देशको सम्प्रभुतामाथि विदेशी हस्तक्षेप र आक्रमण भइरहेको छ : हर्क साम्पाङ

श्रम संकृति पार्टी संघीयता, लोकतन्त्र, शासकीय स्वरुपमा प्रत्यक्ष कार्यकारी प्रमुख, समानुपातिक र समावेशितामा विश्वास गर्ने भन्दै उनले प्रकृति, संस्कृति र प्रविधिमा भरोसा रहेको बताए ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Foreign interference and attacks are taking place on the country's sovereignty: Hark Sampang

What you should know

धरान — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशको सम्प्रभुतामाथि विदेशी हस्तक्षेप र आक्रमण भइरहेको बताएका छन् ।

धरान–२ भानुचोकमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले विदेशी हस्तक्षेप भइरहेकोले त्यसलाई रोक्न आफ्नो पार्टीलाई मत दिन आग्रह गरे । विदेशी हस्तक्षेपमुक्त देश बनाउने उनले बताए । उनले भने, ‘सिंहदरबार जलाउनु भनेको हाम्रो देश नरहनुजस्तै हो । विगतका दरबार हत्या काण्डहरुसमेत विदेशी चलखेलका कारण भएका थिए । यति धेरै विदेशी हस्तक्षेप भइसकेको छ । अब जनताले साँचो विकल्प खोज्नुपर्छ । हामी त्यस्तो राजनीति भत्काउने छौं । तपाईंहरूले हामीलाई साथ दिनुहोस् ।’

उनले सुनसरी–१ बाट पार्टीका उम्मेदवारलाई भोट दिनु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट दिनु जस्तै भएको बताए । देश बचाउनकै लागि श्रम संस्कृति पार्टी स्थापना भएको दाबी गर्दै भने, ‘यो देशलाई बचाउन मैले पार्टी खोलेको हुँ । त्यसैले तपाईंहरूले मलाई र पार्टीका उम्मेदवारलाई जिताउन भोट दिनुपर्छ ।’

श्रम संकृति पार्टी संघीयता, लोकतन्त्र, शासकीय स्वरुपमा प्रत्यक्ष कार्यकारी प्रमुख, समानुपातिक र समावेशितामा विश्वास गर्ने भन्दै उनले प्रकृति, संस्कृति र प्रविधिमा भरोसा रहेको बताए । उनले धरानमा नगर प्रमुख रहँदा गरेको विकास र श्रमदानका अनुभवलाई स्मरण गर्दै भने, ‘धेरै विकासका कामहरू खानेपानी, उद्योग, पार्क निर्माण भए । तर सुनसरी–१ मा २६ जना उम्मेदवार भए, कसैले सहयोग गरेन । आगामी चुनावमा जनता हामीलाई चिन्नुपर्छ ।’

आफ्नो पार्टीको सरकार बनेमा श्रम र उत्पादन शिक्षाको नीति लिइने उनले जानकारी दिए । 'हाम्रो सरकार भए विद्यार्थीहरूले सातामा तीन दिन मात्र स्कुल जानेछन् । बाँकी समय श्रम र उत्पादनको शिक्षा दिइनेछ,' उनले भने, 'सीमा सुरक्षा सुनिश्चित गर्न प्लस-टु पछि अनिवार्य छ महिनाको सैनिक तालिम दिने व्यवस्था हुनेछ ।'

उनले देशको स्वाधिनता र सम्प्रभुता बचाउने, रोजगारी र उत्पादनमुखी विकासलाई प्राथमिकता दिने पनि बताए । ‘हामी ३ करोड नेपालीको जीवनस्तर उकास्ने, देशको स्वाधिनता र सम्प्रभुता बचाउने, रोजगारी र उत्पादनमुखी विकासलाई प्राथमिकता दिने छौं,' उनले भने, 'भ्रष्टाचारमुक्त, विदेशी हस्तक्षेपमुक्त, विज्ञान र प्रविधिमा आधारित सरकारले मात्र देशलाई ठोस विकासको बाटोमा लग्न सक्छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully