‘चुनाव आउँछ जान्छ, तर हाम्रो सद्भाव आजको होइन, युग देखिएको हो, म भन्छु म धर्मका नाममा राजनीति गर्दिनँ ।’ - रवि लामिछाने
What you should know
गोरखा — रास्वपा सभापति रवि लामिछानेले आफ्नो बहुमत नल्याए सबैभन्दा खुसी भ्रष्टाचारी हुने बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभामा सभापति लामिछानेले फागुन २१ गते इतिहास लेखेर सुशासनको जग बसाल्ने बताए ।
‘धर्मका नाममा, जातका नाममा, समुदायको नाममा, सम्प्रदायको नाममा राजनीतिक रंग ओढेर मानिसहरू घर-घर छिर्दै छन्, खबरदारी गर्नुसु, होसियार रहनुहोला,’ उनले भने,‘चुनाव आउँछ जान्छ, तर हाम्रो सद्भाव आजको होइन, युग देखिएको हो, म भन्छु म धर्मका नाममा राजनीति गर्दिनँ ।’
सिंगो देशको मन जित्न नसकेपछि केहीले क्षेत्रीय, जातीय र धार्मिक राजनीतिको बीउ रोप्न लागेको लामिछानेको आरोप छ । ‘म छातीमा हात राखेर भन्न चाहन्छु, धर्मको राजनीतिको बीउ रोपियो भने एक दिन फल त लाग्ने छ, फल कस्तो होला भन्ने कुरा संसारको विभिन्न धार्मिक द्वन्द्वका भएका देशलाई हेर्नुहोला,’ उनले थपे,‘यो देशमा धर्मभित्र राजनीति गरेर सम्प्रदायलाई अलग बनाएर भोट बैंक बनाउनेहरूलाई फल्न र फुल्न दिनु हुँदैन ।’
त्यस्तै लामिछानेले भदौ २३ र २४ गतेको घटनाको न्याय र अन्याय छुट्टाउन पनि आग्रह गरे । ‘सिंहदरबार जलायो, विध्वसं गर्यो भनेर भ्रम फैलाइएको छ,’ उनले भने,‘२३ गते गोली नचलेको भए कुनै पनि चिज जल्ने थिएनन्, स्कुल ड्रेसमा आएका स–साना बालबालिकालाई छाती र टाउकोमा ताकी/ताकी गोली नहानेको भए केही पनि जल्ने थिएनन्, जुन जल्यो त्यो फेरि बन्छ, तर रित्तिएको आमाको काख अब कहिलै भरिन्न, सिंहदरबार हामी बनाउँछौँ, त्यो कुरा पक्का छ, तर गुमेका भाइबहिनीको जीवन फेरि आउँदैन ।
’ देशका संरचना जलेका कुरामा सबैभन्दा दु:खी आफूहरू रहेको उनले बताए । ‘हिंसालाई रास्वपाले कहिल्यै पनि प्राथमिकता दिँदैन,’ उनले भने ।
प्रतिनिधिसभा निर्वाचनमा गोरखा-१ मा रास्वपाबाट सुधन गुरुङ र गोरखा-२ का उम्मेदवार कवीन्द्र बुर्लाकोटी चुनावी प्रतिस्पर्धामा छन् ।
