जिल्लाको इतिहासमा सबैभन्दा धेरै मन्त्री पाउने कपिलवस्तु-३ मा अहिले विभिन्न दल र स्वतन्त्र गरी ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवारहरु असन्तुष्ट र रिसाएका नेता–कार्यकर्ता फकाइरहेका छन् ।
What you should know
कपिलवस्तु — पूर्वमन्त्रीसँगै नयाँ उम्मेदवार प्रतिस्पर्धामा रहेको कपिलवस्तु–३ को चुनावी माहोल पेचिलो बनेको छ । यसअघि पटकपटक जितेर मन्त्री भइसकेकाका उम्मेदवारलाई यसपटक नयाँले चुनौती दिइरहेका छन् । जसले कपिलवस्तु–३ को चुनाव रोचक बनेको छ ।
जिल्लाको इतिहासमा सबैभन्दा धेरै मन्त्री पाउने यो क्षेत्रमा अहिले विभिन्न दल र स्वतन्त्र गरी ३६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । यतिबेला उम्मेदवारहरुको घरदैलो अन्तिम चरणमा छ । उम्मेदवारहरु असन्तुष्ट र रिसाएका नेता–कार्यकर्ता फकाइरहेका छन् । पार्टी संगठन मजबुत रहेका पुराना पार्टी आफ्ना मत जोगाउने कसरतमा केन्द्रित छन् । पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार असन्तुष्ट कार्यकर्ता र नयाँ मतदाता आकर्षित गर्ने रणनीतिमा छन् । यस क्षेत्रमा एमाले, कांग्रेस र नेकपा संगठन भएका दल हुन् ।
पुराना दललाई रास्वपा र राजेन्द्र महक्तो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनौती पेश गरेका छन् । प्रमुख दलका उम्मेदवारले पूर्वाधर विकास, प्राविधिक कजेल निर्माण, स्टेडियम निर्माण, सिँचाइ, कृषि उत्पादनको बजारीकरण र सुशासन जस्ता एजेन्डा बोकेर प्रचारप्रसारमा छन् । यस क्षेत्रमा कांग्रेसबाट अभिषेकप्रताप शाह र एमालेका वीरेन्द्रकुमार कानोडिया उम्मेदवार छन् ।
कांग्रेसबाट एकल नाम सिफारिस गरिएका कानोडिया मनोनयन दर्ताको ३ दिनअघि एमाले प्रवेश गरेका थिए । ०५८ तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा जलस्रोत राज्यमन्त्री बनेका कानोडिया ५ दशकको कांग्रेस राजनीति छाडेर एमाले उम्मेदवार बनेका हुन् । दुई पटक संविधानसभा सदस्य र ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित शाह चौथो जितको खोजीमा छन् ।
कनोडिया पनि ०५६ मा प्रतिनिधिसभा सदस्य र ०७४ मा लुम्बिनी प्रदेशसभा सदस्यमा कांग्रेसबाट निर्वाचित भएका थिए । अहिले दल बदलिएर कानोडिया तेस्रो जितको खोजीमा छन् । कांग्रेस उम्मेदवार शाह पनि ०७४ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुअघि तत्कालीन मधेशी जनाधिकार फोरमबाट दुई पटक संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ०७९ मा प्रतिनिधिसभा सदस्य लडेका प्रकाश रजौरिया अहिले रास्वपाबाट प्रतिस्पर्धामा छन् । २०७४ को प्रतिनिधिसभा सदस्यमा सूर्य चुनाव चिन्ह र २०७९ मा जनता प्रगतिशील पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका ईश्वरदयाल मिश्र यस पटक राजेन्द्र महक्तो नेतृत्वको राष्ट्रिय मुत्ति पार्टी (चकिया)बाट चुनाव लड्दैछन् । रजौरिया अहिले रास्वपाप्रतिको लहरलाई उपयोग गरेर चुनाव जित्ने दाउमा छन् । मिश्र थारु समुदायको मत आफ्नो पक्षमा पारेर विजयी हुने प्रयासमा छन् ।
नेकपाबाट एहसान अहमद खाँ प्रतिस्पर्धामा छन् । ०७६ मा नेकपा माओवादीमा प्रवेश गरेर केन्द्रीय सल्लाहकार रहेका उनी अहिले पनि चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । २०७४ मा बहुजन शक्ति पार्टीबाट कपिलवस्तु–३ मा प्रतिनिधिसभा सदस्य उठेका उनी २०७९ मा कांग्रेससहितको लोकतान्त्रिक बाम गठबन्धनबाट माओवादी उम्मेदवार भई लुम्बिनी प्रदेशसभा सदस्यमा कपिलवस्तु–३ (क) बाट उम्मेदवार बनेर पराजित भएका थिए । ‘नेपालको सबैभन्दा कान्छो संविधानसभा सदस्य हुँ, त्यसैले युवाको भावना बुझ्छु,’ ४३ वर्षीय शाहले भने, ‘२०१५ सालदेखिको कांग्रेस लिगेसीबाट मजबुत बनेको छु । क्षेत्रमा विकासका धेरै काम गरेको छु । युवालाई के गर्नुपर्छ र कसरी रोजगारी र उद्यमशील बनाउने मसँग योजना छ, त्यसैले ढुक्कले चुनाव जित्छु ।’
एमाले उम्मेदवार कानोडियाले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन मन्त्र आफुसँग भएकाले चुनाव जित्ने बताए । ६६ वर्षे कानोडियाले युवाको भवना र चाहना राम्ररी बुझेको र त्यसै अनुसार काम गरेर युवाको मन जित्ने दाबी गरे । नेकपा उम्मेदवार खाँले कलिवस्तु–३ स्थित कृष्णनगरमा अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह स्थापना गरी सञ्चालन गर्ने, शिवराज नगरपालिकामा औद्योगिक कोरिडोर तथा विजयनगर गाउँपालिकामा कृषि, काष्ठ तथा पशुजन्य औद्योगिक कोरिडोर स्थापना गर्ने योजना सुनाइरहेका छन् । ‘यस क्षेत्रमा मुस्लिम मत राम्रो छ,’ ६२ वर्षे खाँले भने, ‘८० प्रतिशत भन्दाबढी पाउँछु । त्यही मेरो जितको आधार हो ।’
राष्ट्रिय मुक्ति पार्टी (चकिया) का मिश्र आफूले यस क्षेत्रमा सडकको सञ्जाल बिस्तार गरेको हुँदा जनतालाई ठूलो राहत मिलेको बताए । तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण राज्मन्त्री हुँदा आफुले क्षेत्रमा विकासको जग बसालेको बताए । ०६४ मा कलिपस्तु ४ बाट तमलोपाबाट संविधानसभा सदस्यमा विजयी मिश्र २०७० को प्रतिनिधिसभा सदस्यमा एमालेको सूर्य चिन्ह लिएर र २०७९ मा जनता प्रगतिशील पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका थिए ।
कपिलवस्तु–३ (क) मा ७ मतले पराजित प्रदेशसभा सदस्य रविदत्त मिश्र आफ्नो पक्षमा रहेको र थारु मत निर्णायक रहेकाले थारु नेता रेशम चौधरी संलग्न रहेको पार्टीबाट चुनाव लडेकाले जीत सुनिश्चित रहेको ५९ वर्षे उम्मेदवार मिश्रले दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रजौरियाले आफुलाई युवाले मन पराएको र अहिले मुलुकमा चलेको परिवर्तनको लहरले जीत सुनिश्चित रहेको बताए । यसअघि २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्षेत्र नम्बर ३ मा चुनाव लड्दा १४ हजार ३० मत ल्याएका थिए ।
५२ वर्षे रजौरियाले भने अहिले पाएको परिवर्तनको चाहानाले जित हुनेमा ढुक्क रहेको बताए । दाङसँग सीमा सटेर रहेको यस क्षेत्रमा दलका १३ र स्वतन्त्र २३ जना गरी ३६ जना चुनावी प्रतिस्पर्धामा छन् । १ लाख १८ हजार ४०४ मतदाता रहेको क्षेत्रमा ७२ मतदानस्थलमा १ सय ४८ मतदान केन्द्र छन् ।
