नेताहरू जसले आफैंलाई मतदान गर्न पाउने छैनन्

केपी शर्मा ओली, पुष्पकमल दाहाल, गगनकुमार थापा, रवि लामिछाने, बालेन्द्र शाह, स्वर्णिम वाग्ले, रवीन्द्र मिश्र आफैंलाई मतदान गर्नबाट वञ्चित हुने।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसिभा सदस्य निर्वाचनमा केही प्रमुख नेताहरू आफैंलाई मतदान गर्नबाट वञ्चित हुने भएका छन् । स्थायी बसोबास भएको क्षेत्रको मतदाता सूचीमा नाम भएको तर उम्मेदवारी भने अर्को क्षेत्रमा दिएकाले उनीहरूले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् । 

प्रतिनिधिसभा निर्वाचनमा मुलुकको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । सोही सुविधा उपभोग गर्दै नेताहरू आफ्नो मतदाता नामावली नभएका क्षेत्रबाट समेत उम्मेदवार बनेका हुन् । आफूलाई मतदान गर्न नपाउने नेताहरूले सम्बन्धित क्षेत्रबाट पार्टीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई मतदान गर्नेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार छन् । उनको मतदाता नामावली भने सूर्यविनायक नगरपालिका बालकोटमा छ । भक्तपुर–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले मतदान गर्दै आएका छन् । यसपटक पनि उनले भक्तपुर–२ का आफ्ना उम्मेदवारलाई र समानुपातिकमा पार्टीलाई मतदान गर्नेछन् । ०७९ को निर्वाचनमा उनी झापा–५ बाट निर्वाचित भएका थिए । भक्तपुरमा मतदान गरेपछि ओली झापा जाने कार्यक्रम छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पनि आफूलाई मत दिन पाउने छैनन् । उनी रुकुम पूर्वबाट उम्मेदवार छन् भने उनको मतदाता नामावली भने चितवनमा छ । दाहालले चितवन–३ को भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । चितवन–३ मा उनले नेकपाका उम्मेदवारलाई मतदान गरी त्यही दिन रुकुम पूर्व जाने कार्यक्रम छ । दाहालको सचिवालयका अनुसार चितवनमा मतदान गरेलगत्तै उनी रुकुम पूर्व जाने तयारी छ । दाहाल ०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए ।

त्यस्तै सर्लाही–४ बाट उम्मेदवारी दिएका कांग्रेस सभापति गगनकुमार थापाले पनि आफैंलाई मतदान गर्ने छैनन् । उनले काठमाडौं–४ मा पर्ने मैतीदेवीस्थित मन्दिर छेउमा रहेको केन्द्रमा मतदान गर्नेछन् । उनी पनि काठमाडौंमा मतदान गरी आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने कार्यक्रम छ । गत आमनिर्वाचनमा उनी काठमाडौं–४ बाट उम्मेदवार भई विजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा मतदान गर्दै आएका छन् । जबकि उनी चितवन–२ का उम्मेदवार हुन् । यसपटक पनि उनले महाँकालचौर केन्द्रबाट मतदान गर्ने भएकाले आफूलाई मतदान गर्न पाउने छैनन् । गत निर्वाचनमा पनि उनी चितवन–२ बाट निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पनि आफूलाई मत दिन पाउने छैनन् । शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् । नामावली काठमाडौंमै भएकाले उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यसपछि उनी उम्मेदवार भएको जिल्ला झापा जाने कार्यक्रम छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेल तनहुँ–२ ढोरफेदीका मतदाता हुन् । तर उनी काठमाडौं–५ बाट उम्मेदवार भएका छन् । उनले पनि आफूलाई मत हाल्न पाउने छैनन् । पौडेल ०७९ को निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित भएका थिए ।

सर्लाही–३ बाट उम्मेदवारी दिएका नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । किनकि श्रेष्ठ गोरखा सिरानचोक गाउँपालिका जौबारीका मतदाता हुन् । 

रास्वपा वरिष्ठ नेता स्वर्णिम वाग्ले तनहुँ–१ का उम्मेदवार छन् । काठमाडौंको मतदाता भएकाले उनले पनि आफूलाई मत दिन पाउने छैनन् । उनले टोखास्थित चण्डेश्वर माध्यमिक विद्यालयमा मतदान गर्दै आएका छन् । प्र्रतिनिधिसभाको उपनिर्वाचनमा उनी तनहुँ–१ बाटै निर्वाचित भएका थिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं–१ मा उम्मेदवार दिएका छन् । जबकि उनी ललितपुर–१८, भैंसेपाटीका मतदाता हुन् । जसले गर्दा मिश्र पनि आफूलाई मत दिनबाट वञ्चित हुनेछन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ का उम्मेदवार हुन् । तर, उनी मोरङको विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसका मतदाता हुन् । मतदाता सूचीमा आफ्नो नाम नभएको क्षेत्रका उम्मेदवार भएकाले उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।

कान्तिपुर

Link copied successfully