यस क्षेत्रमा धेरै उम्मेदवार नयाँ भए पनि यो क्षेत्रका मतदाताको अपेक्षा भने पुरानै छन् । ६ महिना मात्रै मोटर चल्ने बाटोका कारण हैरानी खेपेका मतदाताले यसपटक पनि उही अपेक्षा दोहोर्याएका छन्– वर्षैभरि मोटर चल्ने सडक चाहियो ।
What you should know
काभ्रे — प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिँदै जाँदा काभ्रे क्षेत्र नं १ का उम्मेदवारको घरदैलो अभियान पनि पूरा भएको छ । जिल्लाका दुई क्षेत्रमध्ये विकट मानिने काभ्रे १ मा १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा उम्मेदवारी दिएका सबै नयाँ उम्मेदवार हुन् ।
काभ्रे क्षेत्र नं १ मा पनौती नगरपालिकाका १२ मध्ये ७ वटा वडा, नमोबुद्ध नगरपालिका, तेमाल, रोशी, महाभारत, चौरीदेउराली र खानीखोला गाउँपालिकाका सबै वडा र बेथानचोक गाउँपालिकाको वडा नं ६ रहेका छन् । धुलिखेल नगरपालिकाका १२ वटा वडामध्ये वडा नं ८ देखी १२ सम्म यस क्षेत्रमा पर्छन् । पनौती, नमोबुद्ध, तेमाल, बेथानचोक तुलनात्मक रूपमा सुगम रहे पनि जिल्लाकै सबैभन्दा दुर्गम महाभारत र खानीखोला गाउँपालिका यही क्षेत्रमा पर्छन् ।
उम्मेदवारहरू नयाँ भए पनि यो क्षेत्रका मतदाताको अपेक्षा भने पुरानै छन् । ६ महिना मात्रै मोटर चल्ने बाटोका कारण हैरानी खेपेका मतदाताले यसपटक पनि उही अपेक्षा दोहोर्याएका छन्– वर्षैभरि मोटर चल्ने सडक चाहियो ।
पूर्वाधार विकास नहुँदा यहाँका स्थानीयले दैनिक जीवनमै अनेक समस्या भोग्दै आएका छन् । खानीखोला र महाभारत गाउँपालिकाका धेरै बस्तीमा पक्की सडक र पुल नहुँदा वर्षातको समयमा स्थानीयले अनेकन् सास्ती खेप्न बाध्य भएका छन् । बिरामी, गर्भवती महिला र सुत्केरीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन नसक्दा ज्यान जोखिममा पर्ने अवस्था बारम्बार दोहोरिन्छ । सामान्य औषधोपचारका लागि समेत घन्टौं पैदल हिँड्नुपर्छ भने गम्भीर अवस्थामा स्ट्रेचर वा डोकोमै बोकेर लैजानुपर्ने बाध्यता अझै पनि उस्तै छ ।
महाभारत गाउँपालिकामा गतिलो सडक सञ्जाल, पुल, सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा यस पालिकाका १६ हजार ६९ बासिन्दा प्रभावित छन् । यहाँ वर्षातको समयभरि यातायातका साधन चल्दैनन् । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार महाभारत जोड्ने पिन्थली–रजबास–चारकिल्ला–देवीटार सडक खण्ड बर्खामा पहिरोले कारण अवरुद्ध हुने गर्छ । हिउँदको समयमा भने यातायात सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
आकस्मिक बिरामी र स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको अवस्थामा हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
महाभारत गाउँपालिका जस्तै भौगोलिक रूपमा काभ्रेको अर्को विकट क्षेत्रको रूपमा परिचित छ, खानीखोला । सडक, पुल, स्वास्थ्य शिक्षा लगायतका पूर्वाधारमा पछि रहेकाले यहाँका १२ हजार २ सय १ नागरिकले सामान्य सेवा लिन पनि अनेकन् सास्ती खेप्न बाध्य छन् । वर्षातको समयमा पनि यातायातका साधन नचल्दा विशेष गरेर अशक्त, वृद्ध–वृद्धा सुत्केरी, गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएमा उपचार गराउन घन्टौं पदैल हिँडेर, स्ट्रेचर वा डोकोमा बोकेर स्वास्थ्य संस्था पुर्याउनुपर्ने अवस्था रहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङको भनाइ छ ।
स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर अभावले यी दुई पालिकाका अधिकांश युवा वैदेशिक रोजगारी वा सहरतिर पलायन हुन बाध्य भएका छन् । दीर्घकालीन रूपमा सडक, पुल र सुविधा सम्पन्न स्वास्थ्य संस्था निर्माण नगरेसम्म खानीखोला र महाभारतका बासिन्दाले जोखिमपूर्ण जीवन बिताउनुपर्ने बाध्यता कायमै रहने देखिन्छ । विगतका निर्वाचनमा पनि यो क्षेत्रका मतदाताले उम्मेदवारलाई सहज रूपमा यातायात सञ्चालनका लागि पूर्वाधार निर्माणको माग गरे । यसपटक पनि उनीहरूको अपेक्षा सडक, खानेपानी जस्ता पूर्वाधार नै रहेको उम्मेदवारहरू बताउँछन् ।
०००
प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसका काभ्रे क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मोक्तानले आफ्नो चुनावी एजेन्डा विकास, पूर्वाधार विस्तार र ग्रामीण आम्दानी वृद्धिमा केन्द्रित रहेको बताएका छन् । उनले यस क्षेत्रका मतदाता अत्यन्त उत्साहित र आशावादी देखिएको बताए । उनका अनुसार अघिल्ला निर्वाचनमा कांग्रेसले जितेपछि क्षेत्रभित्र उल्लेख्य बजेट ल्याउन सफल भएको र स्थानीय तहमा कांग्रेस नेतृत्वले राम्रो काम गरेकाले मतदातामा पार्टीप्रति विश्वास बढेको छ ।
उनका अनुसार काभ्रे–१ लाई भौगोलिक रूपमा विकट क्षेत्रका रूपमा चिनिन्छ । विशेषगरी डाँडापारी, कोशीपारि, रोशी र महाभारत क्षेत्रका बस्तीहरूमा पूर्वाधार विस्तार चुनौतीपूर्ण छ । ‘हिजोको तुलनामा विकास भएको छ,’ उनले भने, ‘तर आवश्यकतासँग तुलना गर्दा पर्याप्त विकास भएको छैन ।’ उनका अनुसार छरिएका बस्ती, दुई–चार घरको समूहमा फैलिएको बसोबास र कठिन भूगोलका कारण सडक, बिजुली र खानेपानी पुर्याउन ठूलो लगानी आवश्यक पर्छ । ‘पूर्वाधार पुर्याउन महँगो छ,’ उनले भने, ‘त्यसैले जति चाहिएको छ त्यति हुन सकेको छैन ।’
ग्रामीण क्षेत्रमा १२ महिना मोटर चल्ने सडक नहुनु र पक्की पुल निर्माणमा ढिलाइ हुनुबारे प्रश्न उठ्दा उनले कार्यान्वयन प्रक्रियाको झन्झटिलो प्रणालीलाई मुख्य कारण बताए । ‘विकासका लागि बजेट छुट्टिन्छ, तर कार्यान्वयन प्रक्रिया अत्यन्त जटिल छ,’ उनले भने, ‘त्यसलाई सहज बनाउन विधि र कार्यविधि पुनरावलोकन गर्नुपर्छ ।’ विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेमा पनि उनले जोड दिए । विकट बस्तीमा आकस्मिक बिरामी वा गर्भवती महिलाको उद्धारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्थाबारे उनले दीर्घकालीन समाधान आवश्यक रहेको उनको भनाई थियो । ‘सडक सञ्जाल विस्तार गरेर सदरमुकामसँग सिधा पहुँच जोड्न सके हेलिकप्टर निर्भरता घट्छ,’ उनले भने, ‘पक्की सडक सञ्जाल जोड्नु हाम्रो पहिलो प्राथमिकता हो ।’
उनले भौतिक पूर्वाधारसँगै उत्पादन र बजार व्यवस्थापनमा सुधार गर्नुपर्ने बताए । ‘गाउँमा सुन्दर घर बने पनि आम्दानी बढेन भने मान्छे बस्दैनन्,’ उनले भने, ‘उत्पादक र उपभोक्ताबीचको लामो चेन तोडेर सिधा जोड्न सके किसानले उचित मूल्य पाउँछन् ।’ उनका अनुसार सिँचाइ, खानेपानी, कृषि उत्पादनको बजार पहुँच र सुशासन कायम गर्नु मुख्य एजेन्डा हो ।
अघिल्ला निर्वाचनमा गठबन्धनको प्रभाव रहेको क्षेत्र यसपटक दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । चुनौतीबारे प्रश्न गर्दा मोक्तानले कांग्रेसको संगठन बलियो रहेको, अघिल्ला वर्षहरूमा प्रत्येक वडामा विकास बजेट विनियोजन भएको र पार्टीमा आएको रूपान्तरणले सकारात्मक माहोल सिर्जना गरेको दाबी गरे । ‘संगठन, विकासको काम, पार्टीभित्रको रूपान्तरण र उम्मेदवारको क्षमताको आधारमा हामी सहज अवस्थामा छौं, उनले भने ।
०००
क्षेत्र नम्बर १ मा घरदैलो अभियान अन्तिम चरणमा पुग्दै गर्दा मतदाताको उत्साह उल्लेखनीय रहेको नेपाली कम्युनिष्ट पार्टी काभ्रे क्षेत्र नं १ का दिनानाथ गौतमले बताए । विकट मानिने यस क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएका समस्या जस्तै : १२ महिना मोटर चल्ने सडकको अभाव, खानेपानी, स्वास्थ्य र कृषि उपज बजारीकरण लगायतका समस्यालाई समाधान गर्ने स्पष्ट एजेन्डासहित आफूहरू मतदातामाझ पुगेको उनको भनाई छ ।
उनका अनुसार, यस क्षेत्रमा राज्यको नीतिगत प्राथमिकतामा असन्तुलन रहेको पाइएको छ । ‘दुर्गम र विकसित क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक छ,’ उनले भने, ‘पहुँच र स्रोत–वितरणमा असमानता छ ।’ यद्यपि, अघिल्ला कार्यकालमा केही योजना सुरु भएको र केही अधुरा रहेको स्वीकार्दै ती योजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने तथा नयाँ आवश्यकतालाई पनि सम्बोधन गर्ने उनले बताए ।
‘यस क्षेत्रमा सडकसँगै पूर्वाधार विकास पहिलो प्राथमिकता हो,’ उनले भने, ‘त्यसपछि खानेपानी, कृषि क्षेत्रमा पकेट क्षेत्र निर्माण गरी व्यवसायीकरण र उत्पादनमा जोड दिने हाम्रो योजना छ ।’ शिक्षा क्षेत्रमा रोजगारमूलक तथा प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्ने र स्वास्थ्यतर्फ दक्ष जनशक्ति सहितको सेवा विस्तार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रत्येक पालिकामा न्यूनतम १० शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारी नीतिलाई तीव्रताका साथ अघि बढाउने उनले बताए ।
उनका अनुसार, लामो समयदेखि जनतासँग प्रत्यक्ष सम्बन्ध र सामाजिक–राजनीतिक सक्रियताले निर्वाचनमा जीत सुनिश्चितको बलियो आधार देखेको छु । ‘जनताले देखाएको विश्वास र भरोसै हाम्रो जित्ने आधार हो,’ उनले भने । आफू नयाँ भए पनि पार्टीको विचार र कार्ययोजना स्पष्ट रहेको उल्लेख गर्दै परिणाम दिन सक्ने उनले विश्वास व्यक्त गरे ।
०००
काभ्रे क्षेत्र नम्बर–१ मा चुनावी माहोल तीव्र बन्दै जाँदा मतदातामा उत्साह र निराशा दुवै देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको क्षेत्र नं १ का उम्मेदवार मधुकुमार चौलागाईंले बताएका छन् । उनका अनुसार नयाँ उम्मेदवार भएकाले हामीप्रति भरोसा र उत्साह देखिएको छ । तर विगतमा जितेर गएका प्रतिनिधि जनतामाझ फर्केर नआएको मतदाताको गुनासो पनि उत्तिकै रहेको छ ।
विगतका प्रतिनिधिहरू जनतासँग निरन्तर सम्पर्कमा नरहेकाले समस्या पहिचान र प्राथमिकता निर्धारण हुन नसकेको उनको भनाई छ । उनले औचित्य र आवश्यकताको आधारमा योजना छनोट नगर्दा लगानी छरिएर प्रभावकारी नतिजा नआएको बताए । भूगोल अनुसार उपयुक्त पूर्वाधार निर्माण गर्न सके दुर्गम क्षेत्रको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने उनको भनाइ छ ।
उनले आफ्नो मुख्य एजेन्डा ‘जनताको अवस्था परिवर्तन’ रहेको बताउँदै उनले भने, ‘खानेखोला–महाभारत क्षेत्रमा सहज यातायात, जडीबुटी संकलन, प्रशोधन र प्याकेजिङ, कफी, अदुवा, बेसार तथा अन्य नगदे बाली प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ, सिपाली क्षेत्रमा तेलहन बाली उत्पादन र त्यसमा आधारित उद्योग सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।’
त्यसैगरी चौरीदेउरालीदेखि महाभारत क्षेत्रसम्म स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उनको प्रतिबद्धता छ । शिक्षा सुधारतर्फ उत्पादनसँग जोडिएको व्यावहारिक शिक्षा प्रणाली लागू गर्नुपर्ने उनले बताए । पनौती क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गरी आयआर्जन बढाउन सकिने उनको धारणा छ । ऐतिहासिक महत्त्व बोकेको नमोबुद्ध क्षेत्रको संरक्षण र प्रवर्द्धनमा समेत ध्यान दिनुपर्ने उनले औंल्याए ।
यस क्षेत्रमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । प्रतिस्पर्धाबीच आफू जनताको एजेन्डा बोकेर अघि बढेको र स्वास्थ्य, शिक्षा तथा रोजगारीका सवाललाई केन्द्रमा राखेकाले जित्ने आधार बलियो रहेको उनको दाबी छ । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ भएकाले कमजोर रहेको भन्ने धारणा अस्वीकार गर्दै उनले काभ्रे–१ मा पार्टी अग्रपंक्तिमा रहेको दाबी गरे । रास्वपा कमजोर छ भन्ने भाष्य निर्माण नगर्न उनले अनुरोध गरे ।
०००
निर्वाचन प्रचार–प्रसारको अन्तिम चरणमा घरदैलो अभियानमा व्यस्त रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्र्रेको क्षेत्र नं १ का उम्मेदवार अमि तामाङले मतदातामा निकै नै उत्साह देखिएको बताए । उनका अनुसार पार्टीप्रति आकर्षण र विश्वासका कारण जनताको साथ प्राप्त भइरहेको छ ।
उनका अनुसार, २१ गतेको निर्वाचन नजिकिँदै जाँदा मतदातामा उत्साह बढेको छ । ‘जनताले देश र जनताको पक्षमा उभिने पार्टीको रूपमा एमालेलाई हेरेका छन्,’ उनले भने, ‘यसपटक परिवर्तनको चाहना स्पष्ट देखिएको छ ।’ उनका अनुसार, विशेषगरी डाँडापारि क्षेत्र, कोशीपारि र रोशी आसपासका बस्तीहरूमा पूर्वाधार विकास अपेक्षित रूपमा हुन नसकेको गुनासो व्यापक छ । सडक, खानेपानी, सिँचाइ र स्वास्थ्यजस्ता आधारभूत सेवा अझै व्यवस्थित नहुँदा जनजीवन प्रभावित छ ।
यस क्षेत्रमा विगतका निर्वाचनमा निर्वाचित भएका उम्मेदवारले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गर्न नसकेको भन्दै यसपटक विकासको जिम्मा एमालेलाई दिनुपर्ने तर्क गरे । उनका अनुसार यसअघि गठबन्धनका आधारमा विजयी भएका दलहरूले अपेक्षित काम गर्न नसकेको र त्यसैले यसपटक मतदाताले विकल्प खोजिरहेको अवस्था छ । अघिल्ला दुई निर्वाचनमा गठबन्धन गर्ने पक्षले जित्दै आएको यस क्षेत्रमा यसपटक दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । यसपटक बिना गठबन्धन एक्लै चुनावमा होमिनुपर्ने अवस्थामा पनि आफूलाई खासै चुनौती नरहेको उनले बताए ।
अघिल्ला दुई निर्वाचन जित्न गठबन्धनको भर : यसपटक एक्लाएक्लै प्रतिस्पर्धा
नयाँ संविधान जारी भएसँगै दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र बनेको काभ्रे क्षेन नं १ मा यसअघि दुईवटै निर्वाचन जित्ने उम्मेदवारलाई गठबन्धनको भर पर्नुपरेको थियो । यो क्षेत्रमा अहिले १ लाख ६१ हजार १ सय मतदाता रहेका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । सो गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङले कांग्रेस उम्मेदवार तीर्थबहादुर लामालाई ५ हजार २६ मतको अन्तरले पराजित गरेका थिए । तामाङले ४४ हजार ६ सय ३१ मत पाएका थिए भने लामाले ३९ हजार ६ सय ५ मत पाए । २०७९ को निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भयो ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सूर्यमान दोङले नेकपा एमालेका उम्मेदवार रेशमबहादुर लामालाई ३ हजार ९ सय ६४ मतान्तरले पराजित गरेका थिए । दोङले ३४ हजार ५ सय १२ मत ल्याउँदा लामाले ३० हजार ५ सय ४८ मत पाए । यो क्षेत्रमा तेस्रो स्थानमा रहेका रास्वपाका बसुनारायण श्रेष्ठले ८ हजार ६ सय ९७ मत पाए । यसपटक गठबन्धन नभएकाले मुख्य तीन दलका उम्मेदवारहरू समानुपातिकतर्फ पार्टीले पाएको मत जोगाउने र अन्य दलको मत आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेका छन् । रास्वपालाई भने जनमत आफूतिर आकर्षित भएको आत्मविश्वास देखिएको छ ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेले २४ हजार ७९ मत ल्याएको थियो भने कांग्रेसले २१ हजार ७ सय ५५, नेकपा माओवादी केन्द्रले १७ हजार ३ सय ३५ र रास्वपाले ९ हजार ७ सय ९४ मत पाएका थिए । अहिले माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेको तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीले भने १ हजार ९ सय ५५ मतमात्रै ल्याएको थियो ।
