अर्यालले निर्वाचनको मतदान पश्चात मतगणनाको कार्यमा समेत सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा सम्बन्धित सरोकारवालाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा अर्यालले सबैलाई धन्यवाद दिएका हुन् ।
गृहमन्त्री अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन र प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषा बमोजिम 'एक थोपा पनि रगत नबगी' निर्वाचन गर्ने कार्य सम्पन्न भएको बताएका छन् ।
लोकतान्त्रिक प्रकृयाको महत्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन मार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै गृहमन्त्री अर्यालले यस निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् ।
मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्नुहुने सबैप्रति आभार प्रकट गरेका छन् ।
अर्यालले निर्वाचनको मतदान पश्चात मतगणनाको कार्यमा समेत सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।
गृहमन्त्री अर्यालले निर्वाचन लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताहरूले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको भन्दै मतदानमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सबैमा उच्च सम्मान रहेको बताएका छन् ।
