पाल्पा–२ मा चार दलीय प्रतिस्पर्धा

पाल्पा २ मा १४ दल र दुई स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । सबै दल आ–आफ्नै तरिकाले मत माग्दै जित्ने दाबी गरिरहेका छन् ।

फाल्गुन १८, २०८२

माधव अर्याल

Four-party competition in Palpa-2

What you should know

पाल्पा — प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पा क्षेत्र नम्बर २ को चुनावी माहौल तातेको छ । यस क्षेत्रमा १४ दल र दुई स्वतन्त्र उम्मेदवार मतदातासमक्ष पुगिरहेका छन् । सबै दल आ–आफ्नै तरिकाले मत माग्दै हिँडिरहेका छन् । 

तिनाउ गाउँपालिकास्थित दोभानका विष्णुप्रसाद पाण्डेयका अनुसार विगतभन्दा यसपटक फरक तरिकाले मत मागेको देखिएको छ । ‘सबै आ–आफ्नो चुनाव चिन्हमा मत माग्दै हिडेका छन्,’ उनले भने, ‘विगतमा चुनावमा जस्तो तामझाम यसपटक देखिएको छैन ।’ उनका अनुसार उम्मेदवार भेला, छलफल र घरदैलो अभियानमा छन् । गाउँघरमा पहिले जस्तो झण्डा प्रदर्शन, नारा जुलुस गरिएको छैन । मतदाता फर्किएपछि सुनसान गाउँमा चहलपहल बढेको छ । मतदातालाई कसरी आफ्नो पक्षमा आकर्षित गर्न सकिन्छ भन्ने दाउमा उम्मेदवार र प्रतिनिधि खटिएका छन् । 

‘हामीलाई एउटा मात्र दलले फकाउने वातावरण यसपटक देखेको छैन,’ रैनादेवी छहराका कमल खत्रीले भने, ‘जो आए पनि उस्तै लाग्छन् । भोट माग्दै आउनेलाई हस् भनेर पठाएको छु ।’ यस क्षेत्रको प्रतिस्पर्धामा धेरैको चासो देखिएको छ । 

एमालेले २०७९ मा निर्वाचित ठाकुरप्रसाद गैरेलाई पुनः उम्मेदवार बनाएको छ । कांग्रेसले जिल्ला सभापति हिमालदत्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ । नेकपाबाट सोमप्रसाद पाण्डेय प्रतिस्पर्धामा छन् । रास्वपाले माधवबहादुर थापालाई उम्मेदवार बनाएको छ । श्रेष्ठ र थापा पूर्वसहकर्मी हुन् । ०७४ को निर्वाचनमा गैरे र पाण्डेय पनि सहकर्मी थिए । ०७४ मा पाण्डेयले यहीँबाट चुनाव जितेका थिए । २०७९ मा एकीकृत समाजवादी उम्मेदवार बनेका पाण्डेय गैरेसँग ४ हजार मतले पराजित भएका थिए । एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रूपमा पाण्डेय थिए । एमालेका गैरेले २८ हजार ६ सय ४५ मत पाएका थिए । पाण्डेयले २४ हजार ८ सय ९९ मत ल्याए । 

०७९ मा रास्वपा उम्मेदवार सोमप्रसाद गेरैले ५ हजार ३ सय ४९ मत ल्याए । मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ६ सय ४ मत पाएका थिए । पाण्डेय जिल्लाका पुराना र अनुभवी नेता हुन् । उनीसँग २०५१ सालदेखि निरन्तर चुनाव लडेको अनुभव छ । २०७० को निर्वाचनपछि पाण्डेय उद्योगमन्त्रीसमेत बने । पाण्डेयले २०६४ को निर्वाचन तत्कालीन माओवादीसँग हारेका हुन् । पाण्डेय नेकपा माओवादीका उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले जित हासिल गरे । नेकपाका पाण्डेय साविकको पाल्पा– २ बाट २०५१, २०५६, २०६४, २०७० का उम्मेदवार थिए । २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमा जित हासिल गरेका थिए । 

पाण्डेय पुराना र अनुभवी नेता हुन् । २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३६ मा ३२ दिन जेल बसेको अनुभव सुनाउँछन् । त्यतबेला उनी शिक्षक थिए । बहुदलको पक्षमा सक्रिय हुँदा आफू पक्राउ परेको पाण्डेयले बताए । २०४० सालमा नेकपा मालेको गाउँ कमिटी उपसचिव बनेका थिए । ०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य, केन्द्रीय सदस्य र पाल्पा इन्चार्ज बने । उनी अधिवक्तासमेत हुन् । 

यसपटक सिद्धबाबाबाट आफ्नो चुनावी अभियान सुरु गर्दै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख एजेन्डा बनाएको बताए । तानसेनमा ब्लड बैंक, तानसेन खानेपानी, सिद्धबाबा सुरुङमार्ग, दमकडा पोलिटेक्निक, माडी चक्रपथ लगायतका काममा उनको अगुवाइ छ । एमालेका गैरे विद्यार्थी राजनीतिबाट उदाएका हुन् । अघिल्लो निर्वाचनमा एकीकृत समाजवादीका पाण्डेयलाई पराजित गरी सांसद बनेपछि उनको राजनीतिक उचाइ बढेको थियो । पाल्पाको विकास र समृद्धिका पक्षमा सडकदेखि सदनसम्म काम गर्ने प्रतिबद्धता जनाए । उनले पनि विगतको अनुभव र गर्न बाँकी रहेका काम गर्ने बताएका छन् । 

गैरे २०४७ सालमा तत्कालीन नेकपा (माले) को संगठित सदस्यता लिएर राजनीतिमा निरन्तर क्रियाशील छन् । २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र २०६३ सालमा अध्यक्षमा निर्वाचित भए । एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सचिवमा पराजित भएका थिए । केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ०७९ मा निर्वाचित गैरे जनतासमक्ष गरेका प्रतिबद्धता र विकासका काम पाँच वर्षको कार्यकाल पूरा नहुँदै ३१ महिनामै मुलुक निर्वाचनमा गएकाले पूरा नभएका, अपूरा कामहरू गर्ने गैरेले बताए । क्षेत्र २ मा एमालेको संगठन बलियो छ । अघिल्लो निर्वाचनमा एमाले एक्लै चुनाव लडेर जितेकाले यसपटक पनि जित्ने दाबी गैरेको छ । 

कांग्रेसका उम्मेदवार श्रेष्ठ पहिलोपटक उम्मेदवार बनेका हुन् । युवा उम्मेदवार श्रेष्ठको प्रभाव यस क्षेत्रमा राम्रो देखिन्छ । श्रेष्ठ महासमिति सदस्य, नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु सभापति भई राजनीतिक–सामाजिक क्षेत्रमा आएकाले यस क्षेत्रमा परिचित र लोकप्रिय मानिन्छन् । ‘विगतदेखि यहाँका जनताले झेल्दै आएका समस्या म राम्रोसँग बुझ्छु,’ उनले भने, ‘समस्या समाधानका लागि यसपटक चुनावी मैदानमा छु ।’ जनताको जनजीविकाको सवाललाई उठाउने श्रेष्ठले बताए । उत्तरदायी, जिम्मेवार हुने र सधैँ सुखदुःखमा साथ दिने उनको प्रतिबद्धता छ । 

रास्वपाका उम्मेदवार थापा यसअघि कांग्रेसका जिल्ला सदस्य हुन् । उनी हालै मात्र कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका छन् । थापाले भूगोलमा बसेर काम गरेको अनुभव छैन । अहिले थापाले विगतमा हुन नसकेका कामलाई पूरा गर्ने र युवाको काँधमा जिम्मेवारी दिनुपर्ने बताउँदै मत मागिरहेका छन् ।

उनले मनोनयन दर्तादेखि नै भ्रष्टाचारमा शून्य सहनशीलता, पारदर्शिता, जवाफदेहिता र सुशासनको पक्षमा काम गर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सडकजस्ता पूर्वाधार विकासमा काम गर्ने थापाले बताए । नवयुवामा रास्वपाको विश्वास बढेको छ । गाउँमा अझै संगठन निर्माण छैन । थापाले यस पटकको निर्वाचनमा पुराना दलसँगै आफ्नो पनि प्रतिस्पर्धा हुने बताए । 

२०७४ सालअघि पाल्पाको क्षेत्र नम्बर ३ हुँदा २०४८ र २०७० मा पश्चिम भेगमा कांग्रेसले जितेको हो । त्यसबाहेक २०५१ सालमा एमाले उपाध्यक्ष विष्णु पौडेल, २०५६ मा यादवबहादुर रायमाझी, २०६४ मा कुलप्रसाद नेपालले एमालेबाट निर्वाचन जितेका हुन् । तीन क्षेत्र भएका बेला २०४८ र २०७० सालमा भने कांग्रेसका हरिप्रसाद नेपालले चुनाव जितेका थिए । साविकको पाल्पा–३ क्षेत्र हुँदा कांग्रेस र एमालेबीच झिनो मतान्तरमा जित/हार हुने क्षेत्र हो । संघीयतापछि भने जिल्लाको साविक पाल्पा दुई क्षेत्र केही भागलाई १ र केही भागलाई साविक पाल्पाको ३ नम्बर क्षेत्र मिसाइएको छ । ०७९ सालको निर्वाचनमा एमालेले समानुपातिकतर्फ २२ हजार ५ सय २९ मत ल्याएको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसले २० हजार १ सय ५४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ३ सय ७८ मत पाएको थियो । तत्कालीन नेकपा (माओवादी केन्द्र) ले ५ हजार ९ सय ९४ र एकीकृत समाजवादी पार्टीले १ हजार ३ सय ६ मत प्राप्त गरेको थियो । 

पाल्पा–२ अन्तर्गत तिनाउ गाउँपालिकाका ५ वडा, तानसेन नगरपालिकाका १३ वडा, माथागढीको १ नम्बर वडा, रैनादेवी छहरा र रिब्दीकोटका ८/८ वडा, बगनासकालीका ९ वडा गरी ४४ वडा पर्छन् । क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । उनका अनुसार ६६ मतदानस्थलमा १ सय ३४ मतदान केन्द्र रहेका छन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully