चुनावमा सर्लाही ल्याउन जोडबल गरेका पार्टीका नेता, कार्यकर्ताले भनेजस्तो सहजै जित्ने स्थिति नदेखेपछि थापाले अधिकांश समय मतदाता भेटघाटमा बिताइरहेका छन्।
What you should know
मलंगवा, सर्लाही — कांग्रेस सभापति गगन थापाको मुकाम पछिल्लो समय सर्लाही बनेको छ । अन्त कतै चुनावी सभालाई सम्बोधन गर्न जानुपरे पनि साँझ बास बस्न सर्लाही आइपुग्छन् । समय निस्केसम्म घरदैलो भ्याउँछन् । आफ्नो क्षेत्र नछाड्ने र बाहिरी जिल्लाका सभालाई सम्बोधन पनि गर्ने भनेर थापाले हेलिकोप्टर प्रयोग गर्न थालेका छन् ।
सर्लाही–४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा शुक्रबार बिहानसम्म घरदैलोमै थिए । तर दिउँसो हेलिकोप्टर चढेर बुटवल पुगे, त्यहाँको चुनावी सभालाई सम्बोधन गरे । त्यसपछि कपिलवस्तु, पोखरा र बागलुङको सभा पनि भ्याए । साँझ सर्लाही नै आइपुगे ।
थापाले बिहीबार सुर्खेत र नेपालगन्जको चुनावी सभालाई सम्बोधन गरेका थिए । बुधबार अबेरसम्म सर्लाहीमा घरदैलो गरेर साँझ उनी काठमाडौंमा बास बसेका थिए । उतैबाट सुर्खेत पुगेका उनी नेपालगन्जपछि साँझ सर्लाही आइपुगेका थिए ।
चुनावमा सर्लाही ल्याउन जोडबल गरेका पार्टीका नेता, कार्यकर्ताले भनेजस्तो सहजै जित्ने स्थिति नदेखेपछि थापाले अधिकांश समय मतदाता भेटघाटमा बिताइरहेका छन् । ‘सहजै जित निस्किन्छ, थोरै समय दिए पुग्छ भनिएको थियो,’ थापा टिमका एक सदस्यले भने, ‘यहाँ आएपछि परिस्थिति भिन्न देखियो । जसले बोलाएर ल्यायो, उसैप्रति पार्टी कार्यकर्ता तथा मतदाताको टिप्पणी सकारात्मक देखिएन ।’
ती सदस्यका अनुसार सुरुमा देशभर पार्टीका उम्मेदवारलाई जिताउने जिम्मेवारी रहेकाले थापाले आफ्नो क्षेत्रमा थोरै समय दिएर बाँकी समय अन्यत्रमा लाग्ने योजना थियो । सर्लाहीबाट मनोनयनका लागि आग्रह गर्ने नेताहरूले पार्टीको पकड र संगठन राम्रो रहेकाले यहाँ सात दिन समय दिए पुग्ने भनेका थिए । तर परिस्थिति भिन्न देखिएपछि थापाले रणनीति बदल्नुपरेको ती सदस्यले बताए । अहिले सर्लाहीबाटै कार्यक्रममा पुग्ने र पुनः यतै फर्किने गरी उनका कार्यक्रम बनाउने गरिएको छ ।
सहरी क्षेत्रबाट मधेशको ग्रामीण भेगसम्मका युवामाझ ‘घन्टी’ को हावा आइसकेको महसुस गरेपछि थापाले निर्वाचन क्षेत्र नछोड्ने रणनीति लिएका हुन् । ७ फागुनयता उनी बढीजसो समय सर्लाहीमै छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका ५१ वटै वडामा घरदैलो गरिसकेका छन् । छिटपुट कुनै–कुनै टोल बाँकी छन् ।
उम्मेदवारलाई भेट्ने, उम्मेदवार भोट माग्न आए कि आएनन् भन्ने विषयलाई महत्त्व दिने मतदाताको मनोविज्ञान बुझेपछि थापाले घरदैलोलाई प्राथमिकतामा राखेको स्थानीय नेताको भनाइ छ । मतदाताले उम्मेदवारलाई देख्न, भेट्न तथा कुराकानी गर्न चाहने कांग्रेस नेता कौशलकिशोर सिंह बताउँछन् । ‘उम्मेदवारले मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दा बढी प्रभावकारी हुने देखिएको छ,’ उनी भन्छन्, ‘सभापति समय मिलाएर बाहिरी जिल्लाका कार्यक्रमलाई पनि सम्बोधन गर्न गइराख्नुभएको छ ।’
७ फागुनमा सर्लाही आएयता थापा सबैजसो दिन मतदातामाझ छन्, उम्मेदवार भोट माग्न आए कि आएनन् भन्ने हेर्ने मनोविज्ञान मतदाताको पाएपछि गगनले घरदैलोलाई प्राथमिकतामा राखेका हुन्।प्रतिस्पर्धी उम्मेदवार रास्वपाका अमरेशकुमार सिंह, एमालेका अमनिशकुमार यादव, जनमतका राकेशकुमार मिश्र, जसपाका रामेश्वर राय यादवदेखि नेकपाका रजनीश रायसम्म दोहोर्याई तेहर्याई वडा–वडा पुगिरहेका छन् । यस क्षेत्रमा ३९ उम्मेदवार छन् । तर चर्चामा कांग्रेसका थापा, रास्वपाका सिंह र एमालेका यादव छन् ।
रास्वपाका सिंह यस क्षेत्रबाट लगातार तीन पटक जितेका नेता हुन् । २०६३ मा पुनःस्थापित अन्तरिम संसद्मा मनोनीत भएका थिए । २०७० यता लगातार सांसद रहेका उनले यसपालि ‘जितेर जाने तर त्यसपछि फोनसम्म नउठाउने’ प्रश्न सामना गरिरहनुपरेको छ । त्यसमाथि कांग्रेस सभापति थापा नै यस क्षेत्रबाट उम्मेदवार बनेपछि सिंहले बढी चुनौती महसुस गरेको देखिन्छ ।
सिंह निर्वाचन चिह्न ‘घन्टी’ लाई भने बलियो सहाराका रूपमा लिएका छन् । उनी उम्मेदवारीको पूर्वसन्ध्यामा मात्र रास्वपा प्रवेश गरेका हुन् । उनले २०७९ मा स्वतन्त्र उम्मेदवारी जितेर चनुाव जितेका थिए । त्यसअघि उनी कांग्रेसमा थिए ।
सिंह रुष्ट मतदातासँग माफी माग्न अग्रसर देखिएका छन् । उनी सार्वजनिक कार्यक्रममार्फत तथा व्यक्तिगत भेटघाटमा पनि अप्ठ्यारो नमानी मतदातासँग माफी मागिरहेका भेटिन्छन् । इलाका प्रशासनलगायत कार्यालय रहने गरी सेवा केन्द्र बलरा पुर्याएकामा गोडैता, धनकौललगायतका बासिन्दाको असन्तुष्टि सिंहप्रति छ । तसर्थ यस विषयमा मतदाताले उनीसँग प्रश्न गरिरहेका छन् ।
तीन पटक जिताएर पठाएका जनताले प्रश्न गर्नु स्वाभाविक रहेको गोडैताका जुगल दास बताउँछन् । ‘नयाँको नारा दिए पनि अमरेशजी क्षेत्रका लागि पुरानै हुनुहुन्छ । तीन पटक जितेर गएपछि के गर्नुभयो ? सम्पर्क गर्न खोज्दा फोन पनि उठाउनुभएन,’ उनले भने । आफ्नो वाक् कौशलता तथा नरम व्यवहारसाथ रुष्ट मतदातालाई फकाउने प्रयासमा उनी लागिरहेको दासको भनाइ छ । ‘यस पटक उनी कमजोर उम्मेदवार हुन्थे । तर बालेन (बालेन्द्र शाह) तथा घन्टीको हात समाएकाले प्रतिस्पर्धामा छन्,’ उनले भने, ‘यहाँ कांग्रेस र रास्वपाबीच नै प्रतिस्पर्धा छ ।’
सिंहले रास्वपा वरिष्ठ नेता शाह चुनावपछि प्रधानमन्त्री हुने भन्दै मत मागिरहेका छन् । मधेशीको छोरा पहिलो पटक प्रधानमन्त्री हुने विषयलाई उनले मत माग्ने मुख्य आधार बनाएका हुन् । विगतमा महन्थ ठाकुरलाई चुनाव हराएको, पार्टीले टिकट नदिँदा स्वतन्त्रबाट उठेर पनि जितेपछि उनले आफूलाई अरू सबैभन्दा बलियो उम्मेदवार ठान्दै आएका छन् । तर रास्वपाको देशव्यापी देखिएको लहरबाहेक यस पटक उनलाई जितका लागि अन्य सहयोगी पक्ष त्यति देखिन्नन् ।
यस क्षेत्रमा रास्वपाको सांगठनिक शक्ति छैन । कांग्रेसमा हुँदा वा स्वतन्त्र उम्मेदवार रहँदा उनलाई साथ दिएकाहरू कांग्रेसमै फर्किएका छन् । क्षेत्रमा जसपा, एमाले र नेकपा त्यागेर कांग्रेसमा प्रवेश क्रम चलिरहँदा सिंहलाई सघाउन कोही प्रभावशाली राजनीतिक कार्यकर्ता रास्वपा प्रवेश गरेको पाइँदैन । जितेर गएपछि मतदाताको सम्पर्कमा नरहँदा चिढिएका समर्थक, पुराना साथीले साथ छाड्नु र संगठनविहीन पार्टीको टिकटबाट चुनाव उठ्नु उनका लागि चुनौतीपूर्ण बनेको छ ।
विगतदेखि नै एमाले कमजोर मानिएको क्षेत्र हो यो । २०७४ र २०७९ मा यहाँबाट एमालेको उम्मेदवारी नै थिएन । २०६४ र २०७० को संविधानसभामा भने एमालेले उम्मेदवारी दिएको थियो । पहिलो संविधानसभामा एमालेका उम्मेदवारले १ हजार ६ सय ६५ र दोस्रोमा २ सय ९१ मात्र मत ल्याएका थिए ।
यसपटक भने एमाले मुख्य प्रतिस्पर्धीकै रूपमा चर्चामा छ । कारण हो, पूर्वसभासद शिवपूजन राय यादव । उनले छोरा अमनिशलाई एमालेबाट उम्मेदवार बनाएका छन् । २०६४ को संविधानसभा निर्वाचनदेखि आफैं वा परिवारका सदस्यलाई उनले उम्मेदवार बनाउँदै आएका छन् । तर फरक–फरक पार्टीबाट ।
कूटनीतिक राहदानी दुरुपयोग मुद्दामा कसुरदार ठहरिएकाले शिवपूजनले आफैं उम्मेदवार हुन नपाएपछि गत चुनावमा छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्रबाट उम्मेदवार बनाएका थिए । त्यति बेला उनी माओवादीमा आबद्ध थिए । गत चुनावमा कांग्रेस, माओवादी र लोसपासहितको गठबन्धनबाट यस क्षेत्रबाट कांग्रेसका नागेन्द्रकुमार राय चुनाव उठेका थिए । राय पराजित भए, स्वतन्त्र उम्मेदवार सिंह विजयी भए ।
गठबन्धनको निर्णय नमानेर तथा छोरीको उम्मेदवारी फिर्ता नलिएर शिवपूजनले सिंहलाई सघाएको आरोप छ । तर सिंहसँग शिवपूजनको मित्रवत् व्यवहार कहिल्यै देखिएको छैन । गठबन्धनको निर्णय नमाने पनि उनी माओवादीबाट पुरस्कृत नै भए । र, उनकी पत्नी मीना समानुपातिकबाट सांसद बनिन् ।
आफूले ज्यान मुद्दादेखि राहदानी कसुरको मुद्दा सिंहकै कारण बेहोर्नुपरेको शिवपूजनको दाबी छ । पुष्पकमल दाहालसँगको व्यक्तिगत सम्बन्धको लाभ सिंहले २०६३ देखि नै पाइरहेका छन् । कांग्रेसमा रहेर पनि उनले सबैभन्दा बढी लाभ दाहालसँग उठाउँदै आएको टिप्पणी यस क्षेत्रमा सुनिन्छ । अन्तरिम संसद्मा मनोनीत गराएर सांसद बनाउनेदेखि हरेक चुनावमा माओवादी ‘सुप्रिमो’को सहयोग सिंहले पाएको क्षेत्रका नेकपाका एक समर्थकले जनाए । यस पटक भने दाहालसँगको सम्बन्धमा खटपट आएको बुझिएको छ ।
सार्वजनिक कार्यक्रम होस् या व्यक्तिगत भेटघाट– सबैतिर अप्ठ्यारो नमानी मतदातासँग माफी मागिरहेका भेटिन्छन् अमरेश।शिवपूजनले एमालेको साथ लिएपछि क्षेत्रमा कमजोर मानिएको नेकपाको सहयोग लिन सिंहले प्रयास नगरेका होइनन् । तर दाहालका तर्फबाट सकारात्मक संकेत नपाएको नेकपाका नेताको दाबी छ । शिवपूजनको बहिर्गमन तथा केही पूर्वमाओवादी कार्यकर्ता अन्य पार्टीमा गइसकेकाले नेकपा प्रतिस्पर्धामा भने कमजोर मानिएको छ ।
२०६२/६३ को आन्दोलन पछाडि सर्लाहीको राजनीतिमा उदाएका दुई पात्र हुन्– अमरेशकुमार सिंह र शिवपूजन राय यादव । तत्कालीन सात दल र सशस्त्र द्वन्द्वमा रहेका माओवादीबीच १२ बुँदे सहमति गराउने कार्यमा सिंहले समेत भूमिका खेलेको मानिन्छ । अध्यापन पेसामा संलग्न उनी कांग्रेसमा महन्थ ठाकुर र कृष्ण सिटौलानिकट मानिन्थे । २०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि दुवै प्रतिस्पर्धी छन् । त्यस अगाडिका तीन चुनावसम्म ठाकुरको एकछत्र थियो । ठाकुरले २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचन तत्कालीन सर्लाही–५ बाट जितेका थिए ।
पहिलो संविधानसभा निर्वाचनपूर्व निर्वाचन क्षेत्रको संख्या २ सय ५ लाई बढाएर २ सय ४० पुर्याइयो । साबिकको सर्लाही–५ सर्लाही–६ हुन पुग्यो । पहिलो संविधानसभा निर्वाचनमा त्यस क्षेत्रबाट तमलोपा अध्यक्षको हैसियतमा ठाकुरले उम्मेदवारी दिए । उनलाई चुनौती दिन कांग्रेसबाट सिंहलाई अगाडि सारियो । त्यही बेला तेस्रो पात्र शिवपूजन राय यादव अगाडि आए । उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले उनलाई उम्मेदवार बनायो ।
त्यति बेला मधेश आन्दोलनको रापताप थियो । लगातार चुनाव जित्दै आएकाले क्षेत्रमा ठाकुरको पकड थियो । धेरैले उनी जित्ने अपेक्षा राखेका थिए । तर, जित हात लाग्यो शिवपूजनलाई । २ सय ७२ मतान्तरले ठाकुरलाई पराजित गरेका थिए । यादवले १५ हजार ६ सय ८८ र ठाकुरले १५ हजार ४ सय १६ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका सिंहले ११ हजार ९ सय ७१ मत ल्याएका थिए ।
संसद् सदस्य भएको तीन वर्ष पनि नपुग्दै यादवलाई कूटनीतिक राहदानी दुरुपयोगको मुद्दा लाग्यो र उनी निलम्बित भए । सर्वोच्चबाट दोषी ठहर भए । त्यसयता दोहोर्याएर उनी संसद् प्रवेश गर्न पाएका छैनन् । तर राजनीतिको चर्चामा रहन्छन् । दोस्रो संविधानसभासम्म आइपुग्दा उनले पार्टी बदलिसकेका थिए । ठाकुर नेतृत्वको तमलोपाबाट महेन्द्र राय यादवले नेतृत्व गरेर फुटाएको तराई मधेश सद्भावना पार्टीबाट उनी उम्मेदवार भए । ठाकुर तमलोपा र सिंह कांग्रेसबाट । सिंह विजयी भए ।
निर्वाचन क्षेत्र ५ र ६ हुँदै २०७४ को चुनावमा सिमानामा केही हेरफेर भएर उक्त क्षेत्र ४ भयो । २०७४ को चुनावसम्म आइपुग्दा ठाकुरले उक्त क्षेत्र छाडे । उनी आफ्नो पुर्ख्यौली ठाउँ महोत्तरी–३ बाट उम्मेदवार बने । यादवले पार्टी परिवर्तन गरे । उनी माओवादीबाट उम्मेदवार भए । तर, अन्तिम समयमा आएर उनको उम्मेदवारी रद्द भयो । राहदानी मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो । मुद्दा सर्वोच्चमा पुगेको थियो ।
सिंहकै षड्यन्त्रको सिकार आफू भएको भन्दै यादवले तमलोपाका उम्मेदवार राकेश मिश्रलाई सहयोग गरे । तर, निर्वाचनको परिणाम सिंहकै पक्षमा आयो । १ हजार ५ सय ३९ मत अन्तरले मिश्रलाई हराउँदै उनी विजयी भएका थिए । यसअघिको स्थानीय तहको निर्वाचनमा शिवपूजनका छोरा राजाबाबु यादव माओवादीको टिकटबाट रामनगर गाउँपालिकाको अध्यक्ष निर्वाचित छन् । आफ्नो भोट बैंकलाई सुरक्षित बनाइराख्न यादवले हरेक चुनावको उपयोग गर्दै आएको वर्षौंदेखि उनको राजनीतिलाई नियाल्दै आएका.स्थानीय उपेन्द्र महतो बताउँछन् ।
पुराना होइन, नयाँ रोजौं भन्ने परिवर्तनको आवाज, पहाडी मूलको हुनु तथा बाहिर जिल्लाको हुनुजस्ता विषय उनका अगाडिका चुनौती छन् । बाहिरिएको आरोपबाट मुक्त हुन थापाले ‘मधेशको नेता होइन, बेटा बन्न आएको’ नारा दिएका छन् । भाषाकै कारण मतदातासँग प्रत्यक्ष दोहोरो संवादमा भने उनलाई समस्या भएको पनि देखिन्छ । ‘८ देखि १० हजार मतदाता सधैं उनको पक्षमा देखिन्छन् । राजनीतिमा रहेकालाई त्यो ठूलो पुँजी हो । चुनाव नलडेको दिन त्यो भोट बैंक टुट्ने भयले शिवपूजनले हरेक चुनावलाई उपयोग गर्दै आएका छन् । जिते गज्जब, नजिते त्यो आफ्नो समर्थक आफैंसँग राख्ने उनको रणनीति छ,’ महतोले भने, ‘चतुर्याइँपूर्वक उनी त्यसमा सफल भइरहेका छन् ।’ तर पटक–पटक उनी र उनका परिवारका सदस्यलाई मत दिँदै आएका उनका कतिपय समर्थकमा शिवपूजनको परिवारवाद देखेर उनीसँगको मोहभंग हुन थालेको महतोको दाबी छ ।
यस क्षेत्रमा यादवको बाहुल्य छ । संख्याका हिसाबले सबैभन्दा बढी मतदाता यादव समुदायका छन् । तर यादव समुदायको भोट एकै ठाउँमा केन्द्रित नभएर बाँडिन्छ । यस पटक पनि जसपा र नेकपाका उम्मेदवार यादव समुदायलाई प्रतिनिधित्व गर्छन् । यस क्षेत्रमा एमालेको खासै पकड नहुनु, स्वजातीय भोट बाँडिनु तथा परिवारवादको आरोपको सामना शिवपूजनका छोरा अमनिशका अगाडिका चुनौती हुन् ।
पार्टीमा विद्रोह गरेर विशेष महाधिवेशनबाट सभापति बनेका तथा प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार भएका कारण थापाप्रतिको आकर्षण छ । उनलाई भोट दिनु भनेको भावी प्रधानमन्त्रीलाई भोट दिनु हो भन्ने विषयलाई कांग्रेस कार्यकर्ताले जोड दिएका छन् । पार्टीको सांगठनिक आधार बलियो रहनु उनका लागि राम्रो पक्ष हो । जसपाका महासचिव मनीषकुमार मिश्र नेताहरू केदारनन्दन चौधरीदेखि बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंहको कांग्रेसमा प्रवेशले उनलाई बल थपिएको छ ।
तर, पुराना होइन, नयाँ रोजौं भन्ने परिवर्तनको आवाज, पहाडी मूलको हुनु तथा बाहिर जिल्लाको हुनुजस्ता विषय उनका अगाडिका चुनौती छन् । बाहिरिएको आरोपबाट मुक्त हुन थापाले ‘मधेशको नेता होइन, बेटा बन्न आएको’ नारा दिएका छन् । भाषाकै कारण मतदातासँग प्रत्यक्ष दोहोरो संवादमा भने उनलाई समस्या भएको पनि देखिन्छ ।
अर्कोतिर, प्रमुख सारथि भनिएका सुरेन्द्र सिंह (कांग्रेसका निवर्तमान जिल्ला सभापति) वन मुद्दामा दोषी ठहर हुनुलाई विपक्षीले थापालाई घेर्ने अवसरका रूपमा उपयोग गरिरहेका छन् । सर्वोच्च अदालतले मनुष्मारा नहरको वन फँडानी मुद्दामा उनलाई दोषी ठहर गरेर सजाय सुनाएको छ । त्यही फैसलाका कारण उनले पार्टी जिल्ला सभापति पदबाट राजीनामा दिनुपरेको छ ।
आफू उम्मेदवार हुन नपाएपछि परिवारबाट भाइ वीरेन्द्र सिंहलाई उनले संसदीय राजनीतिमा अगाडि सारेका छन् । उनी कांग्रेसबाट २०७४ र २०७९ दुवै निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । राजनीतिसँगै दाजुभाइ ठेक्कापट्टामा पनि संलग्न छन् । क्रसर उद्योग पनि चलाएका छन् । भ्रष्टाचारमा मुछिएका तथा ठेक्कापट्टा, अवैध क्रसर सञ्चालन गरेको आरोपित व्यक्तिको सहारामा कांग्रेस सभापति चुनाव लड्न आएको भन्दै अमरेश सिंहले थापामाथि लाञ्छना लगाउने गरेका छन् । तर त्यसबाट सतर्कर् रहँदै थापाले चुनावी कमान्ड क्षेत्रमा छुट्टै कार्यालय सञ्चालन गरेका छन् ।
