२१ हजार हतियारको लाइसेन्स, चुनावमा ६ हजार मात्रै फिर्ता

लाइसेन्स लिइएका हतियार बुझाउने संख्या कम भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागबाट पनि निर्वाचनमा त्यस्ता हतियार दुरुपयोग हुन सक्ने जोखिम औंल्याउादै विशेष संयन्त्र परिचालन

फाल्गुन १९, २०८२

मातृका दाहाल

Of 21,000 weapons licenses, only 6,000 were returned in the election

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गरेर सरकारले लाइसेन्स प्राप्त हतियार मतदान सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनमा बुझाउन निर्देशन दिए पनि थोरैले मात्र हतियार बुझाएका छन् । देशभरका जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सर्वसाधारणले राखेका लाइसेन्स प्राप्त हतियार संख्या करिब २१ हजार रहेको छ । 

लाइसेन्स प्राप्त त्यस्ता हतियार मौन अवधि सुरु हुनु अगावै सरकारलाई बुझाइसक्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत हतियार राख्ने पक्षलाई आग्रह गरेको थियो । गृहको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूले माघ पहिलो साता सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र हतियार बुझाउन निर्देशन दिएका थिए । तर, आइतबारसम्म करिब ६ हजार हतियार मात्रै प्रशासनमा बुझाइएको छ । बाँकी हतियार कहाँ छन् भन्नेमा सरकारसँगै यकिन तथ्यांक छैन । 

कोशी प्रदेशका जिल्ला प्रशासनमार्फत करिब २१ सय, मधेशमा करिब २५ सय, बागमतीका जिल्ला प्रशासनमा करिब ४ सय, गण्डकीमा करिब २२ सय, लुम्बिनीमा करिब ६ हजार १ सय, कर्णालीमा करिब २ हजार १ सय, सुदूरपश्चिमका जिल्लामा करिब ३ हजार ८ सय र उपत्यकाका तीन जिल्ला प्रशासनमा करिब १४ सय हतियारको लाइसेन्स दिइएको छ । तर, लाइसेन्स प्राप्त हतियारमध्ये करिब १५ हजार हतियार प्रशासनलाई बुझाइएको छैन । 

गृह प्रशासन स्रोतका अनुसार विसं २००७ देखि नै सर्वसाधारणले लाइसेन्स लिएर हतियार राखेको अभिलेख भए पनि त्यस्ता हतियार नष्ट भएका, काम नलाग्ने अवस्थाका, विगतमा प्रशासनलाई फिर्ता गरिसकिएका र सशस्त्र द्वन्द्वकालमा लुटिएका भए पनि अभिलेखबाट लगत कट्टा नहुँदा लाइसेन्स संख्याको तुलनामा बुझाउने कम भएको बताएका छन् । नबुझाइएका लाइसेन्स प्राप्त हतियार कहाँ छन् भन्ने सूक्ष्म अध्ययन र चुस्त अभिलेख प्रणाली नहुँदा शान्तिसुरक्षामा चुनौती थपिन सक्ने सुरक्षा मामिलाका जानकारहरू बताउँछन् । 

पछिल्लो समय २४ भदौको विध्वंसमा प्रहरीबाट लुटिएका हतियार र भागेका कैदीबन्दीका अलावा दर्ता हतियार प्रशासनको नियमन/नियन्त्रणबाहिर हुनुलाई चुनावी सुरक्षा चुनौतीका रूपमा राखिएको छ । लाइसेन्स लिइएका हतियार बुझाउने संख्या कम भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागबाट पनि निर्वाचनमा त्यस्ता हतियार दुरुपयोग हुन सक्ने जोखिम औंल्याउँदै विशेष संयन्त्र परिचालन गरिएको चार वटै सुरक्षा निकायका अधिकारी बताउँछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हालसम्म ६७ थान मात्रै हतियार बुझाइएको छ । कास्कीबाट सट गन, बारबोर, एकनाले, दुईनालेलगायत गरी १ हजार २ सय ३१ थान हतियार राख्न लाइसेन्स दिइएकामा निर्वाचनलाई लक्षित गरी १ सय १२ नाल मात्रै बुझाइएको छ ।

झापा प्रशासनबाट विभिन्न व्यक्तिले १ हजार २ सय ६७ नाल हतियारको लाइसेन्स लिएकामा ४० नाल मात्रै प्रशासनमा बुझाइएको छ । मोरङमा ९ सय ४४ नाल हतियारको लाइसेन्स जारी भएकामा १ सय २५ नाल मात्रै फिर्ता भएका छन् । सर्लाहीमा ३ सय नाल हतियारको लाइसेन्स जारी भएकामा ६८ नाल मात्रै प्रशासनमा बुझाइएको छ । रूपन्देहीमा १ हजार ३ सय ६३ नाल हतियारको लाइसेन्स जारी भएकामा ६६ नाल मात्रै बुझाइएको छ । बाँके प्रशासनमा ५ सय २० नाल हतियारको लाइसेन्स जारी भएको अभिलेख रहे पनि २ सय ३५ नाल मात्रै पछिल्लो पटक बुझाइएको छ । 

गृह मन्त्रालयको शान्तिसुरक्षा शाखामा काम गरिसकेका बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ कतिपय नष्ट भइसकेका र विगतमा प्रशासनलाई बुझाइसकेका हतियारको अभिलेख फर्स्योट नहुँदा पनि बाहिर रहेका लाइसेन्स प्राप्त संख्या बढी देखिएको तर वास्तविक संख्या अद्यावधिक हुन नपाएको बताउँछन् । यद्यपि चुनावी सुरक्षा वा अन्य बेला शान्तिसुरक्षा तथा अपराध रोकथाम तथा नियन्त्रणमा यस्ता हतियार जोखिमका रूपमा रहने हुँदा सुरक्षा निकायमार्फत निगरानी भने भइरहने उनको भनाइ छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया पनि प्रशासनको अभिलेखमा देखिएभन्दा कम संख्यामा हतियार बुझाइनुमा कतै विवरण अद्यावधिक नहुनु, एउटा प्रशासनबाट इजाजत लिने र अर्कै जिल्ला प्रशासनबाट नवीकरण हुँदा संख्यामा पनि दोहोरोपन देखिएको बताउँछन् । तर पनि यस्ता हतियार चुनावमा दुरुपयोग हुन सक्ने जोखिमलाई आकलन गरेर आवश्यक निगरानी बढाइएको उनको भनाइ छ । गृह मन्त्रालयले पनि दर्ता भएका र आपराधिक व्यक्ति तथा समूहले भित्र्याएका अवैध हतियारबाट सिर्जित जोखिमलाई मध्यनजर गरेर निगरानी बढाउन पनि निर्देशन दिएको छ । चुनावलाई असर पुग्ने गरी निर्वाचनको विपक्षमा रहेका, निर्वाचनलाई असफल पार्न सक्रिय दल तथा समूह, अन्य आपराधिक व्यक्ति तथा समूहलगायतबाट पनि हतियार दुरुपयोग हुने जोखिमप्रति सजक रहने गृहले सुरक्षा निकाय र जिल्ला प्रशासनहरूलाई निर्देशन दिएको छ । चुनावी सुरक्षा योजनाअन्तर्गत भागेका कैदीबन्दी, लुटिएका हतियार, अवैध हतियार र दर्ता हतियार दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गरेर चारवटै सुरक्षा निकायबाट सादा पोसाकका छुट्टै संयन्त्र देशभर तैनाथ गराइएको छ । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully