पोखराको साझा मुद्दा: फोहोर व्यवस्थापन, विमानस्थल सञ्चालन

कास्कीका ३ निर्वाचन क्षेत्रमा शुद्ध खानेपानी, रोजगारी र पक्की सडकको समस्या छ । पूर्वाधार, कृषि, पर्यटन, सुशासनको मुद्दा लिएर उम्मेदवारहरु मत मागिरहेका छन् ।

फाल्गुन १८, २०८२

दीपक परियार

Pokhara's common issues: waste management, airport operation

पोखरा — बिरामी कुर्न अस्पताल आएकी पोखरा–२२ पुम्दीभुम्दीकी सीता बराल सिर्जनाचोकको थुप्रिएको फोहोर अघि नाक थुनेर हिँडिन् । सिर्जनाचोकमा रहेको मेट्रो सिटी अस्पताल अगाडि नै थुप्रिएको फोहोर देखेपछि उनले भनिन्, ‘बिरामी कुर्न आएको, यो फोहोरले आफै बिरामी भइने हो कि भन्ने डर छ ।’

पोखरा महानगरको मध्य सहरबाट नियमित फोहोर नउठेको २ महिना पुग्न लाग्यो । जनवरी १, २०२२ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा–१४ बाच्छेबुडुवाको स्थायी ल्यान्डफिल साइट सानुपर्ने भयो । विमानस्थल नजिकै रहेकोले फोहोरमा चराको गतिविधि बढ्ने डरले ल्यान्डफिल साइट सानुपर्ने थियो ।

तत्कालीन एकीकृत समाजवादीबाट धनराज आचार्य कांग्रेस र माओवादीको समर्थनमा महानगर प्रमुख चुनिएर आएपछि अस्थायी रुपमा पोखरा–३२ लामेआहालमा डम्पिङ साइट बनाए । भंगालो पुर्न स्थानीयले स्विकृति दिएपछि बनाइएको उक्त डम्पिङ साइट भरियो । महानगरले पोखरा–३३ मा फोहोर प्रशोधन केन्द्र बनाएर बिजुली वा ग्यास निकाल्ने परियोजनो प्रक्रिया अगाडि बढाएको थियो । तर ३ वर्ष पुग्नै लाग्दा समेत प्रशोधन केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध भएन । पोखरा–३३ पुँडीटारका स्थानीयले जग्गा दिन मानेनन् । प्रशोधन केन्द्र निर्माणको लागि कम्पनी छनोट भएर बसे पनि जग्गा उपलब्ध नहुँदा  निर्माण कार्य सुरु गर्न पाएको छैन ।

प्रशोधन केन्द्र नबन्दासम्म महानगरले अस्थायी रुपमा व्यवस्थापन गर्ने स्थान खोजेको थियो । तर ती स्थानमा राजनीतिक दलका स्थानीय नेताकै अगुवाइमा विरोध प्रदर्शन भयो । महानगरले डाकेको बैठकमा राजनीतिक दलका जिल्ला स्तरका नेताले फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे पनि स्थानीयस्तरमा समन्वय गरिदिएका छैनन् । जसका कारण पर्यटकीय राजधानी घोषणा भएको पोखराको फोहोर सडकमै थुप्रिरहेको छ । 

उता भ्रष्टाचार र भू–राजनीतिको चपेटामा परेको पोखरा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखराको भाग्य र भविष्यसँग जोडिएको भनिएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि ठोस पहल हुन सकेको छैन । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा यही फोहोर व्यवस्थापन र विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको साझा मुद्दा लिएर विभिन्न पार्टीका उम्मेदवार चुनावी मैदानमा छन्। 

फेवातालको पानी बिहानको घाम लागेपछि सुनौलो देखिन्छ । पर्यटकीय पोस्टकार्डमा पोखरा सधैं सुन्दर देखिन्छ, माछापुच्छ्रेको छायाँ, लेकसाइडको कफी, सराङकोटको सूर्योदय । तर चुनावी मौसममा यही सहरको अर्को अनुहार खुल्छ, रित्तो जार बोकेर मूलतिर हिँड्ने मानिस, बाली पाक्न नपाउँदै बाँदरले सखाप पारेको खेत, र धुलाम्मे सडकमा उभिएका बृद्धको धैर्य । २१ फागुनको प्रतिनिधिसभा निर्वाचन कास्कीका लागि केवल शक्ति परीक्षण होइन, यो अपेक्षा र परिणामबीचको दूरी नाप्ने दिन हो ।

तीन वटा निर्वाचन क्षेत्र, तीन वटा बेग्लाबेग्लै भूगोल र तीन वटा फरकफरक मन । हिमालको काखदेखि फेवाको किनारसम्म, मादीको जंगलदेखि माछापुच्छ्रेको फेदसम्म । कास्कीका मतदाताले यसपल्ट उम्मेदवारको अनुहार होइन, उनीहरूको एजेन्डा जाँच्ने छन् ।

कास्की १ः शुद्ध खानेपानी र बाँदरको चिन्ता 
पोखरा महानगरपालिका वडा नम्बर १३ का ५७ वर्षीय भक्तबहादुर गुरुङको दैनिकी एउटा रित्तो जार बोकेर सुरु हुन्छ । बिहान उठ्नेबित्तिकै उनी जार बोकेर हिँड्छन् । घरको धारामा आउने पानी पिउन योग्य नभएपछि झोलुंगे पुल तरेर पोखरा महानगरपालिका वडा २६ को सिलिंगे खोँच पुग्छन्, मूलको पानी थाप्न । ‘घरमा आउने पानी नखाएको धेरै भयो । यहाँ मूलको पानी पाइन्छ,’ उनले भने  भने ।

उनको पछाडि पानी भर्न लाइन लागेका छिमेकीहरूको लर्को छ । पर्यटकीय सहर पोखराको तिर्खा अझै मेटिन सकेको छैन । मर्दी खानेपानी आयोजनामार्फत् घरका धारा पुगे तर ती धाराबाट आउने पानी पिउन योग्य नभएको उपभोक्ताको गुनासो छ । अधिकांश वडामा बोरिङको पानी वितरण भइरहेको छ । दैनिक गर्जो टर्छ तर पिउने पानीको चिन्ता हटेको छैन ।

खानेपानी मात्र होइन, कास्की क्षेत्र नम्बर १ मा अर्को एउटा समस्या पनि जारी छ, मानव–बाँदर द्वन्द्व । ‘खेती लगाउँछौं तर भित्र्याउन पाइँदैन । बाली पाक्न नपाउँदै बाँदरले सखाप पारिदिन्छ । घरभित्रै पसेर अन्न खाइदिने र मान्छेलाई नै झम्टिन पनि आउँछन्,’ पोखरा–२८ सुन्दरीडाँडाकी प्रभा पौडेलको मनमा आवेग र बेचैनी दुवै छन् ।

रुपा गाउँपालिकाले यस वर्ष बाँदर नियन्त्रणका लागि ८५ लाख रुपैयाँ विनियोजन गरेर अदुवा, लसुन र बेसारजस्ता बाँदरले नखाने बाली प्रवर्द्धन गर्ने अभियान थालेको छ । तर उपाय खोजिँदैछ, समस्या सकिएको छैन । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँदर रोक्ने यन्त्र बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गरेका थिए । तर अहिलेसम्म ठोस प्रभाव देखिएको छैन ।

लमजुङ र तनहुँसँग सीमा जोडिएको कास्की निर्वाचन क्षेत्र नम्बर १ पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडासहित रुपा र मादी गाउँपालिका समेटिएको उत्तरपूर्वी क्षेत्र हो । यहाँ गुरुङ, मगर, ब्राह्मण–क्षेत्री, दलितको मिश्रित बसोबास छ । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलो लेखनाथ यसै क्षेत्रमा पर्छ । यहाँका १ लाख १६ हजार ८ सय ७८ मतदाता नै चुनावको अन्तिम निर्णायक हुन् ।

सांस्कृतिक र साहित्यिक धरोहर बोकेको यो क्षेत्रले पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री खगराज अधिकारी, यज्ञबहादुर थापालगायत नेता जन्मायो । तर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने ठूला नेता जन्माउन भने खासै सकेको छैन । पटकपटक मत बदलेर यहाँका मतदाताले आफूलाई स्वतन्त्र मतदाताका रूपमा प्रस्तुत गरेका छन् ।

०३७ सालको जनमतसंग्रहमा कास्की गण्डकीका ६ जिल्लामध्ये एक्लै बहुदलको पक्षमा उभिएको थियो । ७५ हजार ३ सय ६० मतदाताले मतदान गर्दा ३९ हजार ७ सय ६९ मत बहुदलको पक्षमा खसेका थिए । २०४८ को पहिलो आम निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाट विजयी भए । त्यसपछि २०५१ मा एमाले, २०५६ मा कांग्रेस, २०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका देव गुरुङ, उपनिर्वाचनमा माओवादीकै कृष्णबहादुर गुरुङ, २०७० मा कांग्रेसका यज्ञबहादुर थापा, २०७४ मा एमालेका खगराज अधिकारी र २०७९ मा एमालेकै मनबहादुर गुरुङले जित हासिल गरे । यो क्षेत्रको विशेषता के हो भने यहाँ कुनै एक दल स्थायी रूपमा हाबी हुन सकेको छैन ।

यसपल्ट कास्की १ मा १७ जना चुनावी मैदानमा छन् । एमालेका बैनबहादुर अधिकारी क्षेत्री कास्की जिल्ला अध्यक्ष र जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन् । उनी पहिलोपल्ट संसदीय चुनावमा उम्मेदवार बनेका हुन्। कांग्रेसका तिलकबहादुर रानाभाट काठमाडौंमा व्यवसाय गर्ने कांग्रेस महासमिति सदस्य हुन् ।

विशेष महाधिवेशनको पक्षमा उभिँदै गगन थापाको नेतृत्वलाई साथ दिएका उनले अन्य चर्चाका नेतालाई पछि सारेर टिकट पाए । पार्टी सभापति थापाको सचिवालय रहेको घरका धनी एवं म्यानपावर व्यवसायी तिलकलाई यतिबेला पार्टीभित्रका सबैले साथ दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल ‘गनेस’ लेखक तथा विश्लेषक, ‘अटेरी अभियान’ का अगुवा, रास्वपाका केन्द्रीय सदस्य हुन् । गएको स्थानीय तह निर्वाचनमा लौरो चिह्न लिएर पोखरा महानगरका मेयरमा उठेका गनेस अब बालेन्द्र शाहको टिमबाट रास्वपाको टिकट लिएर प्रतिनिधिसभा प्रवेश गर्न खोजिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङ ‘करण’ माओवादी जनयुद्धकालीन नेता हुन् । २०६४ मा कास्की ३ बाट विजयी भएका उनी यसपल्ट कास्की १ बाट उम्मेदवार बनेका छन् । वर्गसंघर्षको मुद्दा बोकेर आएका उनी आदिवासी जनजाति र सीमान्तकृत वर्गको भरोसा पाउने रणनीतिमा छन् ।

उज्यालो नेपाल पार्टीकी मनीषा द्वा नेपालकी महिला एस्ट्रोफोटोग्राफर, खगोलशास्त्री, नेपाल एस्ट्रोनोमिकल सोसाइटी र इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनमा आबद्ध छिन् । राजनीतिभन्दा बिल्कुल फरक क्षेत्रबाट आएकी उनले यतिबेला जनसेवाको सपनासहित चुनावी मैदानमा पाइला टेकेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम रानाभाट, जनता समाजवादी पार्टी नेपालका रामकाजी चर्मकार, राष्ट्रिय जनमोर्चाका रविमोहन ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका श्रीमान् थापा । नेकपा माओवादीका कुमार परियार, आम जनता पार्टीका हर्कबहादुर थापा र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर राउत चुनावी मैदानमा छन् ।

मतदाताको मनमा यतिबेला अपेक्षा र आक्रोश दुवै छ । पोखरा वडा २६ का तिलक अधिकारीले भने, ‘बहुदल आएपछि सबैलाई भोट दियौं तर रोजगारी खोइ ? अब स्थानीय उत्पादन बढाउने र युवालाई विदेसिनबाट रोक्ने देश बनाउनेलाई मात्र मेरो घरको मत जान्छ ।’ मादी गाउँपालिका भाचोकका ७५ वर्षीय समन्तराज सुवेदी सडकको दुरावस्थाले आजित छन् । भन्छन्, ‘हिउँदमा धुलो, बर्खामा हिलो । सडक नबनाउनेलाई यसपाली भोट दिन्न ।’

कास्की १ का मतदाता यसपल्ट तीन खेमामा विभाजित देखिन्छन् । पुराना दल (कांग्रेस–एमाले) मा आस्था राख्नेहरू, रास्वपाको लहरमा बगेकाहरू र नेकपाको वर्गीय एजेन्डामा विश्वास गर्नेहरू । ०७९ को निर्वाचनमा एमालेका मनबहादुर गुरुङ २५ हजार ७ सय ८ मतसहित विजयी भएका थिए । कांग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९, राप्रपाका सूर्यबहादुर गुरुङले ३ हजार ८ र रास्वपाका राजु राईले १० हजार ९ सय ४१ मत पाएका थिए । कांग्रेसलाई तत्कालीन माओवादीले सघाएको थियो । 

समानुपातिकतर्फ रास्वपाले १५ हजार ८ सय ६४ मत बटुल्यो । एमालेले २१ हजार ४ सय २३ र कांग्रेसले १६ हजार र माओवादीले ५ हजार १ सय ८ मत प्राप्त गरेका थिए । यसल्ट रास्वपाका गनेस पहिलो पटकको मत र देशव्यापी लहर दुवैको बलमा उत्साहित छन् । एमालेको विरासत, कांग्रेसको संगठन र रास्वपाको ताजा लहरले यसपल्ट कास्की १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ ।

कास्की २ः समस्या फरक, असन्तोष उस्तै
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ तर पूर्ण सञ्चालन नहुँदा पर्यटन व्यवसायी निराश छन् । विमानस्थल रहेको वडा १४ क्षेत्र नम्बर १ मा पर्छ, पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्र नम्बर ३ मा । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी भन्छन्, ‘पूर्वाधार बन्यो तर उडान छैन भने हामीलाई के फाइदा ?’ फोहोर व्यवस्थापन, पार्किङ अभाव, अव्यवस्थित सहरी विस्तार, यी सहरी पीडाहरू हुन् । कास्की–२ मा समस्या फरक छन् तर असन्तोष उस्तै ।

यो क्षेत्रबाट एमालेका रवीन्द्र अधिकारीले लगातार तीनपल्ट निर्वाचन जिते । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा उनको निधनपछि पत्नी विद्या भट्टराईले उपनिर्वाचन (२०७६) र नियमित निर्वाचन (२०७९) दुवैमा विरासत जोगाइन् । विद्याले यसपल्ट चुनावी दौडबाट बाहिरिने निर्णय गरेपछि एमालेले रश्मी आचार्यलाई मैदानमा उतारेको छ । कानुन र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी स्कलर रश्मी अब्बल उम्मेदवार हुन् । तर पार्टीको केन्द्रीय नेतृत्वप्रतिको जनआक्रोश उनको चुनौती बनेर खडा भएको छ ।

रवीन्द्रको पालामा विकास भएकोले विद्यालाई पनि जिताएर पठाएको पोखरा–३३ बागमाराका राजेन्द्र पौडेलले स्मरण गरे । विद्याले काम गर्न खोजे पनि नेतृत्वले नदिएपछि शिक्षा मन्त्रीबाट राजीनामा दिएको उनको बुझाइ छ । उनले भने, ‘अब केपी ओली हुँदासम्म एमालेलाई मत दिन मन छैन ।’

पोखरा महानगरपालिकाका ११ वटा वडा (४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३) समेटिएको कास्की क्षेत्र नम्बर २ पोखराको बजार केन्द्र र उपनगरीय क्षेत्र हो । यहाँ ब्राह्मण–क्षेत्री बाहुल्य छ, साथमा गुरुङ, मगर, नेवार, दलित लगायत अन्य जातजाति छन् । ०६४ मा माओवादीको दबदबा हुँदासमेत यहाँबाट एमालेका रवीन्द्र अधिकारीले जित हासिल गरेका थिए । यो क्षेत्र उनकै नामसँग जोडिएको छ । पोखरा वडा ३३ बरेलीचोककी सरिता महतका दुई छोरा क्याम्पस पढ्छन् । उमेर १९ र २२ वर्ष । उनीहरूले आमालाई भनेका छन्, ‘हामीले भनेको चिह्नमा भोट नदिए तपाईंले पकाएको भात पनि खाँदैनौं ।’

भरतपोखरीका ध्रुवराज अधिकारीको कथा अझ नाटकीय छ । बहुदलदेखि कम्युनिस्टबाहेक अन्तकतै भोट नहालेका उनका छोराले फोन गरेर ‘यसपाली अर्कै चिह्नमा भोट हाल्नु’ भनेका थिए । अस्वीकार गरेपछि छोराले फोन नै काटे । एक पुस्ताको पार्टी आस्था र अर्को पुस्ताको परिवर्तनको चाहनाको द्वन्द्व कास्की २ का धेरैजसो घरमा देख्न सकिन्छ ।

कास्की क्षेत्र नम्बर २ मा १२ दल र ५ स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दिएका छन् । एमालेका रश्मी आचार्य पीएचडी स्कलर, कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ, युवा, अब्बल उम्मेदवार हुन् । तर पार्टी नेतृत्वको जनआक्रोशको भारी उठाउने चुनौती उनीसामु उभिएको छ । कांग्रेसका माधवप्रसाद बास्तोला पार्टीभित्र इमान्दार छवि बनाएका नेता हुन् । उनले पनि संसदीय चुनावमा पहिलोपल्ट अवसर पाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल पार्टी सभापति रवि लामिछानेका न्युज २४ कालिन् सहकर्मी हुन् । नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर पराजुली र एमालेका रश्मीको वडा एकै हो । पराजुली पूर्व जनमुक्ति सेना एवं विद्यार्थी नेता हुन् । विगतमा लमजुङबाट चुनाव लड्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजङ गुरुङ यसै क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन् । उज्यालो नेपाल पार्टीका कुशल गुरुङ उर्जा विज्ञ हुन् ।प्रलोपाबाट दीपक भण्डारी चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारी दिएका निर्दोषविक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई सघाएका छन् ।   

०७९ मा विद्या भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी भएकी थिइन् । रास्वपाका उम्मेदवारले अप्रत्यासित रूपमा १२ हजार ४ सय ९५ मत ल्याए । समानुपातिकतर्फ रास्वपाले १४ हजार २ मत ल्याएर पहिलो भएको थियो । जबकी एमालेको १३ हजार ५ सय ४० मत आएको थियो । कांग्रेसले १० हजार ५ सय ५३ र माओवादीले २ हजार ४ सय ४ मत मात्रै पाएका थिए । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा रश्मी (एमाले) र उत्तमप्रसाद (रास्वपा) बीचको हुने देखिए पनि कांग्रेस र नेकपालाई पनि कम आँक्न मिल्दैन ।

कास्की ३ः अपूरो संरचना बन्ने आशा
०७९ असारको बाढीले मर्दी दोभानको पक्की पुलको एकतर्फी भाग बगाएपछि तीन वर्ष बितिसकेछन् । पुल अझै सञ्चालनमा आएको छैन । अहिले दुई पांग्रे सवारी मात्र जोखिमपूर्ण रूपमा गुड्न सक्छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पोखरा वडा २५ र माछापुच्छ्रे गाउँपालिकाका बासिन्दा यस पुलका कारण लामो र घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । माछापुच्छ्रे–४ लाहाचोक भिरकटेराका ५० वर्षीय देव अधिकारीको प्रश्न छ, ‘कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादीलाई मत दिइयो । तर जनताले के पाए?’

माछापुच्छ्रे हिमालको फेदीदेखि फेवाताल किनारसम्म फैलिएको कास्की क्षेत्र नम्बर ३ मा पोखरा महानगरपालिकाका वडा नम्बर १, ३, ५, ६ र पछि गाभिएका १८, १९, २२ र २५, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका सबै वडा पर्छन् ।

यो क्षेत्रमा गुरुङ, मगर, दलित र ब्राह्मण–क्षेत्रीको बाहुल्यता छ । अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मेका नेकपा संयोजक पुष्पकमल दाहालको जन्मथलो पनि यसै क्षेत्रमा पर्छ । कतिपय गाउँमा पुग्न अझै पैदल यात्रा नै गर्नुपर्छ । यहाँ एक लाख सात हजार ५ सय ६० मतदाता छन् ।  

गत १० पुसमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्की ३ क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारमा १६ जनाको नाम सिफारिस गर्दा पार्टी संयोजक दाहाललाई नम्बर एकमा राख्यो । दाहालकी बुहारी सिर्जना त्रिपाठीको नाम पनि सूचीमा थियो । तर उनी रुकुम पूर्व पुगे । गएको चुनावमा कास्की ३ बाट माओवादी केन्द्रका रामजी बराल जीवन कांग्रेसको समर्थनमा उम्मेदवार बने । तर उनी एमालेका दामोदर वैरागीसँग हारे ।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका दामोदर वैरागी पौडेल २२ हजार ९८ सय ८० मतसहित विजयी भए । बरालले १७ हजार ५ सय ३५ मत पाए । रास्वपाका योगराज पौडेल १२ हजार १ सय ८० मतसहित तेस्रो भए । समानुपातिकतर्फ एमालेले १९ हजार ३ सय ४६, कांग्रेसले १५ हजार ८ सय ३१, रास्वपाले १४ हजार १ सय ४३ र माओवादीले ३ हजार ९ सय ६३ मत पाएका थिए ।

एमालेका दामोदर वैरागी पौडेल अघिल्लो कार्यकाल पूरा गर्न नपाएकाले बाँकी काम पूरा गर्ने प्रतिवद्धतासहित दोहोरिएका छन् । कांग्रेसका मनोज गुरुङ युवा नेता, जनताको सुखदुःखको साथी बन्ने एजेन्डासहित चुनावी मैदानमा छन् । दाङसिङको छोरा र घान्द्रुकका भान्जा उनी गुरुङ समुदायको उल्लेख्य मत तान्ने विश्वासमा छन्।

विशेष महाधिवेशनको विपक्षमा उभिए पनि टिकट पाउनेभित्र उनी पर्छन् । रास्वपाकी बिना गुरुङ सामाजिक व्यक्तित्व, जनजाति बाहुल्य क्षेत्रमा महिला उम्मेदवार हुन् । नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरी एमाले पृष्ठभूमिका वाम नेता हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनाल बैदाममा पर्यटन व्यवसायी हुन् । राजा र हिन्दु राज्यको एजेन्डा उनले बोकेका छन् ।

उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङ, नेकपा माओवादीबाट कमल खड्का विश्वकर्मा । नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा । आम जनता पार्टीबाट कुशल थापा क्षेक्री, मंगोल नेसनल अर्गनाइजेसनबाट जीवनबहादुर गुरुङ, संयुत्त नागरिक पार्टीबाट टेकबहादुर सार्की उम्मेदवार छन् ।

माछापुच्छ्रे–३ घाचोकका जितबहादुर विक केही दिनअघि मात्र विदेशबाट फर्किएका हुन् । उनी भन्छन्, ‘दलित बस्तीमा सडक बन्न सकेको छैन । आवश्यकताभन्दा चिनेजानेकाले बजेट लैजान्छन् ।’ माछापुच्छ्रे–४ लाहाचोककी ७७ वर्षीया होमलाल भण्डारी भन्छिन्, ‘यो निर्वाचन बाटो बनाउने मात्र होइन, देशको नीति बनाउने हो । त्यसैले योग्यलाई मत दिन्छौं ।’ घाचोककी रश्मी केसी भन्छिन्, ‘बुबा पुरानै दलमा मत दिनुपर्छ भन्नुहुन्छ । छोरो भने नयाँलाई अवसर दिनुपर्छ भनेको छ ।’ यी तीन वटा निर्वाचन क्षेत्रको साझा एजेन्डा खानेपानी, सडक, रोजगारी, युवाको पलायन, बाँदरको आतंक, फोहोर व्यवस्थापन र भ्रष्टाचार । यी सबै मुद्दाबारे अचेल प्रत्येक घरदैलोमा चर्चा भइरहेको छ । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully