निर्वाचन आयोगका अनुसार यस चुनावमा ९ लाख १५ हजार जना नयाँ मतदाता छन् ।
धरानमा आर्किटेक्चर इन्जिनियरिङमा स्नातक अध्ययनरत २१ वर्षीया आयुष्मा ढकाल मतदानका लागि नेपालगन्ज पुगिसकेकी छन् । उनी बाँके–१ की मतदाता हुन् । देश र सरकार बन्ने प्रक्रियामा आफ्नो पनि सहभागिता हुने भएकाले मतदानका लागि उत्साही रहेको उनले सुनाइन् । ‘जनताको कुरा बुझ्ने, सबैको सबै कुरा सुन्ने र सम्बोधन गर्ने इमानदार उम्मेदवार छनोट गर्ने हो,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल हेरेर होइन, आफ्नो विवेक प्रयोग गरेर निर्णय लिन सक्नुपर्छ ।’
आयुष्माका अनुसार नेताहरूले पूर्वाधारमा मात्र लगानी र प्राथमिकता दिइरहेका छन् तर जनताका आवश्यकता शिक्षा, स्वास्थ्य प्राथमिकतामा परेको छैन । त्यसका लागि अब युवाले नेतृत्वलाई झकझकाउनुपर्ने उनको भनाइ छ । ‘अहिले युवा पुस्ताले पनि राजनीति बुझिरहेका छन्, त्यसकारण उनीहरूले राजनीति सुधार्न सक्दछन्,’ उनले भनिन् ।
इन्दवी बराल पनि पहिलो पटक मतदान गर्ने जेन–जी हुन् । २० वर्षीया उनी काठमाडौं–४ मा मतदान गर्दै छिन् । सफ्टवारिका कलेजमा स्नातकमा ‘कम्प्युटर साइन्स र एआई’ अध्ययन गरिरहेकी उनी पनि प्रविधिलाई युवासँग जोड्ने नेता खोजिरहेकी छन् । ‘अबको नेतृत्वले युवालक्षित योजना बनाउनुपर्छ,’ उनी भन्छिन्, ‘रोजगारीका क्षेत्रहरू खोज्नु अहिलेको पहिलो आवश्यकता हो ।’
चितवन–३ मा २० वर्षीय प्रवेश ढुंगानाले पहिलो पटक मतदान गर्दै छन् । विगतमा चुनावमा उनी रमिता हेर्न आमाबुबासँग मतदानस्थल पुग्ने गरेका थिए । ‘अरूले भोट हालेको देख्दा मलाई पनि मन लाग्थ्यो,’ उनले भने, ‘यसपालि आफैं भोट हाल्न पाउने भएपछि एकदमै उत्साही छु ।’ उम्मेदवारको विगतको पृष्ठभूमि र योजनालाई हेरेर मत हाल्ने पनि उनले सुनाए । उनी नेताले कृषिसम्बन्धी एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।
