सेतो कागजमा कालो रङमा निर्वाचन चिह्न भएको समानुपातिक मतपत्र छापिएको छ । मतपत्रमा ५८ वटा दलको निर्वाचन चिह्न छ । समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् ।
What you should know
काठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएको छ । मतपत्रसँगै आवश्यक सबै निर्वाचन सामग्री सम्बन्धित स्थानमा पुगिसकेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानस्थल केन्द्रित काममा निर्वाचन अधिकृतहरू खटिएको जानकारी दिए । १८ फागुनभित्र सबै मतदान केन्द्रमा निर्वाचन अधिकृतसहितका कर्मचारीहरू पुगिसक्नुपर्नेछ । सेतो कागजमा कालो रङमा निर्वाचन चिह्न भएको समानुपातिक मतपत्र छापिएको छ । मतपत्रमा ५८ वटा दलको निर्वाचन चिह्न छ । समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् ।
त्यस्तै, १ सय ६५ निर्वाचन क्षेत्रमा गरी प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवार छन् । निर्वाचन क्षेत्रअनुसार घटीमा ५ देखि ४५ जनासम्म उम्मेदवार छन् । कम उम्मेदवार भएका ठाउँमा सानो र धेरै उम्मेदवार भएका स्थानमा ठूलो आकारको मतपत्र तयार भएको छ । प्रत्यक्षतर्फ २ करोड ३ लाख प्रति मतपत्र छापिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीका सबै काम सकिएको बताए । ‘मतदान केन्द्रका लागि कर्मचारीहरू जाने क्रम सुरु भइसकेको छ,’ उनले भने, ‘अब विवेकपूर्ण निर्णय दिने पालो मतदाताको ।’ मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र मुगुका मतपत्र हेलिकोप्टरबाट पुर्याइएको छ । अन्यत्र भने स्थल मार्गबाटै मत पत्र पठाइएको आयोगले जनाएको छ ।
देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र कायम गरिएको छ । २०७९ को निर्वाचनका बेलाभन्दा यस पटक ७५ मतदानस्थल तथा ८ सय ८५ मतदान केन्द्र बढाइएको आयोगले जनाएको छ । त्यतिबेला १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र कायम थियो । निर्वाचन सुरक्षा योजनाका साथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरी फिल्डमा परिचालित भइसकेको प्रवक्ता भट्टराईले बताए । सबै गरेर ३ लाख ३९ हजार सुरक्षाकर्मी खटिएका छन् ।
त्यस्तै, २ लाख २२ हजार कर्मचारी खटिएको आयोगले जनाएको छ । एक हजारभन्दा कम मतदाता भएका मतदान केन्द्रमा ८ जना तथा हजारभन्दा बढी मतदाता रहेका केन्द्रमा ९ जना कर्मचारी खटाइएको छ । त्यस्तै, मतदाता शिक्षाका लागि देशैभर सबै वडामा गरी ६ हजार ७ सय स्वयंसेवक परिचालन गरिएको छ ।
अस्थायी मतदाता १ लाख ८६ हजार १ सय ४२ कायम छन् । ५ लाख अस्थायी मतदाता हुने अपेक्षा गरिएकामा त्योभन्दा थोरैले अस्थायी नामावलीमा नाम दर्ता गराएका छन् । संघ, प्रदेश वा स्थानीय तहमा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको नाम अस्थायी मतदाता सूचीमा लेखाउन पाउने प्रावधान छ । त्यस्तै, उक्त सूचीमा कारागारमा रहेका थुनुवा र कैदी, वृद्धाश्रममा बसेका व्यक्ति एवं संवैधानिक निकायका पदाधिकारीको नाम अस्थायी मतदाता नामावलीमा राख्न पाइन्छ । आयोगले त्यसका लागि एक महिनाको समय तोकेको थियो । अस्थायी मतदाता नामावलीमा नाम दर्ता भएकाले आफू खटिएकै स्थानको मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् ।
१८ फागुनको मध्यरातिबाट मौन अवधि प्रारम्भ भएपछि प्रचार निषेध हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगले गृह मन्त्रालयलाई निर्देश गरेको छ । त्यस्तै, मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्रीवितरणमा रोक लगाउने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई भनेको छ । त्यस्तै, मतदानका दिन पास प्राप्त गरेकाबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । २० फागुनको मध्यरातिदेखि २१ फागुनमा मतदान सम्पन्न नभएसम्म देशैभर सवारीसाधन सञ्चालनमा रोक लगाउने व्यवस्थाका लागि आयोगले सरकारलाई पत्राचार गरेको छ ।
मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र लिएर जानुपर्ने आयोगले भनेको छ । मतदाता परिचयपत्र नभएको खण्डमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, चालक अनुमतिपत्र वा जग्गाधनी पुर्जा लिएर मतदान केन्द्रमा जान सकिने आयोगले विज्ञप्ति जारी गर्दै जनाएको छ । यसैबीच आयोगले विभिन्न देशका निर्वाचन आयोगका प्रमुखहरूलाई नेपालको निर्वाचन पर्यवेक्षकका लागि निमन्त्रणा पठाएको छ । प्रवक्ता भट्टराईका अनुसार सार्कका सदस्य राष्ट्रहरू तथा आयोगलाई निमन्त्रणा पठाइरहने केही अन्य देशका आयोगलाई बोलाइएको छ ।
सार्कमा अफगानिस्तानबाहेक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका प्रमुख आयुक्तहरूलाई आयोगले निमन्त्रणा पठाएको छ । त्यस्तै, अस्ट्रेलिया, दक्षिण कोरिया, रुस, इन्डोनेसिया, मलेसिया र जापानका निर्वाचन आयोगलाई पनि निमन्त्रणा गरिएको प्रवक्ता भट्टराईले बताए । कुन–कुन देशबाट को–को आउने अहिलेसम्म सुनिश्चित भने भइनसकेको उनले जनाए ।
त्यस्तै, काठमाडौंमा रहेको संयुक्त राष्ट्रसंघसहित विदेशी कूटनीतिक नियोगहरूलाई पनि आयोगले निर्वाचन पर्यवेक्षणका लागि आग्रह गरिसकेको छ । काठमाडौंमा रहेका नियोगका प्रमुखहरूसँग आयोगले बिहीबार निर्वाचन पर्यवेक्षणका सन्दर्भमा छलफलसमेत गर्दै छ । ‘आयोगको निमन्त्रणामा बाहिरबाट आउने पाहुनाको आवासीय तथा भ्रमणसहितको सम्पूर्ण खर्च आयोगले बेहोर्नेछ,’ भट्टराईले भने, ‘यहाँ रहेका विदेशी नियोगका अधिकारीलाई निर्वाचन पर्यवेक्षणमा आयोगले सहजता गरिदिनेछ ।’
