जेन-जीको मर्म बुझेर कांग्रेसले युवा उम्मेदवार बनाएको छ : उपसभापति भुसाल 

भुसालले भनिन्, ‘गगन थापाको नेतृत्वमा परिवर्तन भएर आएको नेपाली कांग्रेसको देशभरि नै माहोल आएको छ ।’

फाल्गुन १७, २०८२

माधव अर्याल

Congress has selected young candidates by understanding the essence of Gen-G: Vice President Bhusal

What you should know

पाल्पा — कांग्रेस उपसभापति पुष्पा भुसालले जेन-जीको मर्म बुझेर कांग्रेसले युवालाई उम्मेदवार बनाएको बताएकी छन् । उनले मुलुकभर १ सय ६ जनालाई कांग्रेसले नयाँ तथा युवा उम्मेदवार बनाएकाले मतदाताको रोजाइमा पर्नेमा आफू ढुक्क भएको बताइन् । 

पाल्पाको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार सन्दीप रानाको चुनावी अभियानमा सहभागी हुँदै भुसालले भनिन्, ‘गगन थापाको नेतृत्वमा परिवर्तन भएर आएको नेपाली कांग्रेसको देशभरि नै माहोल आएको छ ।’ उनले मुलुकको समृद्धिसँगै युवा, महिला, जनजाति र दलित समुदायको सपना अब कांग्रेसले पूरा गर्ने बताइन् । 

पाल्पाका २ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जेन-जीको मर्मलाई बुझेर युवा उम्मेदवार बनाएको बताउँदै पहिलो पटक संसद् निर्वाचनमा फ्रेस युवालाई कांग्रेसले अगाडि सारेको बताइन् । उपसभापति भुसालले पाल्पा-१, उम्मेदवार सन्दीप राना ठूलो जिम्मेवारी लिन सक्ने युवा भएको समेत बताइन् । 

उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न मतदातालाई उनले आग्रह गरिन् । ‘आफ्नो ठाउँ र भविष्य हामी आफैं बनाउने हो,’ उनले भनिन्, ‘पाल्पाली मतदाताले भविष्य बोकेका युवा उम्मेदवारलाई मत दिएर संसद्‍मा पुर्‍याउनुपर्छ ।’ उनले पछिल्लो पटक कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न सक्ने पार्टी भएको बताइन् । 

कांग्रेसको विशेष महाधिवेशनले आफूलाई उपसभापतिको जिम्मेवारी दिएर महिलाहरूको सम्मान गरेको उनको भनाइ छ । ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतान्त्रिक अभ्यास अनुसार देश चलाउनुपर्छ,’ उनले भनिन्, ‘पाल्पाका नागरिकले आफनो मतदानबाट कांग्रेस उम्मेदवारलाई जिताएर देशको विकासमा साथ दिन सक्नुहुन्छ ।’ देश परिवेश र भूगोल जानेको पाल्पाली र नेपालीलाई परेको बेला साथ दिइरहेको रानालाई संसद्‍मा लानुको विकल्प नभएको उनले बताइन् । 

उम्मेदवार रानाले जनताको माया र ममता पाएको अब मतदानबाट पनि आफूलाई नै रोज्नेमा विश्वस्त रहेको बताए । ‘मेरा संकल्प र प्रतिज्ञाबाट मतदाता उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले पनि मतदानबाट मलाई विजयी बनाउनुहुन्छ भन्ने लागेको छ ।’ विगत ३१ वर्षदेखि पाल्पा क्षेत्र नम्बर १ माएमाले विजयी हुँदै आएको र यसपटक मत फेर्नेमा आफू ढुक्क भएको उनले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully