निर्वाचन नजिकिँदै गर्दा दल हेरफेरले कोही उम्मेवार हौसिँदै, कोही दबाबमा

दल हेरफेरले प्रतिस्पर्धा रोचक, आफ्नै दलभित्रबाट उम्मेदवारलाई चुनौती ।

फाल्गुन १७, २०८२

लक्ष्मी साह

As the election approaches, some candidates are cheering, others are under pressure due to party changes.

What you should know

बारा — कांग्रेस सभापति गगन थापाले शनिबार बाराको निर्वाचन क्षेत्र नम्बर १ को कोल्हवीमा चुनावी सभालाई सम्बोधन गरे । सोही क्रममा तत्कालीन माओवादीबाट २०७९ मा आदर्शकोतवाल गाउँपालिकामा अध्यक्षका प्रत्यासी अताउल अन्सारी र उनका केही समर्थकलाई पार्टी प्रवेश गराए । ‘प्रवेशले मलाई ऊर्जा मिलेको छ,’ नवप्रवेशी अन्सारीले भने । उनको प्रवेशले उक्त क्षेत्रका कांग्रेस उम्मेदवार शम्भुबहादुर बुढाथोकीलाई बल पुगेको छ । 

अन्सारीले त्यतिबेला १ हजार ८ सय ४० मत पाएका थिए । त्यसैले दक्षिणी क्षेत्रमा उनको मतको ‘ग्राफ’ बढ्न सक्ने आशमा बुढाथोकी हौसिएका हुन् भने नेकपाका उम्मेदवार सन्तोष दंगाल दबाबमा परेको देखिन्छन् । नेकपाका अन्सारीको प्रवेशले आफ्नो जितका लागि आधार बनेको उम्मेदवार बुढाथोकीले बताए । यसैगरी नेकपाका उम्मेदवार दंगालले अन्सारीले पार्टी छोडे पनि आफूलाई खासै असर गर्न नसक्ने दाबी गरे । 

निर्वाचन क्षेत्र नम्बर २ का जसपा नेपालका तत्कालीन जिल्ला अध्यक्ष धरमवीर यादव राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । झापा पुगेर पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसित भेटघाट गरेर आफ्ना समर्थक र जसपाका तत्कालीन कैयन् कार्यकर्तासहित उनी पार्टी प्रवेश गरेका हुन् । २०८२ वैशाखमा जसपाको जिल्ला अधिवेशन हुँदा यादव दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिए । तर उनी रमेश यादवसित पराजित भए ।

यादवले यस क्षेत्रको तत्कालीन संघीय सांसद तथा बहालवाला उपराष्ट्रपति रामसहाय यादवलाई जिताउनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । रामहसहाय उपराष्ट्रपति भएपछि उपचुनावमा पार्टी अध्यक्ष उपेन्द्र यादव लोकतान्त्रिक गठबन्धनबाट उठेपछि उनलाई समेत जिताउन उनी सक्रिय थिए । उनको रास्वपा प्रवेशले कतिपय कार्यकर्ता छिन्नभिन्न भए । उनको रास्वपा प्रवेशले तत्कालीन लोसपाबाट देवताल गाउँपालिकाका अध्यक्षसमेत भइसकेका रास्वपाका नवप्रवेशी यसै क्षेत्रका रास्वपा उम्मेदवार चन्दन सिंहले आफूलाई सहज महसुस गरेका छन् । लोसपाका केन्द्रीय नेता श्याम गुप्तासमेत रास्वपा प्रवेश गरेका छन् ।

रास्वपा उम्मेदवार सिंहले भने, ‘धरमवीरको प्रवेश र मलाई समर्थनले बलियो जनाधार तयार भएको छ ।’ यसै क्षेत्रका जसपा नेपालका उम्मेदवार रामकिशोर यादवले आफूलाई त्यसले फरक नपर्ने बताए । धरमवीरले पार्टी नेतृत्वको काखापाखा रवैयाले आफू रास्वपामा प्रवेश गरेको बताए ।

चुनावी दौरान र चुनाव नजिकिँदै गर्दा राजनीतिक दल हेरफेर गर्ने यी दुवै पात्र जिल्लाका ४ वटै क्षेत्रमध्येका उदाहरण हुन् । उनीहरूजस्ता धेरैले दल हेरफेर गरेर कोही यता त कोही उता भएका छन् । दल हेरफेर र नेता कार्यकर्ता यताउति भएपछि कोही उम्मेदवारले सहज महसुस गरी हौसिरहेका छन् भने कोही उम्मेदवार दबाबमा परिरहेका छन् । हेरफेरले मतदातामा सहज र चुनौती देखिएको छ । 

जिल्लामा दल हेरफेरसँगै फरक पार्टी प्रवेशको लहरले कडा र रोचक प्रतिस्पर्धा भइरहेको छ । कहिले यता र कहिले उता गर्दा प्रतिस्पर्धा रोचक भइरहेको हो । ग्रासरुटमा हेरफेरले मतको ग्राफ घटबढ भइरहेको त्यस क्षेत्रका मतदाताले बताए । कार्यकर्ता सम्हाल्दै आन्तिरक रूपमा निराश बनिरहेका छन् । पार्टीको एक्लो र गठबन्धनबिना खर्च व्यवस्थापन गर्नसमेत अप्ठयारो भइरहेको छ । जित्ने दाउमा रहेकाहरूले प्रलोभन दिएर तानिरहेका छन् । कार्यकर्ता र नेताहरूको तानातान चलिरहेको छ । 

आफ्नै दलभित्रबाट चुनौती

जिल्लाको कोल्हवी र प्रसौनीमा कांग्रेस सभापति गगन थापाको चुनावी सभाको क्रममा पार्टीका तत्कालीन सहमहामन्त्री उमाकान्त चौधरीसहित पार्टीका जिल्ला अध्यक्ष राजेश रायको उपस्थिति देखिएन । चौधरीको कोल्हवी क्षेत्रमा आफ्नो समुदायमा बलियो पकड मानिन्छ । चौधरी र यादव दुवै देउवा पक्षीय हुन् । चौधरीको क्षेत्र नम्बर १ बाट नामसमेत सिफारिस भएको थियो । तर उनले टिकट पाएनन् । उनी यस क्षेत्रबाट पटक–पटक जितेर मन्त्रीसमेत भइसकेका हुन् । उनले टिकट नपाएर भित्री रूपमा असन्तुष्ट रहेको उनी निकटका कार्यकर्ता बताउँछन् । विशेष महाधिवेशनले पार्टीभित्रको किचलो भएपछि कतिपय नेता–कार्यकर्ता असन्तुष्ट छन् ।

यसैगरी जिल्ला पार्टी सभापति यादवका पिता राधेचन्द यादव (पार्टीका तत्कालीन केन्द्रीय सदस्य)लाई क्षेत्र नम्बर २ बाट विशेष महाधिवेशनअघि एकल नाम सिफारिस भए पनि उनले टिकट नपाएपछि उनका परिवार असन्तुष्ट छन् । राधेचन्दको पनि कहीँकतै उपस्थिति देखिएन । नेकपा एमालेमा पनि यो प्रवृत्ति भित्री रूपमा देखिएको छ । पार्टीको महाधिवेशनपछि नेताहरूमा चिसोपन बढेपछि उम्मेदवारमा हौसिएको वातावरणमा कमी देखिएको छ । 

रास्वपा नेतृ ममता शर्मा र जिल्ला संगठन प्रमुख उपसचिव पवन चौधरीको रास्वपा त्यागले रास्वपाका उम्मेदवारलाई समेत चुनौती थपिएको छ । यसरी पार्टीभित्रैबाट समेत दलका उम्मेदवारलाई चुनौती थपिएको छ । ‘दल हेरफेर र दलभित्रैको चुनौतीसँगै यसले मतको अंकगणित कतै बढिरहेको छ भने कसैको घटिरहेको छ,’ सिम्रौनगढ नगरपालिका–११ का कांग्रेस कार्यकर्ता मदन पटेलले भने, ‘कतिपय पार्टीमा आफ्नै दलका नेताबाट उम्मेदवार दबाबमा परिरहेका छन् ।’

जिल्लाका कतिपय उम्मेदवारले आफ्ना संगठन ‘ग्रास रूट’सम्म भएकाले भोट बैंकको ग्राफ तलमाथि नहुने दाबी गर्छन् । तर भित्री रूपमा कोही उम्मेदवार भने जितका लागि ढुक्क देखिँदैनन् । संगठन मजबुत भएका र पार्टीप्रतिको प्रतिबद्धताले खासै चुनौती नदेखिएको एमालेका सिम्रौनगढ नगर कमिटीका उपाध्यक्षसमेत रहेका एमाले स्थानीय नेता रामेश्वर यादवले बताए । 

औपचारिक रूपमा भाषण, कार्यकर्ता भेटघाट र सञ्चारकर्मीसित कुरा गर्दा जित्ने दाबी गरे पनि आन्तरिक रूपमा चुनौती खेपिरहेका छन् । कतिपय उम्मेदवारहरू अप्ठेरोमा परेको देखिन्छ । केवल प्रतिनिधि सभा मात्र चुनाव र यसपालि कतै कोहीसँग गठबन्धन नभएर पनि उनीहरू जनाधार र समर्थनको दृष्टिकोणले उम्मेदवारहरू अप्ठ्यारो महसुस गरिरहेका छन् । मुख्य प्रतिस्पर्धी दलहरूले भने आ–आफ्नै जित्ने दाबी गर्दै आइरहेका छन् ।

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully