यसपटक जिल्लामा ३ हजार ४ सय नयाँ मतदाता थपिएका छन् । थपिएका यिनै युवा मतदाता निर्णायक मानिएका छन् ।
What you should know
लमजुङ — लमजुङमा माघ ६ गते मनोनयन दर्तापछि प्रमुख राजनीतिक दलका उम्मेदवार प्रचारप्रसार गर्दै गाउँ दौडिए । किनकि, फागुन ४ अगावै मतदाताको ‘नाडी’ छाम्नु थियो ।
निर्वाचन आयोगले तोकेको चुनाव प्रचारप्रसार मितिपछि उनीहरू झण्डासहित हिँडेका छन् । उनीहरूलाई मतदाताले फूलमाला, अबिर, टीका लगाइदिएका छन्, आफ्ना मागहरू राखेका छन् । प्रचारप्रसारको उत्तरार्द्धमा आइपुग्दा पनि कुनै उम्मेदवार वा पार्टी आफूले जित्नेमा ढुक्क छैनन् ।
प्रजातन्त्रपछिको २०४८, ०५१ र ०५६ मा कांग्रेसले एकलौटी गर्दै आएको लमजुङमा २०६४ यता भने मिश्रित परिणाम छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचन जितेको नेकपा (एमाले) र प्रदेश सभा दुवै क्षेत्र जितेको नेपाली कांग्रेस यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दबाबमा परेको छ । चुनावी प्रचारप्रसारमा रहेका उनीहरूलाई हार्ने डर छ । तर, प्रचारप्रसारलाई भने तीव्र पारेका छन् ।
०७९ मा ५ दलीय गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका थिए । तर, सामाजिक सञ्जाल नियमन प्रयास र जेन्जी आन्दोलनबाट सिर्जित वातावरणले उनलाई यो निर्वाचनमा असहज बनाएको छ । गाउँ–गाउँमा सम्मानका साथ प्रचारप्रसार गरिरहे पनि उनलाई सामाजिक सञ्जालमा भने प्रहार भइरहेको छ । पार्टीको गत मंसिरको महाधिवेशनमा भने उनी सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा जितेका थिए । उनलाई धेरैपटक निर्वाचनमा उम्मेदवार बनेको आरोप पनि छ ।
उमेरले साढे ५ दशक पुगेका कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङ संसदीय निर्वाचनमा नयाँ हुन् । पार्टीको जिल्ला अधिवेशनमा सभापतिमा पराजित उनी गैरसरकारी संस्थामा सक्रिय छन् । गत जेठ पहिलो साता तरुण दलको अधिवेशनमा पार्टी सभापति एवं गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री टकराज गुरुङ र पूर्वसभापति एवं गण्डकी प्रदेश वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल पक्षधर युवाबीच खुकुरी हानाहानले यसपटकको निर्वाचनमा कांग्रेस युवा एक हुन सकेका छैनन् । तरुणको एक टोली गमप्रसादको पछि हिँड्दा अर्को टोली रुष्ट बनेको र पार्टी विशेष महाधिवेशनको तुष पनि बाँकी नै छ ।
लामो समय सदरमुकाम बेंसीसहर बसेका उनी क्व्होलासोथार गाउँपालिका–८, घाम्राङका हुन् भने पृथ्वीसुब्बा छिमेकी जिल्ला वडा नं. ९ टक्सारका हुन् । यसअघिको निर्वाचनमा पृथ्वीसुब्बाले २ हजार ८ सय बढी मतले ‘लिड’ गरेको क्व्होलासोथारमा कांग्रेसले आफूतिर मत तान्ने प्रयास गरिरहेको छ ।
गत निर्वाचनमा पृथ्वीसुब्बासँग पराजित देवप्रसाद गुरुङभन्दा तेब्बर कम मत ल्याएका रास्वपाका धर्मराज केसी अहिले एमाले–कांग्रेसलाई पाखा लगाउँदै जित निकाल्ने भनी प्रचारप्रसारमा छन् । गत निर्वाचनमा पराजितपछि फर्केर नआएको, श्रीमती र छोरालाई विदेश राखेको, २ जना मन्त्रीका सचिवालयमा रहेर पनि जिल्लाको विकासमा कुनै योगदान नदिएको आरोप उनीमाथि छ । यसपटकको समानुपातिक सूचीका लागि उम्मेदवारलाई नसघाएको आरोप पनि उनलाई लागेको छ ।
गत निर्वाचनमा देवप्रसादले ३१ हजार ७ सय ९१ मत ल्याउँदा पृथ्वीसुब्बाले ३४ हजार ९ सय ८५ मत पाउँदा ३ हजार १ सय ९६ मत बढी ल्याएर विजयी भएका थिए । रास्वपा उम्मेदवार धर्मराज केसीले ९ हजार २९ मत ल्याएका थिए । कुल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकामा ८० हजार १ सय ९२ (६० दशमलव ०४) प्रतिशत मत खसेको थियो । खसेको मतमध्ये २ हजार ३ सय ८४ (२ दशमलव ९७ प्रतिशत) मत बदर भएको थियो ।
२०७९ मा लमजुङ प्रदेश (१) बाट कांग्रेसका टकराज गुरुङ १८ हजार ५ सय १५ मतसहित विजयी हुँदा माओवादी केन्द्रसहित साना दलहरूको पनि मत थियो । एमालेका जमिन्द्रमान घले १७ हजार ३ सय ४५ मत ल्याएर पराजित भए । प्रदेश (२) बाट कांग्रेसका भेषबहादुर पौडेल १९ हजार ५ सय ६० मतसहित विजयी हुँदा एमालेका कृष्णप्रसाद अधिकारी १८ हजार ८ सय १० मत पाएर पराजित भए । रास्वपाले प्रदेश सभामा उम्मेदवार उठाएको थिएन ।
२०७९ मा रास्वपाले यस क्षेत्रबाट कम मत पाए पनि मतदान गरेका कार्यकर्ता खुलेका छन् । एमालेले यसअघिको प्रतिनिधि सभा सदस्यमा जित निकालेको, गाउँटोलसम्मैको संगठन र कांगेसले प्रदेश सभा सदस्यको २ वटै क्षेत्रमा जित निकालेका कारण रास्वपालाई पनि असहज छ । एमालेको नजरमा अहिले कांग्रेस र रास्वपा दोस्रो–तेस्रोका लागि लडिरहेका छन् । कांग्रेसको नजरमा एमाले र रास्वपा दोस्रो–तेस्रोका लागि लडिरहेका छन् । रास्वपाको नजरमा कांग्रेस र एमाले दोस्रो–तेस्रोका लागि लडिरहेका छन् ।
रास्वपाको समानुपातिक मत २०७९ मा ८ हजार २ सय १७ छ । एमालेको ३१ हजार १ सय ७८ छ । कांग्रेसको २७ हजार ७ सय ९६ मत छ । माओवादी केन्द्रको समानुपातिक मत ०७९ मा ६ हजार ४ सय ८३ छ । राप्रपाको २ हजार ३ सय ८ छ ।
मतदाताको विश्लेषण, चुनावी अभियान र पछिल्लो निर्वाचनमा आएको मतका आधारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार हरिजङ तामाङ पार्टीको मत जोगाउनमा व्यस्त देखिन्छन् । यद्यपि चुनावी अभियानमा उनले आफूले जित्ने दाबी गर्दै आएका छन् ।
०७४ मा एमाले–माओवादीको वाम गठबन्धन हुँदा माओवादी केन्द्रका देवप्रसाद गुरुङले ३९ हजार ४ सय ६८ मत ल्याएर विजयी बनेका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रको मत एक ठाउँमा थियो । कांग्रेसका दिलबहादुर घर्ती ३१ हजार ६७ मत पाएर पराजित भएका थिए ।
०६४ मा एमाले तेस्रो पार्टी हुँदा र धेरैजसो ठाउँमा माओवादी उम्मेदवारले विजयी प्राप्त गर्दा तत्कालीन लमजुङ क्षेत्र नं. २ बाट पृथ्वीसुब्बा गुरुङ विजयी भएका थिए । २०७० मा भने उनीमाथि जातीय राजनीतिको आरोप लाग्दा उनले हार व्यहोरे । उनले २०७४ मा कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई हराउँदै प्रदेशसभामा विजयी भएर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने अवसर पाए । आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा खुलेर संघीय अधिकार माग गरेर ‘विद्रोही’ छवि बनाएका उनी पछिल्लो सरकारमा आलोचित भए । जेन्जी आन्दोलनका क्रममा ललितपुरमा उनको घर जल्दा उनको गृहजिल्लाको आन्दोलन भने शान्तिपूर्ण रह्यो ।
लमजुङमा १ जना स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एमाले, कांग्रेस, रास्वपा, नेकपा, राप्रपा, मंगोल नेसनल अर्गनाइजेसन, स्वतन्त्र उम्मेदवारले आफ्नो प्रचारप्रसार गरिरहेका छन् ।
यसपटक कुल मतदाता १ लाख ३७ हजार १ सय २४ जना छन् । महिला ६९ हजार ५ सय २४ र पुरुष ६७ हजार ६ सय हुन् । यसपटक ०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको तुलनामा ३ हजार ४ सय मतदाता थपिएका छन् । थपिएका मतदाता अधिकांश युवा हुन् । चुनावी नतिजाको निर्धारण यसपटक यिनै नयाँ मतदाताले गर्नेछन् ।
