कांग्रेस, एमाले, नेकपा र रास्वपाले यसअघिका निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका उम्मेदवारलाई नै यसपटक पनि प्रतिस्पर्धामा उतारेका छन् ।
What you should know
दाङ — प्रतिनिधिसभा सदस्यका लागि दाङ–३ मा पुरानै नेताहरूबीच चुनावी प्रतिस्पर्धा देखिएको छ ।
विगतको मतका आधारमा मुख्य प्रतिस्पर्धी दल कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघिका निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका उम्मेदवारलाई नै यसपटक पनि प्रतिस्पर्धामा उतारेका छन् । सबै पार्टीका उम्मेदवारले यसअघिका निर्वाचनमा जनमतको परीक्षण गरिसकेका छन् ।
कांग्रेसबाट दीपक गिरी छैटौं पटक उम्मेदवार भएका छन् । उनी २०७० को संविधानसभा सदस्य निर्वाचन र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७० मा एमालेका उत्तरकुमार वली र २०७९ मा एमालेकी कोमल वलीलाई पराजित गरेका थिए ।
उनी २०५१, २०६४ र २०७४ मा यही क्षेत्रमा पराजित भएका थिए । उनी २०७० मा निर्वाचित भएपछि सिँचाइ मन्त्री भएका थिए । २०५१ मा एमालेका शंकर पोख्रेल, २०६४ मा माओवादीकी सुष्मा शर्मा घिमिरे र २०७४ मा एमालेका हीराचन्द्र केसीसँग पराजित भएका थिए ।
कांग्रेसले यस क्षेत्रमा तीन दशकदेखि एउटै व्यक्तिलाई उम्मेदवार बनाउँदै आएको छ । २०५६ मा मात्रै गेहेन्द्र गिरी उम्मेदवार भई निर्वाचित भएका थिए । अन्य सबै निर्वाचनमा दीपक गिरी नै उम्मेदवार हुँदै आएका छन् । उनले सिँचाइ मन्त्री हुँदा ल्याएका केही सिँचाइ परियोजनाले जनतामाझ राम्रै प्रभाव पारेको देखिन्छ । यस क्षेत्रमा कांग्रेसको राम्रै भोट बैंक रहे पनि परिवर्तन खोजिरहेका मतदातालाई उनले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न ठूलै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
एमालेबाट केन्द्रीय सदस्य घनश्याम पाण्डे उम्मेदवार भएका छन् । उनी २०५४ मा तुलसीपुर नगरपालिका उपप्रमुखमा निर्वाचित भएका थिए । २३ वर्षकै उमेरमा उपप्रमुख भएर उनी त्यतिबेला चर्चामा थिए । देशमा चलिरहेको सशस्त्र द्वन्द्वका कारण त्यसपछि २० वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन पाएन । अर्को निर्वाचन आउन ठिक २० वर्ष कुर्नुपर्यो । पाण्डे त्यो समय कुरे र २०७४ मा तुलसीपुर उपमहानगरपालिका प्रमुखमा निर्वाचित भए ।
त्यतिबेला उनले मेट्रो कलेज, मेट्रो हस्पिटल, कोरोना महामारीको सक्रिय प्रतिकार्य, व्यवस्थित नमुना बसपार्क, अटोभिलेज, तरकारी बजार, व्यावसायिक तुलसी ट्रेड टावर निर्माणजस्ता लोकप्रिय काम गरेका थिए । २०७९ मा उनी दाङ ३ (१) बाट कांग्रेसका डिल्लीबहादुर चौधरीसँग प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।
विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय पाण्डे हाल एमालेको केन्द्रीय सदस्य छन् । उनले सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय अध्यक्ष भई विश्वका विभिन्न देशमा नेपालको सामुदायिक वनको असल अभ्यासबारे ज्ञान फैलाउने काम गरेका छन् । प्रतिनिधिसभा सदस्यमा उनको पहिलो उम्मेदवारी हो । दुईपटक स्थानीय तहमा निर्वाचित भएर गरेका कामहरूको प्रभावबाट जनता सन्तुष्ट पार्न सकेकामा उनलाई मत प्राप्त गर्न सहज हुन सक्छ । पार्टीको सहमतिअनुसार जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्ति्रक पार्टीका उम्मेदवार घनश्याम डाँगीले पाण्डेलाई समर्थन गरेका कारण उनलाई मत थप्न सहज हुने देखिन्छ ।
नवयुवा मतदाताले नयाँ उम्मेदवार खोजिरहेका बेला उनलाई प्रतिनिधिसभा सदस्यका लागि नयाँ उम्मेदवार भएको भनेर आफ्नो पक्षमा मत बढाउने अवसर छ । विगतमा जनप्रतिनिधि हुँदा जनताको अपेक्षाअनुसार हुन नसकेका कामहरूका प्रश्नले भने उनलाई रक्षात्मक बनाउन सक्छन् ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ यस क्षेत्रमा कांग्रेस र एमालेको मत नजिक छ । कांग्रेसको २६ हजार ५ सय ७५ छ भने एमालेको २६ हजार १ सय १७ छ । यस मतलाई हेर्दा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले देखिन्छन् तर अहिले त्यो बेलाको मत त्यसैगरी सुरक्षित छ कि छैन भन्ने प्रश्न मुख्य चुनौतीको विषय बनेको छ । नवयुवा आन्दोलनसँगै एमाले नेतृत्वमाथि उठ्ने प्रश्न र गगन थापाको नेतृत्वसँगै फेरिएको भनिएको कांग्रेसले पनि पुरानै उम्मेदवार दिएको विषय पुराना दुई ठूला दलका लागि मुख्य खड्किने विषय बन्न सक्छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर मास्की प्रतिस्पर्धामा छन् । उनी प्रदेशसभा सदस्यबाट राजिनामा दिएर निर्वाचनमा होमिएका हुन् । मास्की २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा दाङ ३ (२) बाट २२ हजार ३ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका थिए । त्यतिबेला उनी लुम्बिनी प्रदेशको अर्थमन्त्रीसमेत भएका थिए ।
उनी २०७९ मा कांग्रेस, जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको गठबन्धनबाट निर्वाचित भएका थिए । उनले प्रतिनिधित्व गर्ने पार्टी माओवादी केन्द्रले समानुपातिकतर्फ १० हजार ९ सय २६ मत प्राप्त गरेको थियो । अहिले उनको पार्टी विभाजन भएर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्ति्रक पार्टी बनेको छ । केही मत त्यता विभाजन भएको छ । यसले पनि उनलाई असर गर्ने देखिन्छ तर पनि उनले प्रदेशको अर्थमन्त्री हुँदा गरेका कामहरूका साथै उनको सक्रियताबाट मतदाता प्रभावित भएको देखिन्छ । यसले उनी पनि निकट प्रतिस्पर्धी बन्न सक्ने सम्भावनालाई बल दिएको छ ।
भइरहेको प्रदेशसभा सदस्यको पद त्यागेर चुनावी मैदानमा उत्रिएका कारण उनलाई अर्को लाभको पद प्राप्त गर्नुपर्ने दबाब पनि त्यत्तिकै छ । जनताले पाँच वर्षका लागि चुनेको पद बीचमै त्याग्नुको औचित्य पुष्टि गर्नुपर्ने थप दायित्व पनि उनको काँधमा छ ।
राष्टि्रय स्वतन्त्र पार्टी (रास्वपा) बाट कमल सुवेदी प्रतिस्पर्धामा छन् । उनी २०७९ को निर्वाचनमा क्षेत्र नं ३ मै रास्वपाबाट उम्मेदवार भई १५ हजार ३ सय २६ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रबाट माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतको गठबन्धनका उम्मेदवार कांग्रेस नेता दीपक गिरी ३६ हजार ९ सय ११ मतका साथ विजयी भएका थिए ।
रास्वपाले त्यतिबेला समानुपातिकमा माओवादी केन्द्रभन्दा बढी मत प्राप्त गरी तेस्रो स्थान कायम गरेको थियो । रास्वपाले १५ हजार ४ सय १० मत समानुपातिकमा प्राप्त गरेको थियो । यो मतलाई बचाउँदै अहिलेको नयाँ पार्टी र नयाँ उम्मेदवारको लहरबाट लाभ लिन सकेमा सुवेदी बलियो प्रतिस्पर्धी हुन सक्छन् । निर्वाचनमा दोस्रो पटक सहभागी भए पनि निर्वाचित भएर काम गर्न नपाएका कारण नयाँ अनुहारको परिभाषामा पर्न उनलाई सहज छ । पुराना पार्टीका पुराना नेताको औचित्यमाथि उठिरहेका प्रश्न उनका लागि मतदाता तान्ने आधार हुन सक्छन् ।
अन्य पुराना पार्टी जस्तो आफ्नै व्यापक संगठन नभएका कारण अन्य दलका मतहरू चोर्नु भने उनका लागि पनि चुनौती नै छ । पार्टी सभापतिको सहकारी मुद्दासँगै पार्टीमाथि उठ्ने सुशासनका प्रश्नको सामना गर्नुपर्ने चुनौती पनि त्यत्तिकै छ । सुवेदी यसअघि युवा गैरसरकारी संस्था महासंघको केन्द्रीय अध्यक्ष भई सामाजिक क्षेत्रमा क्रियाशील थिए । त्यसको फाइदा पनि उनले निर्वाचनमा लिन सक्छन् । स्वतन्त्र पार्टीमा जोडिएपछि उनले पहिलोपटक नै सांसदको टिकट पाएका थिए । अहिले दोस्रोपटक पनि टिकट पाउनु उनका लागि ठूलो अवसर हो । यस अवसरलाई निर्वाचनमा उपयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उनको आगामी राजनीतिक यात्राका लागि अर्थपूर्ण हुन सक्छ ।
यसपटकको निर्वाचनमा पहिलोपटक नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पनि प्रतिस्पर्धामा छ । लामो समय जिल्लामा नेतृत्व गरेका बलबहादुर वली चुनावी मैदानमा छन् । राष्टि्रय प्रजातन्त्र पार्टीबाट दामोदर भण्डारी, राष्टि्रय जनमोर्चाबाट कमला जीसी, मंगोल नेसनल अर्गनाइजेसनबाट घनश्याम चौधरी र मितेरी पार्टी नेपालबाट सन्तोष सिंह उम्मेदवार छन् ।
यस्तै जनता समाजवादी पार्टीबाट शोभा डाँगी, आमजनता पार्टीबाट पाण्डवी नेपाली, नेसनल रिपब्लिकन नेपालबाट प्रीतम चौधरी, संयुक्त नागरिक पार्टीबाट दलवीर कामी, श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतारा र नागरिक उन्मुक्ति पार्टीबाट महेश चौधरीका साथै यहाँ नौ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
