पोखरियाका दुःख कसैले बुझेनन्

पोखरियामा मात्र होइन, समग्र पर्सा क्षेत्र नं ३ मै सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिजस्ता आधारभूत क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन ।

फाल्गुन १६, २०८२

शंकर आचार्य

No one understood the suffering of Pokhariya

What you should know

पोखरिया, पर्सा — जिल्ला सदरमुकाम वीरगन्जबाट करिब २० किलोमिटर पश्चिममा अवस्थित पोखरिया नगरपालिकालाई पर्साको दोस्रो सदरमुकामका रूपमा लिइन्छ । जिल्लाको मध्यभागमा पर्ने पोखरियालाई गाउँपालिकाबाट नगरपालिका बनाउन स्थानीयवासीले करिब एक दशकअघि आन्दोलन नै गरेका थिए । उनीहरूको अपेक्षा थियो– नगरपालिका बनेपछि पोखरियाको मुहार फेरिनेछ । तर वर्षौँ बितिसक्दा पनि पोखरियाको अवस्था उस्ताको उस्तै छ ।

पोखरियामा मात्र होइन, समग्र पर्सा क्षेत्र नं ३ मै सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिजस्ता आधारभूत क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन । विकासको मूलधारबाट आफूहरू अझै टाढा रहेको अनुभूति यहाँका बासिन्दाको साझा गुनासो बनेको छ ।

अधिकांश पोखरियावासी प्रादेशिक अस्पताल पोखरियाको दयनीय अवस्थाबाट चिन्तित छन् । अस्पतालको भवन ठूलो छ । तर औषधि छैन । विशेषज्ञ चिकित्सक छैनन् । नामको मात्र अस्पताल छ यहाँ ।

नगरपालिका मात्र होइन, पूरै क्षेत्रमा सडक सञ्जाल कमजोर छ । बेरोजगारी समस्या गहिरिँदै गएको छ । निर्वाचन नजिकिँदा उम्मेदवारहरू ठूला–ठूला नारा लिएर घरदैलो आउँछन् तर पोखरियावासीका यी आधारभूत समस्या कहिल्यै समाधान हुँदैनन् ।

पोखरियाका व्यवसायी पन्नालाल चौरसिया वीरगन्ज–पोखरिया जोड्ने पदम रोड अत्यन्त साँघुरो भएकाले दैनिक आवागमन कष्टकर बनेको बताउँछन् । तिलावेबाट सुख्खा बन्दरगाहसम्म लाग्ने दैनिक जामले समग्र जिल्लावासीको दैनिकी प्रभावित हुने गरेको उनको भनाइ छ । तीन वर्षअघि निर्माण सम्पन्न भएको वीरगन्ज–ठोरी हुलाकी सडकले पोखरिया क्षेत्रलाई ओझेलमा पारेकोप्रति उनी चिन्तित छन् । स्नातक तहको अध्ययन–अध्यापन हुने क्याम्पस नहुँदा पोखरिया मात्र नभई आसपासका ग्रामीण क्षेत्रका विद्यार्थीहरू वीरगन्ज धाउन बाध्य छन् ।

पोखरिया–४ का ३० वर्षीय मुस्ताक मियाँ नापी र मालपोत कार्यालयको शाखा स्थापना भए पनि इलाका प्रशासन कार्यालय नहुँदा नागरिकता, राहदानीजस्ता कामका लागि वीरगन्ज धाउनुपर्ने बाध्यता कायमै रहेको बताउँछन् । पोखरियामा बैंक तथा वित्तीय संस्थाको संख्या न्यून भएकाले बैंकिङ कारोबारका लागि पनि वीरगन्ज धाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

पोखरिया–६ रानीगञ्ज श्रीसियाका ६५ वर्षीय मुख्तार मियाँ नगरपालिका भित्रकै आन्तरिक सडकको अवस्था दयनीय रहेको बताउँछन् । पोखरिया–कालिकामाई गाउँपालिका जोड्ने सडकसमेत अत्यन्त जीर्ण छ ।

पोखरिया नगरपालिका वडा नं ५ सतवरियाका ६० वर्षीय किसान हरिन्द्र महतो खेतीकिसानीसँग जोडिएका समस्याले आफूहरू पिरोलिएको बताउँछन् ।

नगरपालिका बनेको एक दशक बितिसक्दा पनि पोखरिया क्षेत्रका आधारभूत समस्या उस्तै रहेका छन् । सडक, स्वास्थ्य, शिक्षा, प्रशासनिक सेवा र कृषि क्षेत्रको दयनीय अवस्थाले यहाँका बासिन्दामा गहिरो निराशा जन्माएको छ । चुनावी माहोल तातिँदै जाँदा मतदाताहरूको एउटै प्रश्न छ- ‘यस पटक पोखरियाको दुःख बुझ्ने नेता को हो ?’No one understood the suffering of Pokhariya

नेकपा एमालेले यो क्षेत्रबाट उम्मेदवार बनाएको रुपेशकुमार पाण्डेय यस पटक आफ्नो चुनावी एजेन्डामा क्षेत्रका सबै समस्यालाई सम्बोधन गरेको दाबी गर्छन् । ‘रोजगारी तथा उद्योगतर्फ स्वदेशमै रोजगारी सिर्जना कार्यक्रम, साना तथा मझौला उद्योगलाई सहुलियत ऋण र स्टार्टअप र सूचना प्रविधिमा प्रोत्साहन मेरा मुख्य एजेन्डा हुन्,’ उनले भने, ‘कृषि तथा पशुपालनतर्फ कृषिमा आधुनिकीकरण र मेकानाइजेसन, मल, बीउमा अनुदान, युवालाई कृषि उद्यममा प्रोत्साहन रहेको छ ।’ त्यसैगरी, स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पताल सुदृढीकरण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य बिमा कार्यक्रम सुधार, शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालय सुधार कार्यक्रम, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड, डिजिटल शिक्षाको विस्तार आफ्नो एजेन्डा रहेको उनले बताए ।

पूर्वाधार विकासतर्फ, सडक, पुल निर्माण, जलविद्युत् आयोजना तीव्रता, सिँचाइ तथा खानेपानी परियोजना विस्तार र सामाजिक सुरक्षातर्फ वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्ता निरन्तरता र गरिबी निवारण कार्यक्रम विस्तार रहेको पाण्डेय बताउँछन् ।

नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी कृषिमा आधुनिकीकरण, डिजिटल मधेश, शिक्षामा सुधार, स्वास्थ्य सेवामा आमूल परिवर्तन आदि आफ्नो मुख्य एजेन्डा भएको बताउँछन् । यसका साथै पूर्वाधार विकास, पर्यटन, रोजगारीका अवसर निर्माण र गरिबी निवारण पनि आफ्नो प्रमुख एजेन्डा रहेको चौधरीले जानकारी दिएका छन् ।

रास्वपाका उम्मेदवार रमाकान्त चौरसिया यो क्षेत्र पूर्वाधार तथा विकासको मामिलामा अत्यन्त पिछडिएको आफूले पाएको बताउँछन् । त्यस कारण कृषिदेखि स्वास्थ्य, शिक्षा आदि सबै क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता देखेर यिनै विषयलाई आफूले आफ्नो चुनावी एजेन्डा बनाएको उनले जानकारी दिए । ‘३५ वर्षअघि यो क्षेत्र जस्तो थियो, अहिले पनि त्यस्तै छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, पूर्वाधार सबै क्षेत्रको अवस्था दयनीय छ ।’

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छोटेलालप्रसाद यादव बेथिति र भ्रष्टाचारको अन्त्य आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताउँछन् । आफूले क्षेत्रबाट बेरोजगारी अन्त्यको पनि वचनबद्धता जाहेर गरिरहेको उनले बताए । ‘३५ वर्षदेखि उही नेता र उही उम्मेदवारको बाचा सुन्दा सुन्दा जनता वाक्कदिक्क भइसके,’ उनले भने, ‘यसपटक जनताले नयाँलाई छान्दैछन् ।’

क्षेत्र नं ३ मा कुल ९६ हजार ५ सय ४२ मतदाता छन् । जसमा ५४ हजार ८ सय ९४ पुरुष, ४१ हजार ६ सय ४४ महिला र ४ अन्य छन् । यहाँ ४७ मतदान स्थल र १ सय १४ मतदान केन्द्र रहेका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully