भदौ २४ मा सिंहदबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी चौकी जल्दा सपना पनि जलेको भन्दै जीवनका उत्तरार्धमा चुनावी प्रतिस्पर्धा गरिरहेको बताउँदै देश र संविधानको रक्षाका लागि आफ्नो दललाई मत दिन आग्रह गरेका छन् ।
What you should know
काठमाडौँ — निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावनाका साथ पार्टीको पक्षमा मतदानका लागि भिडियोमार्फत आहृवान गरेका छन् । भदौ २४ मा सिंहदबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी चौकी जल्दा सपना पनि जलेको भन्दै जीवनका उत्तरार्धमा चुनावी प्रतिस्पर्धा गरिरहेको बताउँदै देश र संविधानको रक्षाका लागि आफ्नो दललाई मत दिन आग्रह गरेका छन् ।
‘मैले राष्ट्रको पक्षमा निर्णय गरे भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् । यसै पनि मेरा त बाँच्ने दिन, बाँचिसकेका दिनभन्दा कम छन् । तर म बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरुका लागि लड्दै छु । त्यसैले मैले देश पहिले भन्दै आएको छु । अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ,’ उनको भनाइ छ, ‘देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो । र, देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । संविधान बचे मात्र तपाईंको अधिकार बच्छ ।’
निर्वाचनबाट संविधानको रक्षा गर्ने ग्यारेन्टी चाहिएको उनको भनाइ छ । ‘बोल्ने अधिकार, बाँच्ने अधिकार, न्याय पाउने अधिकार र आफ्नो मतको अधिकार । आज हामीलाई संविधान नहल्लिने, नियम नमिच्ने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ । त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ,’ ओलीको थप भनाइ छ, ‘देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो । सिंहदरबार अदालत संसद्, सडक सरकारी कार्यालय प्रहरी चौकी सुरक्षा निकाय यी सबै तपाईंको कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन, तपाईंको सपना पनि जल्छ, जलेको छ । आज हामीलाई अब यी कहिले नजल्ने ग्यारेन्टी चाहिएको छ ।’
उनले देश पहिले भनेको राष्ट्रिय स्वाधीनता र स्वाभिमान पहिले भनेको उल्लेख गर्दै ’आफ्नो माटो, आफनो सिमा, आफ्नो पहिचान यी सबैमा गर्व गर्ने शक्ति नै हाम्रो आत्मबल’ भएको बताएका छन् । ‘त्यसैले आज हामीलाई आफ्नो स्वाभिमान नचुक्ने ग्यारेन्टी चाहिएको छ,’ उनको भनाइ छ, ‘त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।’
जिन्दगीको अन्तिम मोडमा उभिएर आफूले राष्ट्रको पक्षमा बोल्नु कर्तव्य भएको ओलीको भनाइ छ । ‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा? यतिबेला तपाईंले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैंले आफैंलाई कहिले माफ गर्नुहुने छैन । इतिहासले धिक्कारेको कुरा आफैंले त कसैले देख्दैन,’ उनले थपे, ‘तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हात खुट्टा जुरुक्क उठाउनुपर्थ्यो कि पर्दैन थियो भनेर आफैंलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् ।’
