उम्मेदवारले यसअघि सामाजिक सञ्जालमा सेयर गरेका सबै सामग्रीहरू हटाउनुपर्छ, नत्र कारबाही हुन्छ : भण्डारी

आयोगले मौन अवधि सुरु भइसकेपछि यस्ता सामग्री यथावत् राखे आचारसंहिता उल्लंघन ठहर भई कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको हो।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Candidates must remove all content previously shared on social media, otherwise action will be taken: Bhandari

काठमाडौं — निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जालमा राखिएका प्रचार सामग्री हटाउन उम्मेदवार र राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

आयोगले मौन अवधि सुरु भइसकेपछि यस्ता सामग्री यथावत् राखे आचारसंहिता उल्लंघन ठहर भई कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको हो।

कार्यवाहक प्रमुखका रूपमा आयोगको नेतृत्व गरिरहेका रामप्रसाद भण्डारीले कान्तिपुरसँगकाे अन्तर्वार्तामा सोमबार राति १२ बजेसम्म प्रचारप्रसार गर्नु उम्मेदवारहरूको अधिकार रहेको स्पष्ट पारे। ‘सोमबार राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउने उम्मेदवारहरूको अधिकार नै थियो। त्यसपछि भने मौन अवधि सुरु भएको छ, आयोगले आचारसंहिता लागू गरेको छ,’ उनले भने।

सामाजिक सञ्जालमा मौन अवधिअघि पोस्ट गरिएका सामग्री अझै देखिइरहेको विषयमा उनले ती सामग्री पनि हटाउनुपर्ने बताए। ‘हामीले हिजो नै भनिसकेका छौं, उम्मेदवार र दलहरूले यसअघि सामाजिक सञ्जालमा सेयर गरेका सबै सामग्रीहरू हटाउनुपर्छ, नत्र त्यो पनि आचारसंहिता उल्लंघन ठहर हुन्छ,’ भण्डारीले भने, ‘यदि उहाँहरूले भोलि (बुधबार) सम्म हटाउनुभएन भने कारबाहीको दायरामा ल्याउँछौं।’

कारबाहीको प्रक्रियाबारे स्पष्ट पार्दै उनले मौन अवधिमा यस्ता सामग्री राखिरहे उल्लंघन मानिने बताए। ‘मौन अवधि सुरु हुनुअघि नै प्रकाशन र प्रसारण गरिएका सामग्रीहरू अब राख्नु हुँदैन। हटाइदिनुस् भनेर आग्रह गरेका छौं। त्यसलाई यथावत् छोड्नुभयो भने मौन अवधिको आचारसंहिता उल्लंघन गरेको ठहरिन्छ,’ उनले भने।

उम्मेदवारहरूलाई सचेत गराउँदै उनले थपे, ‘यदि कारबाहीको विषय बन्यो भने उम्मेदवारलाई पक्कै पनि राम्रो हुँदैन। उम्मेदवार भएर आफ्नो क्षेत्र र मतदान केन्द्रहरूमा जाने कि निर्वाचन आयोगमा स्पष्टीकरण दिन आउने भन्ने अवस्था आउँछ।’

आयोगले अनुगमन संयन्त्रसमेत सक्रिय बनाएको जनाएको छ। भण्डारीका अनुसार आयोगमा साइबर अनुगमन टोली र ‘ज्वाइन्ट अप्रेसन टोली’ क्रियाशील छन्। ‘सामाजिक सञ्जालहरूसँग पनि हामीले सहकार्य गरेका छौं। हामीले तत्कालै यस्ता सामग्रीहरू अनुगमन गर्ने अनि हटाउनेसम्मको काम भइरहेको छ,’ उनले भने।

कान्तिपुर

Link copied successfully