यो चुनावमा हार्ने-जित्नेभन्दा मुलुकले निकास पाउने एजेन्डा मुख्य हो : शर्मा

कांग्रेस उपसभापति शर्माले जेन-जी आन्दोलनपछिको विषम परिस्थितिबाट पार लगाउन सक्ने शक्ति कांग्रेस भएको दाबी गरेका छन् ।

फाल्गुन १४, २०८२

नवीन पौडेल

The main agenda in this election is to find a way out for the country rather than winning or losing: Sharma

परासी — कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछिको विषम परिस्थितिबाट पार लगाउन सक्ने शक्ति कांग्रेस भएको दाबी गरेका छन् । अप्ठ्यारा र विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा नै मुलुकले निकास पाएको भन्दै उनले फागुन २१ को निर्वाचनमा पहिलो पार्टी बनाउन मतदातासँग आग्रह गरे ।

कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर १ ले बर्दघाट चौपत्तामा आयोजना गरेको चुनावी आमसभामा बोल्दै शर्माले यस्तो बताएका हुन् । ‘यो चुनाव कुनै राजनीतिक दलले हार्ने र जित्नेभन्दा पनि मुलुकले निकास पाउने एजेन्डा मुख्य हो,’ शर्माले भने, ‘जेन-जी युवाले चाहेको राजनीतिक दलभित्रको परिवर्तन हामीले गरिसक्यौं, अब देश परिवर्तनका लागि कांग्रेसलाई बहुमत दिन सबैलाई आग्रह गर्दछु ।’

कार्यक्रममा कांग्रेसका उम्मेदवार विनोद चौधरीले मतदाताले ५ वर्षका लागि विजय गराएर पठाएको भए पनि मुलुकमा आएको विषम परिस्थितिका कारण अधुरा काम पूरा गर्न र यस क्षेत्रको समृद्धिका योजना थप विस्तार गर्न चुनावमा होमिएको बताए । कांग्रेस नेता देवेन्द्रराज कँडेल, देवकरण कलवार लगायतका नेताले जिल्लाको दुईवटै क्षेत्रमा कांग्रेसले जित हासिल गर्ने दाबी गरे । कांग्रेसले क्षेत्र नम्बर २ को परासीमा पनि आजै चुनावी सभा गरेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully