पूर्वको ‘आर्थिक नगर’मा रोजगारी र बसाइँसराइको संघर्ष

दशकौंअघिदेखि पहाडबाट बसाइँसराइको केन्द्र बनेको मोरङमा अहिले पनि त्यो क्रम रोकिएको छैन । अहिले पनि बसाइँसराइ त छ । तर, प्रवृत्ति फेरिएको छ । गाउँबाट सहर, सहरबाट विदेश जाने क्रम तीव्र छ ।

फाल्गुन १४, २०८२

पर्वत पोर्तेल

The struggle for employment and migration in the 'economic city' of the east

विराटनगर — कोशी प्रदेशको तराई भूभागमा फैलिएको मोरङ उत्तर–पूर्वमा चुरे क्षेत्रसँग जोडिएको भौगोलिक विविधता बोकेको क्षेत्र हो । औद्योगिक विकास तथा जनसंख्याका आधारमा मोरङ नेपालकै दोस्रो ठूलो जिल्लाका रूपमा परिचित छ ।

बहुजातीय र बहुभाषिक विशेषता बोकेको नेपालको पूर्वी तराईमा अवस्थित मोरङ र सदरमुकाम विराटनगरको नामाकरण प्राचीन कालसँग सम्बन्धित मानिन्छ ।

‘मावराङ्ग’ शब्दबाट अपभ्रंश भई ‘मोरङ’ नाम रहन गएको भन्ने जनविश्वास रहेको छ । ऐतिहासिक दस्तावेजमा उल्लेख भए अनुसार कुनै समय यही स्थानमा राजा विराटको भव्य दरबार रहेको थियो । मध्यकालीन समयमा यो क्षेत्र लिम्बुवानको सबैभन्दा ठूलो राज्यका रूपमा विकसित भएको पनि ऐतिहासिक दस्तावेजहरुमा भेट्न सकिन्छ । यहाँका अन्तिम राजा बुद्धिकर्ण राई खेवाङ थिए ।

विसं ५२१ मा कुँदिएको चाँगुनारायणको अभिलेखको अध्ययनबाट ईसा पूर्वका शताब्दीहरूमा काठमाडौं उपत्यकामा किराती राजाले राज्य सञ्चालन गरेको तथ्य पुष्टि हुन्छ । पछि किरातीहरू लिच्छवीहरुसँग पराजित भई कोशी नदीपूर्वतर्फ सरेका थिए । यस आधारमा ईसा पूर्वको प्रथम शताब्दीमै किराती राजाहरूले कोशी नदी आसपासको भू–भागलाई आफ्नो कर्मक्षेक्र बनाएको मानिन्छ । राज्य सञ्चालनको त्रममा कालान्तरमा यहाँ ‘मरोहाङ’ नामक याक्थुङहाङ राजाले शासन गरेको उल्लेख पाइन्छ ।

विसं १८३० मा पृथ्वीनारायण शाहले अभिमान सिंह बस्नेत, रामकृष्ण कुँवर तथा अमरसिंह थापाको नेतृत्वमा फौजलाई पूर्वी भू–भागमा पर्ने पल्लो किरात (लिम्बुवान) विजयका लागि पठाएका थिए । त्यसक्रममा लिम्बुवानअन्तर्गत पर्ने विजयपुर सदरमुकाम रहेको मोरङमाथि कब्जा गरी तत्कालीन नेपाल अधिराज्यमा गाभिएको थियो ।  लामो समयसम्म मोरङको सदरमुकाम विजयपुर नै रह्यो । 

The struggle for employment and migration in the 'economic city' of the east

व्यापारिक आवागमनका दृष्टिले भारतसँग सहज र नजिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले सदरमुकाम विजयपुरबाट रंगेली सारिएको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख पाइन्छ । पुनः सुविधाका दृष्टिले विसं १९७१ मा मोरङको सदरमुकाम रंगेलीबाट गोग्राहा सारियो । पछि गोग्राहालाई राजा विराटको नामसँग जोडेर ‘विराटनगर’ नामकरण गरिएको हो । गोग्राह राजवंशी भाषाको शब्द हो । किरातपछि कोच (राजवंशी) हरुले यहाँ शासन गरेको अनुमान गर्न सकिन्छ । 

औद्योगिक विकासका हिसाबले नेपालको पहिलो उद्योगका रूपमा स्थापित विराटनगर जुट मिल तथा जुद्ध म्याच फ्याक्ट्री पनि मोरङमा सञ्चालनमा आएका थिए ।  विराटनगर जुट मिल विसं १९९३ मा स्थापना गरिएको थियो भने जुद्ध म्याच फ्याक्टी (सलाइ उद्योग) विसं १९९४ मा स्थापना भएको हो ।

विसं २०१८ सालको प्रशासनिक विभाजनअघि नेपालमा ३५ जिल्ला हुँदा मोरङ एउटा विशाल जिल्लाका रूपमा रहेको थियो । पछि यसै क्षेत्रलाई विभाजन गरी हालका मोरङ, सुनसरी र झापा जिल्ला गठन गरिएका हुन् । 
मोरङको कुल क्षेत्रफल १ हजार ८ सय ५५ वर्ग किलोमिटर छ । यसको पूर्वमा झापा, पूर्वोत्तरमा इलाम, उत्तरमा धनकुटा र पाँचथर, पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहार राज्यसँग अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।

The struggle for employment and migration in the 'economic city' of the east

समुद्री सतहदेखि करिब ६० मिटरदेखि २ हजार ४ सय १० मिटरसम्म फैलिएको मोरङको भौगोलिक बनावट चारपाटे आकारमा छ । यसको केही भू–भाग महाभारत तथा चुरे पर्वतश्रृंखलामा पर्दछ भने करिब ८० प्रतिशत क्षेत्रफल तराई भू–भागमा अवस्थित छ । यहाँको हावापानीमा धेरै उतारचढाव देखिँदैन । तर, गर्मीयाममा अत्यधिक गर्मी तथा जाडोयाममा अत्याधिक शीतलहर चल्ने समस्या छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार मोरङको कुल जनसंख्या ११ लाख ४८ हजार १ सय ५६ छ । यसमध्ये ५ लाख ५७ हजार ५ सय १२ पुरुष र ५ लाख ९० हजार ६ सय ४४ महिला रहेका छन् । मोरङमा एक महानगर छ । ९ वटा नगरपालिका छन् । ६ वटा गाउँपालिका छन् । उर्वर जमिन, उद्योगधन्दा, व्यापारिक गतिविधि र सेवा क्षेत्रका कारण लामो समयदेखि यो पूर्वी नेपालको आर्थिक इञ्जिनका रूपमा चिनिँदै आएको छ । विशेषतः विराटनगर महानगरको विस्तारसँगै मोरङले तीव्र सहरीकरणको रूप लिएको छ । तर, विकासका यी सूचकसँगै यहाँ आर्थिक अस्थिरता, औद्योगिक संकट, बेरोजगारी, डुबान र बसाइँसराइजस्ता गम्भीर चुनौती पनि समानान्तर रूपमा देखिँदै आएका छन् । 

कृषि उत्पादनको दृष्टिकोणले मोरङ ज्यादै उपयुक्त मानिन्छ । उत्तरी पहाडी क्षेत्रमा बलौटे दोमट तथा दोमट, मध्य क्षेत्र (भावर क्षेत्र) दोमट तथा हल्का चिम्टाइलो माटो र दक्षिणी क्षेत्र (तराई क्षेत्र) चिम्टाइलो बलौटे दोमट तथा दोमट प्रकारको माटो पाइन्छ । 

कृषि ज्ञान केन्द्र मोरङका अनुसार यहाँका अधिकांश नागरिकको मुख्य पेशा कृषि नै हो ।  धान, मकै, गहुँ, दाल, तोरी तथा विभिन्न प्रकारका तरकारी यहाँका प्रमुख कृषि उत्पादन हुन् । तर, पछिल्ला वर्षमा कृषिभन्दा उद्योग, व्यापार तथा सेवा क्षेत्रमा निर्भरता बढ्दै गएको छ ।

कृषि अझै पनि जिल्लाको आधारभूत अर्थतन्त्र हो । तर, किसानका लागि उत्पादन लागत दिनप्रतिदिन बढिरहेको छ । मल, बीउ, सिँचाइ र मजदुरी खर्च उच्च छ, जबकि बजारमा मूल्य अस्थिर छ । कटहरीका किसान रामदेव साह भन्छन्, ‘धानको मूल्य सोचे जति पाइदैन, बेच्दा लागत पनि उठ्दैन ।’ उत्पादन र बजार व्यवस्थापनबीचको असन्तुलनले किसानलाई निराश बनाएको छ । यसले ऋणभार बढाएको छ र वैदेशिक रोजगारीतर्फ आकर्षण थपिएको छ ।

मोरङ उद्योग व्यापार संघका अनुसार जिल्लामा साना–ठूला गरी करिब पाँच सयभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् । संघका अध्यक्ष अनुपम राठीका अनुसार यी उद्योगहरूले हजारौं व्यक्तिलाई रोजगारी प्रदान गरेका छन् । स्थानीय उद्योगी–व्यवसायीहरूको दाबी अनुसार यसले केही हदसम्म वैदेशिक रोजगारीतर्फ हुने पलायनलाई समेत न्यूनीकरण गरेको छ ।

एसियन थाइ फुडका संस्थापक उद्यमी महेश जाजुका अनुसार दर्जनौं स्वदेशी उद्योगहरूले सयौं युवालाई रोजगारी उपलब्ध गराइरहेका कारण विदेश पलायन घट्न मद्दत पुगेको छ । 

तर, अहिले अवस्था बदलिँदै गएको छ । एक समय ‘औद्योगिक राजधानी’ भनेर चिनिएको विराटनगरमा धेरै उद्योग बन्द भएका छन् वा क्षमताभन्दा कम सञ्चालनमा छन् । यसको प्रत्यक्ष असर रोजगारीमा परेको छ । बुढीगंगा गाउँपालिकाका पूर्व उद्योग मजदुर सुरेश यादव भन्छन्,‘कारखाना बन्द भएपछि रोजगारी नै गुम्यो ।’ उनी एउटा प्लाइउड कारखानामा कार्यरत थिए । 

उद्योग बन्द हुँदा स्थानीय श्रमिक मात्र होइन, त्यसमा आश्रित परिवारको आम्दानी पनि घटेको छ । कतिपय उद्योगको आधुनिकीकरण हुन नसक्नु, ऊर्जा र कच्चा पदार्थको लागत, नीतिगत अस्थिरता र बजार प्रतिस्पर्धा यस संकटका कारण मानिन्छन् । विराटनगर महानगरको विस्तारसँगै आसपासका गाउँ अर्ध–सहरमा परिणत हुँदैछन् ।  ग्रामीण भेगका खेत प्लटिङमा परिणत भइरहेका छन् ।

मोरङमा पूर्वाञ्चल विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालय गरी दुई विश्वविद्यालय सञ्चालनमा छन् । त्यसैगरी नोवेल मेडिकल कलेज र विराट टिचिङ अस्पतालसहित दुई वटा मेडिकल कलेज पनि यहाँ संचालित छन् ।

जिल्लामा सरकारी तथा निजी गरी ६ सय ९५ वटा विद्यालय संचालनमा रहेको जिल्ला समन्वय इकाइ मोरङले जनाएको छ । साथै ३० उच्च माध्यमिक विद्यालय, १३ क्याम्पस, १ विश्वविद्यालय तथा १० वटा प्राविधिक तथा व्यवसायिक शिक्षालय सञ्चालनमा छन् ।

निजी विद्यालय, निजी अस्पताल तथा बैंकिङ सेवाको विस्तारसंगै उपभोक्तावादी प्रवृक्ति बढ्दो त्रममा देखिन्छ । निजी शिक्षा र स्वास्थ्य सेवामा निर्भरता वृद्धि हुँदै गएको छ । सामाजिक प्रतिष्ठाको मापन पनि निजी विद्यालयमा अध्ययन तथा सुविधासम्पन्न जीवनशैलीसँग जोडिन थालेको छ । यससँगै खर्चको बोझ समेत बढ्दै गएको छ । आम्दानीको तुलनामा खर्च वृद्धि हुने यो प्रवृत्तिले मध्यमवर्गीय तथा निम्नवर्गीय परिवारहरूलाई थप आर्थिक दबाबमा पारेको छ ।

The struggle for employment and migration in the 'economic city' of the east

मोरङमा सामाजिक सुरक्षा भक्ता, स्वास्थ्य बीमा र छात्रवृत्ति कार्यत्रमको पहुँच विस्तार हुँदै गएको छ । वृद्ध, अपांगता भएका व्यक्ति र एकल महिलाहरुले सामाजिक सुरक्षा भत्ताबाट राहत पाएका छन् । छात्रवृत्तिले दलित, मुस्लिम र विपन्न समुदायका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सहयोग गरेको छ । विद्यालय छोड्ने दर केही हदसम्म घटेको छ । विराटनगरकै पुरानो र नमुना आदर्श विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलका अनुसार यो क्षेत्रमा विद्यालय ड्रप आउट घटेको छ । 

स्वास्थ्य क्षेत्रका लागि विराटनगर हब नै बनेकाे छ।  दर्जनौं साना–ठूला अस्पताल र दुई मेडिकल कलेज छन् । यद्यपि ग्रामीण भेगमा सेवा अझै सीमित छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भए पनि सेवाग्राहीले झन्झट अनुभव गरिरहेका छन् । विराटनगर महानगर ३ कि नुरजहाँ खातुन भन्छिन्,‘बिमा छ तर औषधि बाहिरै किन्नुपर्ने बाध्यताले हामी हैरान छौं ।’ 

बिमाको प्रक्रिया जटिल हुनु, चिकित्सक अभाव र औषधि आपूर्ति कमजोर हुनुजस्ता समस्याले कार्यक्रमको प्रभावकारिता घटाएको छ । यद्यपि सामाजिक सुरक्षा योजनाले दैनिक खर्चमा केही राहत दिएको तथ्य अस्वीकार गर्न सकिँदैन । विराटनगर महानगरका स्वास्थ्य शाखा प्रमुख दिलिप यादव भने सेवा विस्तारको प्रयास भइरहेको बताउँछन् । यादव भन्छन्,‘हामी सेवा विस्तार गर्न प्रयासरत छौं ।’

मोरङमा सडक सञ्जाल विस्तारको काम भइरहे पनि गुणस्तर र व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ । हुलाकी राजमार्ग अन्तर्गत जहदादेखि विराटनगर महानगर प्रवेश विन्दूसम्मको करिब पाँच किलोमिटर सडक निर्माणाधीन छ । पूर्व–पश्चिम राजमार्ग पनि विस्तारको क्रममा छ । औद्योगिक क्षेत्र र सहरमुखी सडक अपेक्षाकृत राम्रो अवस्थामा छन् । 

तर, ग्रामीण सडक, खानेपानी र ढल व्यवस्थापन कमजोर छ । विराटनगरका कतिपय ठाउँ अहिले पनि कालोपत्रे निर्माण गरिसकेपछि ढलका लागि नालाहरु निर्माण भइरहेका दृष्य देखिन्छ । खासगरी विराटनगर महानगर क्षेत्रमा वर्षायाममा डुबानको समस्या वर्षेनी दोहोरिन्छ । महानगरले दिर्घकालीन योजना नल्याउँदा वर्सेनी डुवान हुने गरेको स्थानीय टंक खतिवडा बताउँछन् । विराटनगर–कटहरी सडक खण्डमा वर्षातका समयमा पानी जमेर सवारी आवागमन प्रभावित हुन्छ । हिउँदमा धुलोले स्थानीय बासिन्दा हैरान हुन्छन् । 

अधुरा सडक, ढिलाइ भएका ठेक्का, कमजोर निर्माण गुणस्तर र अनुगमन अभावले पूर्वाधार विकासमा अविश्वास बढाएको छ । बिजुलीको पहुँच व्यापक भए पनि ट्रिपिङ समस्याले उद्योग र घरपरिवारलाई असर पारेको छ । ‘यसले समय र खर्च बढाएको छ’, विराटनगर १९ का स्थानीय रामप्रित ऋषिदेव भन्छन्, ‘स्वास्थ्य जोखिम बढाएको छ र व्यवसायमा अवरोध सिर्जना गरेको छ ।’

दशकौंअघिदेखि पहाडबाट बसाइँसराइको केन्द्र बनेको मोरङमा अहिले पनि त्यो क्रम रोकिएको छैन । पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङलगायतबाट दशकौंअघि यहाँ बसाइँ सरेका परिवारको संख्या उल्लेख्य छ । खासगरी सशस्त्र द्वन्द्वताका ताका ती पहाडी जिल्लाबाट मोरङ, खासगरी विराटनगर बसाइँ आउने क्रम तीव्र वढेको हो । अहिले पनि बसाइँसराइ त छ । तर, प्रवृत्ति फेरिएको छ । गाउँबाट सहर, सहरबाट विदेश जाने क्रम तीव्र छ ।

अष्ट्रेलिया, अमेरिका, क्यानाडा तथा युरोपेली मुलुकमा युवा शक्ति पलायन भइरहेको छ । गाउँ, बस्ती र सहरमा युवा देखिन छाडेका छन् । धेरै घरमा बुढा–बुढी र बालबालिका मात्रै छन् । खेत बाँझिने क्रम बढ्दो छ । स्थायी रोजगारीको अभाव, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजी, औद्योगिक अवसरको कमी बसाइँसराइका मुख्य कारण हुन् । यसको असर कृषि उत्पादनमा कमी, पारिवारिक संरचनामा कमजोरी र गाउँको सामाजिक जीवनमा देखिएको छ । 

सुनवर्षी नगरपालिकाका अमित ठाकुर मलेसियाबाट फर्केर सानो सैलुन पसल चलाइरहेका छन् ।  तर, त्यो पसलको भाडा तिर्न पनि उनलाई धौधौ छ । उनी भन्छन्, ‘स्वदेशमै केही गरौं भनेर सोचेको तर यहाँ काम गर्न गाह्रो भइरहेको छ ।’ उनका अनुसार लघु उद्यम गर्न सरकारबाट थोरै ऋण उपलव्ध हुन सक्दा विदेश जानुपर्ने बाध्यता हट्ने उनी सुनाउँछन् ।  

मोरङमा सेवा लिने प्रक्रिया कागजमा स्पष्ट देखिए पनि व्यवहारमा ढिलासुस्ती छँदैछ ।  सिफारिसका आधारमा काम चाँडो हुने क्रम पनि उस्तै छ । फाइल रोकिने, सूचना स्पष्ट नहुने र प्रक्रिया लामो हुने आम सर्वसाधारणको गुनासो सुनिन्छ । रतुवामाई नगरपालिकाकी सेवाग्राही सविना वेगम भन्छिन्,‘कागज पूरा हुँदाहुँदै पनि काम ढिला भएर दुःख पाइयो ।’

आम जनताका तीता अनुभवले जनविश्वास घटाएको देखिन्छ । सरकारी निकायप्रति स्थानीय जनतामा निराशा ह्वात्तै बढेको छ । ‘पारदर्शिता र जवाफदेहिता अभावले विकासका प्रयासहरू पनि आलोचनाको घेरामा परेका छन्’, ग्रामथान गाउँपालिकाका स्थानीय अगुवा टिका खतिवडा भन्छन्,‘अब बन्ने सरकारले त्यसो नगरोस् भन्ने जनताको भावना देखिन्छ ।’

The struggle for employment and migration in the 'economic city' of the east

मोरङ आज संक्रमणको चरणमा छ । एकातिर औद्योगिक विरासत, उर्वर कृषि भूमि, व्यापारिक सम्भावना र सेवा क्षेत्रको विस्तार छ । अर्कोतिर उद्योग संकट, बेरोजगारी, डुबान, बसाइँसराइ र सुशासनका प्रश्न छन् । 
हरेक निर्वाचनमा रोजगारी सिर्जना मुख्य एजेन्डा बन्छ । उद्योग पुनःस्थापना र आधुनिकीकरण, कृषि आधुनिकीकरण, बजार व्यवस्थापन सुधार, डुबान नियन्त्रण र पारदर्शी प्रशासन लगायत दीर्घकालीन समाधानका आधार हुन सक्छन् ।

स्थानीयको अपेक्षा स्पष्ट छ, रोजगारी । तर, अपेक्षा र कार्यान्वयनबीचको दूरी नै मोरङको सबैभन्दा ठूलो चुनौती बनेको छ । ‘हाम्रो मुख्य समस्या नै बेरोजगारी हो’, जोगवनी नाकासँगै जोडिने महानगरको वडा १७ मटेरवाका स्थानीय मुस्लिम अगुवा अलाउद्दीन मियाँ भन्छन्,‘रोजगारी हुने भए विदेश पलायन रोकिन्थ्यो । अवैध काम धन्दा बन्द हुने थियो । साथै युवाहरु कुलतबाट जोगिन्थे ।’ 

वर्षौंदेखि बन्द जुट मिल अन्य उद्योगहरु पुनर्जीवित गर्न सक्दा रोजगारी सिर्जना हुने थियो । जसले  मोरङलाई फेरि पूर्वी नेपालको आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने थियो । अहिलेका लागि भने मोरङ बदलिँदो समयसँग जुधिरहेको छ । जहाँ खाली घर र बन्द काराखानाहरु छन् । तर, यसबीच पनि सम्भावनाको उज्यालो भने बाँकी नै छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully