कपिलवस्तु २ : पूर्वमन्त्रीद्वयलाई चुनौती दिँदै पूर्वएसएसपी

कांग्रेसका सुरेन्द्रराज आचार्य र नेकपाका बृजेशकुमार गुप्तालाई रास्वपाका बिक्रमसिंह थापाले कडा चुनौती दिँदै प्रतिस्पर्धामा होमिएकाले कपिलवस्तु २ को निर्वाचनको माहोल रोचकसँगै पेचिलो बनेको छ ।

फाल्गुन १८, २०८२

मनोज पौडेल

Kapilvastu 2: Former SSP challenges former ministers

What you should know

कपिलवस्तु — मतदानको दिन नजिकिँदै गर्दा कपिलवस्तु–२ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । तीन ‘हेभिवेट’ उम्मेदवार मतदाता आकर्षिक गर्न अन्तिम कसरस गरिरहँदा चुनावी चहलपहलले तीव्रता पाएको छ । यहाँ दुई पुराना प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रराज आचार्य र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बृजेशकुमार गुप्तालाई नयाँ उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वएसएसपी बिक्रमसिंह थापाले कडा चुनौती दिँदै प्रतिस्पर्धामा होमिएकाले कपिलवस्तु २ को निर्वाचनको माहोल रोचकसँगै पेचिलो बनेको छ ।

जिल्लाको सदरमुकाम तौलिहवासमेत क्षेत्र नं २ मा पर्ने हुँदा जिल्लाभर नै यो क्षेत्रको निर्वाचनलाई लिएर चासो दिइएको छ । क्षेत्र नं २ मा दलबाट १७ र ११ जना स्वतन्त्र गरी २८ जना चुनावी मैदानमा छन् । उम्मेदवारहरू घरदैलो गर्दै असन्तुष्ट र रिसाएका नेता–कार्यकर्ता फकाइरहेका छन् । संगठन बनाएका पुराना पार्टी आफ्नो मत जोगाउने कसरतमा केन्द्रित भएका छन् भने पहिलोपटक चुनावी मैदानमा उत्रिएका दलले पुराना पार्टी समर्थित मत जतिसक्दो आफूतिर खिच्ने रणनीतिमा केन्द्रित छन् । 

पटक–पटक निर्वाचित भई संविधान सभा सदस्य र प्रतिनिधिसभा सदस्य बनेर मन्त्री भएकाहरू भने पुरानो प्रतिष्ठा जोगाउन मतदाताकहाँ पुगिरहेका छन् । जिल्लाको क्षेत्र नं २ मा संघीय मन्त्री भइसकेका सुरेन्द्रराज आचार्य र बृजेशकुमार गुप्ता विरासत जोगाउन लागेका छन् । दुवै जनामा एकपटक संघीय राज्यमन्त्री र अर्को पटक क्याबिनेट मन्त्री भइसकेको अनुभव छ । आचार्य कांग्रेसबाट र गुप्ता नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् । ०७४ सालदेखि दुवै जना मुख्य प्रतिस्पर्धी बन्दै चुनाव लड्दै आइरहेकामा यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वएसएसपी बिक्रमसिंह थापा थपिएका छन् । 

कांग्रेसबाट क्षेत्र नं २ लागि प्रतिनिधिसभा सदस्यमा चार जनाको नाम सिफारिस भएकामा थापाको नाम पनि थियो । तर, कांग्रेसबाट टिकट नपाएपछि थापा रास्वपा प्रवेश गरेर चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरूसँगै एमालेका दृृगनारायण पाण्डे पनि चुनावी प्रतिस्पर्धामा छन् । 

संयोग कस्तो भने तीन जना पार्टी परिवर्तन गरेर उम्मेदवार बनेका छन् । कांग्रेसका आचार्यबाहेक नेपाली कम्युनिष्ट पार्टीका गुप्ता, रास्वपाका थापा र एमालेका पाण्डे पार्टी परिवर्तन गरी उम्मेदवार बनेका हुन् । गुप्ता एमालेबाट प्रतिनिधिसभा सदस्य र पाण्डे कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । थापा कांग्रेसबाट २०७९ को लुम्बिनी प्रदेशसभा सदस्यमा कपिलवस्तु २ (१)मा ५ सय २२ मतले पराजित भएका थिए । आचार्य एकातिर आफ्ना पूर्वसहकर्मीसँग भिड्दै छन् भने अर्कातिर दुई पटकका प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धामा छन् । 

दुईपटक मन्त्री हुँदा राम्रो काम गरेकाले जित सुनिश्चित भएको कांग्रेस उम्मेदवार आचार्यले बताए । ‘क्षेत्रमा बाटोघाटो, सिँचाइ योजना, पुलपुलेसा प्रशस्त निर्माण गरेको छु,’ उनले भने, ‘त्यो नै जितको आधार हो । युवाका लागि नयाँ योजना लिएर आएको छु । युवालाई के गर्नु पर्छ र कसरी रोजगारी र उद्यमशील बनाउने भन्ने योजना छ, त्यही भएर उनीहरू मसँग आकर्षित हुँदा ढुक्कले चुनाव जित्छु । २०७९ मा उनी ३ सय १७ मतले पराजित भएको थिए ।’ 

अहिले आफ्नो पक्षमा राम्रो जनमत भएको पनि उनले बताए । ‘पराजित हुँदा पनि जनताकै बीचमा बसेँ, उनीहरूकै सेवामा लागेँ,’ उनले भने, ‘त्यही भएर मेरो जित निश्चित छ ।’ युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने, कृषकलाई मल, खाद, सिँचाइ र कृषि उपज बजारीकरण गर्न सहजीकरणको एजेन्डा लिएर अघि बढ्दा सकारात्मक ऊर्जा पाएको उम्मेदवार गुप्ताले बताए । गुप्ताले पाँचौंपटक विजयीको माला पहिरिन खोजेका छन् भने आचार्य तेस्रो जितको खोजीमा छन् । ०५६ मा राप्रपाबाट राजनीति सुरु गरेका गुप्ता दुई पटक संविधान सभा र दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । राप्रपाबाट राजनीति गरेका गुप्ता तमलोपा, एमाले हुँदै माओवादीमा पुगेका छन् । आचार्य एक पटक संविधानसभा सदस्य र अर्को पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनले पार्टी परिवर्तन गरेका छैनन् । 

उता अहिले रास्वपाप्रतिको लहरले जित निश्चित भएको उम्मेदवार थापाले बताए । यो क्षेत्रको भिजेको नेता, विगतमा प्रहरी प्रमुख भएर काम गर्दा जनताको सेवा गरेकाले निक्कै सहज भएको उनले बताए । ‘जहाँ गयो त्यहीँ परिवर्तन चाहेको अनुभूति भइरहेको छ,’ उनले भने, ‘त्यही भएर विजयीको माला पहिरिनमात्र बाँकी छ ।’ आफ्नो मुख्य मुद्दा भने भ्रष्टाचार अन्त्य र सुशासन भएको उनले बताए । उता मदखाद र सिँचाइको मुद्दा लिएर जाँदा कृषकहरूबाट अपार माया र सद्भाव पाएकाले जित निश्चित भएको एमाले उम्मेदवार दृगनारायण पाण्डेले बताए । ‘म एमाले उम्मेदवार भए पनि पुराना कांग्रेसका कतिपयको साथ र समर्थन छ,’ उनले भने, ‘त्यही भएर जित सुनिश्चित छ । ठूला कुराको सपना देखाउँदिनँ ।’ युवा र कृषकको घर गर्जो टार्ने मुद्दालाई लिएर जाँदा आफूहरू सफल भइरहेको पाण्डेले बताए । 

रास्वपाले कांग्रेसको मत बढी काट्ने भन्दै नेपाली कम्युनिस्ट पार्टीले आकलन गरेको छ भने कांग्रेसले रास्वपाले नेपाली कम्युनिस्ट पार्टीको मत बढी काट्ने भन्दै अड्कलबाजी गरेर आ–आफ्नो जितको दाबी गरिरहेका छन् । 

७० हजार २ सय ६४ पुरुष र ५९ हजार ९ सय ३८ महिला गरी १ लाख ३० हजार २ सय २ मतदाता रहेको क्षेत्र नं २ मा ८४ मतदान स्थल र १ सय ६३ मतदान केन्द्र रहेका छन् ।

मनोज पौडेल

Link copied successfully