पाल्पा–१ : ३२ वर्षदेखिको एमाले किल्ला भत्किएला ?

२०५१ पछिका सबै निर्वाचनमा पाल्पा क्षेत्र –१ मा नेकपा एमालेले जित्दै आएको छ । क्षेत्र १ मा २०५१ पछि कुनै पार्टीले पनि चुनाव जित्न सकेका छैनन् ।

फाल्गुन १८, २०८२

माधव अर्याल

Palpa-1: Will the UML stronghold of 32 years collapse?

What you should know

पाल्पा — विकासमा पछि परेको पाल्पा क्षेत्र–१ मा हरेक पटकको निर्वाचनमा उम्मेदवारहरूको महात्त्वाकांक्षी योजना हुन्छन् । तर चुनाव जितेर गएपछि क्षेत्र नै नफर्कने, विकासमा ध्यान नदिने कारण यो क्षेत्रका बासिन्दासमेत पछि परेका छन् । मगरबहुल यस क्षेत्रका कतिपय मतदाता अझै पनि राम्रोसँग नेपाली भाषा बोल्न जान्दैनन् । तर यही क्षेत्रमा हरेक पटक उम्मेदवारहरू विकासका ठूला योजनाको सपना बुन्छन् । 

क्षेत्र–१ अन्तर्गत आर्यभन्ज्याङ्ग–जब्गादी–रामपुर सडक मर्मत नभएको १० वर्ष भइसकेको छ । यही सडकअन्तर्गत हुमीन–ताहुँ सडक करिब ५ किलोमिटर कालोपत्र ठेक्का लागेको म्याद गुज्रेको दुई वर्ष पुग्न थालिसक्यो । यस क्षेत्रका बासिन्दा १० वर्षदेखि धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । हुमीन–पूर्वखोला सडक अन्तर्गत १६ किलोमिटर कालोपत्र गर्ने काम म्याद सकिएको दुई वर्ष बित्दासमेत अझै काम पूरा भएको छैन । २०८० कार्तिकसम्म सक्नुपर्ने काम अझै अलपत्र छ । आर्यभन्ज्याङ्ग–जब्गादी–रामपुर सडक अन्तर्गत अत्यधिक जोखिम रहेको सेफदमा ढलानको काम भए पनि अन्यत्र अवस्था विजोग छ । 

रामपुर–मित्याल–अरुणखोला सडक कालीगण्डकी करिडोर सडकबाट मित्याल हुँदै गण्डकी प्रदेशको नवलपुरको अरुणखोला पूर्वपश्चिम महेन्द्र राजमार्ग जोड्छ् । तर ४५ वर्षअघि नै सुरु भएको सडक अहिलेसम्म धुलाम्मे छ । निस्दी गाउँपालिका केन्द्र जोड्नेसडकसमेत यही हो । तर सडकका विभिन्न स्थानमा अहिले पनि सवारी चालक र यात्रुले वर्षा होस् वा हिउँद जहिलेसुकै सास्ती भोग्नु परेको छ । यो सडकको ट्रयाक मित्यालदेखि अरुणखोलासम्म १५ वर्षअघि नै खुलेको हो । 

सडक डिभिजनले ठेक्का लगाउने तर निर्माण व्यवसायीले समयमा काम नगर्दा मित्यालको चिउरीबास र मुढाबासको बीचमा पर्ने गुरुभन्ज्याङ् क्षेत्रमा वर्षायाममात्र होइन हिउँदमा समेत सवारी साधन संचालनम कठिनाई भएको स्थानीय यमबहदाुर सारु मगरले बताए । यहाँ गग्रेटो सडकले सवारी साधन संचालनमा कठिनाई हुने गरेको छ । बेलडाँडादेखि मित्यालसम्म पनि अवस्था उस्तै रहेको छ । 

छोटो दूरीमै पहाडदेखि तराई पुग्ने यस भेगका बासिन्दाको सपना पूरा गर्न झण्डै पाँच दशक अघि सडक खन्न सुरु भएको थियो । स्थानीय तहको निर्वाचन भएपश्चात् नवलपुरको अरुणखोलासम्म सडक स्तरोन्नती सकिएको छ । पाल्पातर्फ भने उस्तै अवस्था छ । सडकको अवस्था क्षेत्र १ मा जतासुकै उस्तै रहेको निस्दीका लालबहादुर सुनारी मगरले बताए । ‘यो क्षेत्रमा कुनै पनि ठूला योजना सफल भएको देखिएको छैन,’ उनले भने, ‘पालिका तहबाट भएका केही काम बाहेक प्रदेश र संघीय सरकारबाट देखिने काम हुन सकेको छैन ।’ 

अन्यत्रका सडकको काम पूरा नहुँदै रणनीतिक सडकको नाममा कालीगण्डकी करिडोरको केलादीदेखि किर्तिपुर–सहलकोट–झ्यालबास नवलपुर जोड्ने सडक ४ वर्षदेखि काम अघि बढेको छैन । बजेट अभाव र विभिन्न बहाना बनाएर अहिलेसम्म कामै अलपत्र जस्तै छ । बाँकामलाङ्गदेखि सहलकोट मित्याल ज्यामिरेसम्मको सडक पनि अहिलेसम्म स्तरोन्नतीको काम अलपत्र छ । यी बाहेक अन्यत्रका सडक, खानेपानी, पक्की पुल लगायतका विकासले गिज्जाइरहेको स्थानीय मतदाता बताउँछन् । 

‘धेरैभन्दा धेरै नागरिकलाई लाभान्वित हुने मुख्य सडक स्तरोन्नतीको काम भएकै छैन,’ निस्दीका मतदाता मिलन राना मगरले भने, ‘आफ्ना कार्यकर्ताले जता भन्छन् उतै उतै करोडौ बजेट खर्चिने तर मुख्य कामलाई प्राथमिकता नदिएकाले यस्तो अवस्था आएको हो ।’ सडक मात्र होइन मर्मतमै करोडौ खर्च लाग्ने रामपुर फाँट सिंचाइ आयोजनाले दिगो मर्मत पाउन सकेको छैन । कालीगण्डकीबाट लिफ्ट गरेर सिंचाई गर्न नसक्दा यसवर्षमै किसानले धान रोप्न पाएनन् । यी बाहेक उब्जनी हुने क्षेत्र धेरै छन् । सिंचाइको अभाव छ । खानेपानी प्रशस्त पिउन पाएका छैनन् । अहिले पनि डोकोमा पानी बोक्नुपर्ने बाध्यता छ । 

यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यी समस्या उम्मेदवारका प्रतिवद्धतामा थिए । यस क्षेत्रको सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, विद्युत् तथा संचार, कृषि तथा सिंचाई, युवा, खेलकुद, रोजगारी स्वरोजगारी, भूमि वन तथा वातावरण लगायत नै विकास गर्ने योजना प्रतिबद्धतामा थियो । तर काम भने हुन सकेको छैन । क्षेत्र नम्बर १ का धेरै स्थानमा उम्मेदवारलाई विकासले गिज्याइरहेको देखिन्छ । 

प्रतिबद्धताको हिसाब माग्दै मतदाता

विगतमा गरेका विकासका प्रतिवद्धताको हिसाब मतदाताले खोज्न थालेका छन् । रामपुर नगरपालिका–५, की इच्छा थापाले पहिले प्रतिवद्धता जनाउने काम नगर्ने प्रवृत्ति भएको बताइन् । ‘गाउँका सबै पुरानाप्रति दिक्क छन्,’ उनले भनिन्, ‘मतदातालाई दास बनाइयो । सधै गाउँ नै मेरो कब्जामा छ भन्ने गराइयो । अब युवाले काम गरेर देखाउनुपर्छ भन्ने लाग्छ ।’

विगतमा उम्मेदवारले विभिन्न आश्वासन दिएर भोट बटुल्ने तर सत्तामा पुगेपछि बिर्सिने बानीप्रति उनको आक्रोस छ । अब गाउँमा आउने उम्मेदवारलाई मतदाताले मत माग्ने आधार माग्नुपर्ने उनको सुझाव छ । ‘जतासुकै मोटरबाटो घुलाम्मे छ, स्थानीय उत्पादन छैन,’ उनले भनिन्, ‘भएकाले राम्रो बजार पाउदैन, दिगो पर्यटनको गन्तव्य स्थल र पुर्वाधार बनाउन सकेको छैनन् ।’ अहिलेको निर्वाचन पहिलेको जस्तो नभएको माथागढी गाउँपालिका–४, की माया थापाले बताइन् । मतदाताले अब उम्मेदवारको अनुहार भन्दा पनि विगतको धोखा दिने कार्यशैलीको लेखाजोखा गर्नुपर्ने बताइन् । ‘वर्षौंदेखिको राजनीतिक ठगीविरुद्ध सचेत नागरिकले गरेको खबरदारी गर्नुपर्छ,’ उनले भनिन्, ‘पहिलोपटक मत हाल्ने अधिकार लिनेहरू पनि यस विषयमा सचेत हुनु जरुरी छ ।’

३२ वर्षदेखि एमाले किल्ला

२०४६ को प्रजातन्त्रपछि भएको पहिलो निर्वाचनमा २०४८ को प्रतिनिधिसभा निर्वाचनमा पाल्पाका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । २०५१ पछिका सबै निर्वाचनमा पाल्पा क्षेत्र –१ मा नेकपा एमालेले जित्दै आएको छ । क्षेत्र १ मा २०५१ पछि कांग्रेसले एक पटक पनि चुनाव जितेको छैन । सबै निर्वाचन एमालेको पोल्टामा छ । 

२०५१ मा दलबहादुर राना, २०५६ मा भद्रबहादुर थापा, २०६४ सालको संविधानसभा निर्वाचनमा दलबहादुर राना पुनः विजयी भए । यही क्षेत्रमा २०४८ सालमा कांग्रेसबाट कालुराम रानामगर निर्वाचित भएका थिए । त्यसबेला रानासँगै दलबहादुर प्रतिस्पर्धी थिए । त्यसपछिको २०७० सालको संविधानसभा निर्वाचनमा एमालेकै राधाकृष्ण कँडेल यस क्षेत्रबाट चुनिए । २०७४ सालको निर्वाचनमा एमालेबाटै पुनः राना विजयी भएको क्षेत्र हो ।

क्षेत्र १ अन्तर्गत रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका छन् । तानसेनको वडा ८, तिनाउको ५ पनि क्षेत्र १ मा पर्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १, मा चार पक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ । मुख्य चार राजनीतिक दलहरू बीच नै प्रतिस्पर्धा हुने आकलन यस क्षेत्रमा गरिएको हो । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी बीच चुनावी प्रतिस्पर्धा हुने रामपुरका मतदाता अनन्तप्रसाद खनालको टिप्पणी छ । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका नारायणप्रसाद आचार्य विजयी भएका थिए । 

नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई पराजित गर्दै आचार्य विजयी भएका हुन् । विजयी आचार्यले ३१ हजाार १ सय ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत प्राप्त गरेका थिए । २०७९ मा माओवादी, जनमोर्चा लगायतले कांग्रेसलाई समर्थन गरेको थियो । 

क्षेत्र १ बाट निवर्तमान सांसद आचार्य नै उम्मेदवार भएका छन् । पूर्वखोला गाउँपालिका–३, रिङ्गनेरहमा जन्मिएका आचार्य २०३९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा संगठित हुँदै २०७३ देखि ०७८ सम्म एमाले पाल्पाको नवौं जिल्ला कमिटी अध्यक्षसमेत भएसकेका अनुभवी नेता हुन् । कांग्रेसले लुम्बिनी प्रदेश सदस्य सन्दीप रानालाई उम्मेदवार बनाएको छ । राना कांग्रेसको महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष पनि हुन् । ग्रामीण क्षेत्रका युवाहरूसँग नजिक रहेर सक्रिय राजनीति गर्दै आएका रानालाई पाल्पा–१ मा एमालेको किल्लालाई चुनौती दिन सक्ने उम्मेदवार हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा विमल पन्तलाई उम्मेदवार बनाएको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेको रास्वपाको उपस्थितिले यस क्षेत्रमा प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । युवा, समाजसेवी पन्तले क्षेत्र १ अन्तर्गतको सबै वडामा पुगेर मतदातालाई भेटेका छन् । ‘मलाई राम्रोसंग थाहा भयो यो क्षेत्र विकासमा किन पछि परेको रहेछ,’ उनले भने, ‘मलाई मतदाताले पाटी नफेरिकन मन फेरेर मत दिनुहुन्छ भन्ने लागेको छ ।’

नेपाली कम्युनिष्ट पार्टीबाट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य रहेका हुमबहादुर सुनारी चुनावी मैदानमा छन् । मगर समुदाय बाहुल यस क्षेत्रमा सुनारीको उपस्थिति बलियो भएको दाबी नेपाली कम्युनष्टि पार्टीको दाबी छ । माओवादी र एकीकृत समाजवादीको मतसहित मगर समुदायको मत उनले पाउने रामपुरका मतदाता भिमविश्व भट्टराईले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाबाट नरमति सिंजाली, नेसनल रिपब्लिक नेपालबाट थमन सिं रेश्मी मगर, मंगोल नेसनल अर्गनाइजेसनबाट सलन चिदी मगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट पुरन गैहृे शर्मा उम्मेदवार छन् । स्वतन्त्र रूपमा कोशल अर्याल, डिल्लीराज काफ्ले, बुद्धबहादुर विरकट्टा र बाछा दली मिया मनोनयन दर्ता गरेका छन् । यस क्षेत्रमा कुल ९८ हजार ३ सय ८३ मतदाता रहेका छन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully