उनले संविधानलाई ट्रयाकमा राख्न यो बाहेक अर्को सर्त नभएको दाबी गरे ।
काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचनको संशय चिरेर संविधानलाई सही बाटोमा ल्याउन सरकारलाई साथ दिने बताएका छन् ।
उनले यो योजनाको नभई बाध्यताको निर्वाचन भएको बताए । उनले संविधानलाई ट्रयाकमा राख्न यो बाहेक अर्को सर्त नभएको दाबी गरे । 'दायाँबायाँ नगरी र निर्वाचनको परिणाम नसोची निर्वाचनको विकल्प नभएको भन्दै आएकाले केही संशय निर्माण गर्न खोजिएको छ,' उनले भने ।
कांग्रेसले निर्वाचनबाट देशलाई संविधानको लयमा ल्याउने उनले दाबी गरे । भदौ २३ र २४ गते ज्यान गुमाउनेहरुलाई स्मरण गर्दै उनले यसलाई हेर्ने फरक फरक दृष्टिकोण भएको र त्यसैका लागि निर्वाचन भएको बताए । 'यस पटक यसलाई सम्बोधन नगर्ने हो भने अर्को वर्ष पनि २३ र २४ गते आउँछ,' उनले भने ।
एउटा पक्षले २३ गतेलाई इन्कार गरेको र सबै ठिकठाक भएको दाबी गरेको र अर्को पक्षले २३ गतेपछिको आफ्नो राजनीतिक रोटी सेकेकाले क्षति भएको उनको दाबी छ । उनले कांग्रेस त्योभन्दा फरक रहेको बताए । विगतमा सरकार बनाउने अनि प्रधानमन्त्री फेर्नेमा मात्र केन्द्रित भएको भन्दै उनले संविधानका कुरा अक्षरमा मात्र सीमित भएको भनाइ राखे ।
