कांग्रेस बदलिएर आएको छ, ५ वर्षलाई जिम्मेवारी दिनुस् : थापा 

गगन थापाले भने, ‘२०६४ सालमा यहाँ आउँदा यसपटक नयाँलाई हेर्ने भन्नु भएको हो । हेर्नु भयो नि नयाँ । अब नयाँ भनेको कांग्रेस हो । पुरानो दल पनि कांग्रेस हो । '

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौं — कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदिलएर आएको र अबको ५ वर्ष आफूहरूलाई देश विकासकाे जिम्मेवारी दिन आग्रह गरेका छन् । गण्डकी प्रदेशको कास्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।  

थापाले आसन्न निर्वाचनपछि देशमा दुईवटा अतिवादले ठाउँ पाउन सक्ने दाबी पनि गरे । उनले भने, 'एउटा २३ भदौमा केही भएको हैन र भएन भन्ने अनि अर्को २४ भदौमा आफै सिंहदबार जलाउन लगाउने अनि आफै जेलबाट भाग्नेहरू हावी हुनसक्ने अवस्थातिर ध्यान दिनुपर्छ ।' उनले अब देशलाई गति चाहिएको र यसका लागि राजमार्ग हैन धावक र असल चालक चाहिएको बताए । 

‘तर, कोही के भन्दैछन् भने म गाडीमा बसेपछि आफै कुद्छ । कोही भनिरहेका छन् म गाडी चालक भएपछि आफै कुद्छ । तर, म भन्छु एक्लैले देशको गाडी गुडाउन सक्दैन,’ थापाले भने, ‘त्यसका लागि टिम चाहिन्छ । स्पिडमा चलाउनुपर्ने तर सजगताका साथ दुर्घटना नगराई चलाउनुपर्छ ।’ 

उनले कांग्रेस बदलिएर आएको र २०४६ सालपछि मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाएर काण्डहरूको छानबिन गर्ने उनले बताए ।  यसको सुरुवात गगन थापा र शेरबहादुर देउवाबाटै गर्ने उनले घोषणा गरे । उनले देश विकास नियम कानुनभित्र रहेर गर्ने भन्दै कसैलाई ठोकेर वा बाँधेर नभई कानुनी परिधिभित्र बसेर गर्ने बताए ।

उनले गण्डकी प्रदेशको विकास अझै परिणाममा लैजानुपर्ने बताए । उनले कांग्रेसले जितेपछि वैशाखभरी काम गर्ने अनि अन्तिममा हिसाब बुझाउने र हरेक महिना यहि प्रक्रिया चल्ने बताए । उनले यो ५ वर्ष अर्को प्रयोग नगर्न पनि उनले आग्रह गरे । ‘२०६४ सालमा म यहाँ आउँदा यसपटक नयाँलाई हेर्ने भन्नु भएको हो । हेर्नु भयो नि नयाँ । अब नयाँ भनेको कांग्रेस हो । पुरानो दल पनि कांग्रेस हो,’ थापाले भने ‘यो नौजवानहरूले हाँकेको कांग्रेस हो । मत हाल्नुपर्ने कारण नै कारण छ । नहाल्नुपर्ने कुनै पनि कारण छैन ।’ 

उनले एउटा पनि गल्ती नगर्ने र एक पैसा तलमाथि हुन नदिने र गर्नेहरूलाई पनि नछोड्ने बताए । उनले कांग्रेस मात्रले नहुने भन्दै एमाले, नेकपा र रास्वपा पनि चाहिने बताए । उनले संविधान संशोधन गर्नका लागि सबैको साथ आवश्यक हुने बताए । उनले कार्यकर्ताहरूलाई हरेक मतदाताको घरमा जान निर्देशन दिए ।  घर घर गएर बुझाउन र कांग्रेसले तीनै क्षेत्रबाट विजय हात पार्नुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully