चुनाव आउँदा मात्र सम्झिइने कपिलस्तुको जुवाबैराठ गाउँ

‘अहिले त उम्मेदवार देख्दा नै वाक्क लाग्छ,’ स्थानीय परदेशी थारुले भने, ‘काम गर्लान् भनेर एउटै पार्टीलाई मत दिएर जितायौं । तर, नेता त बुटवल, दाङ र काठमाडौं गएर आफ्नो जीवनस्तर सुधारे । हाम्रो त उस्ताको उस्तै ।’

फाल्गुन १४, २०८२

मनोज पौडेल

Juwabairat village in Kapilstu will only be remembered when elections come.

कपिलवस्तु — विजयनगर–१, जुवाबैराठका ८६ वर्षीय महादेव थारु यसपटक मतदान गर्न उत्साहित छैनन् । ०४३ वैशाख २९ मा भएको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनदेखि मतदान गर्न थालेका उनी नवौंपटक मतदान गर्न पर्खाइमा छन् । ‘तर, पहिलेको जस्तो यसपटक उमंग छैन,’ उनले भने, ‘मेरैअगाडि व्यवस्था बदलिए पनि हाम्रो अवस्था फेरिएन ।’ 

पञ्चायत ढलेर प्रजातन्त्र स्थापना भयो । प्रजातन्त्र पनि लोकतन्त्र हुँदै गणतन्त्र कालमा पुगिसक्यो । तर, जुवाबैराठका बासिन्दा आधरभूत आवश्यकताका लागि तड्पिनु परिरहेको छ । यहाँका बालबालिकाले पढ्न पाएका छैनन् । सहज हिँड्डुलका लागि बाटो छैन । उपचार गर्न स्वास्थ्य केन्द्र पनि छैन । अभाव र पीडामा रुमल्लिएको गाउँका कथा जति सोध्यो उति यहाँका बासिन्दालाई पीडा हुने गरेको छ । समस्या सुनाउँदा भक्कानिने गरेका छन् । 

०४३ सालमा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्यको चुनाव लडेका मंगलप्रसाद गुप्ताले ०७९ को संसदीय निर्वाचनमा सफलता हात पारे । ६ वटा निर्वाचनमा पराजय भोगेका गुप्ताले सातौं पटक यही क्षेत्रबाट विजयको माला पहिरिए । गुप्ताको हारको शृंखला टुटे पनि जुवाबैराठको अवस्था भने जहाँको त्यहीँ छ । भौगोलिक विकटता, अशिक्षा र गरिबीले गाउँ निकै पछाडि परेको छ । यो जिल्लाको पश्चिम उत्तरमा रहेको सीमावर्ती बस्ती हो । गाउँसँगै सटेर बग्ने अर्रा नदीले जिल्लाको मात्र नभएर दुई मुलुकको सीमा छुट्याएको छ । पूर्वाधारविहीन बस्तीमा जनप्रतिनिधि मात्र होइन, प्रशासक पनि पुग्दैनन् । थारु समुदायको बाहुल्य रहेको गाउँ पुग्नै सकस हुन्छ । यसको नजिक रहेको अर्को गाउँ नेवलागन्जसम्म ६ किलोमिटर वनको बाटो छिचोल्दै पुग्नुपर्छ । 

०७२ सम्म जंगलमा बाटो यकिन गर्नै गार्‍हो हुन्थ्यो । गोरेटो बाटो थियो । साइकलबाहेक केही चल्थेनन् । दसैं–तिहारका बेला झाडी सफा गरेर गाउँलेले हरेक वर्ष हिँड्ने बाटो तयार गर्थे । ०७३ मा तत्कालीन जिल्ला विकास समितिले ६/७ मिटरको चौडा बाटो बनाएपछि केही सहज बन्यो । तर, धुलाम्य बाटो कालोपत्र हुन सकेको छैन । वर्षाका बेला ४/५ महिना त हिँड्नै मुस्किल हुन्छ । बाटो हिलाम्य हुँदा साइकल डोर्‍याएर हिँड्नुपर्ने गाउँका बडघर पतिराम थारुले बताए । जंगलको बाटोमा २/३ वटा घोल छन् । ती घोल वर्षा हुनासाथ उर्लिएर बग्न थाल्छन् । त्यसले पनि आवतजावत गर्न समस्या हुने गरेको उनले बताए । 

बस्तीमा आधारभूत सुविधा पुर्‍याउन जनप्रतिनिधिले चासो नदिएका कारण चुनावप्रति स्थानीयमा उत्साह नजागेको हो । ‘नेताहरू आउँछन्, जान्छन्,’ उनले भने, ‘भेला गरेर आश्वास दिन्छन् ।’ १ सय ४५ घर भएको गाउँमा ५ कक्षाभन्दा माथि पढ्न विद्यालय छैन । कक्षा ६ मा अध्ययन गर्न ६ किलोमिटर टाढा नेवलागन्ज पुग्नुपर्छ । त्यहाँ पनि ८ कक्षासम्म मात्र पढाइ हुन्छ । ९ कक्षा पढ्न १० किमि टाढाको गुगौली पुग्नुपर्छ । 

जंगलको बाटो गुगौली जाँदा समस्या भएपछि पढाइ छाडेर बसेको स्थानीय सुस्मिता थापाले बताइन् । ‘बाटोमा चिरई र बिसुवा खोला पर्छ, त्यहाँ पुल छैन,’ उनले भनिन्, ‘जंगलको बाटो डर र त्रास उस्तै हुन्छ, त्यही भएर पढाइ नै छाडेँ । मजस्ता पढाइ छाडेर बसेका गाउँमा १५/२० जना छन् ।’ गाउँमा रहेको कामना आधरभूत विद्यालयमा भवन र शिक्षकको अभाव छ । कक्षा कोठा अभावमा बालविकास र कक्षा १ का विद्यार्थीलाई सँगसँगै राखेर पढाउने गरिएको छ । शिक्षक अभावमा कार्यालय सहयोगीले समेत पढाइरहेका छन् ।Juwabairat village in Kapilstu will only be remembered when elections come.

विद्यालयमा २ सय ८३ बालबालिका भर्ना छन् । तर, आधा मात्र आउँछन् । कक्षा ५ उत्तीर्ण गरेका ११ छात्रा पढाइ छाडेर बसेको विद्यालयकी प्रअ निशा सिग्देलले बताइन् । ‘तर, हाम्रो रेकर्डमा त्यति देखिएका हुन्,’ उनले भनिन्, ‘बाबु–आमाले ज्याला मजदुरीमा जाँदा छोराछोरीलाई पनि सँगै लिएर जाने भएकाले पढाइ छाड्ने दर बढेको हो ।’ आमाहरूलाई साक्षर बनाउन विद्यालयमा साँझमा आमा शिक्षा कार्यक्रम चलाए पनि सफल नभएको उनले बताइन् । यो विद्यालय ०६४ सालमा स्थापना भएको थियो । ०७० मा आएर ५ कोठे भवन बनेको थियो । 

यहाँका गाउँलेलाई घरगर्जो टार्न २२ किमि टाढा रहेको बजार जानु पर्छ । नेपालतिर चन्द्रौटा र भारततिर पचपेडवा पुग्नुपर्छ । दुवै बजार बराबर दूरीमा रहेका छन् । बिजुलीको बिल तिर्न ३० किमि टाढाको कृष्णनगर पुग्नु पर्छ । ०७४ सालमा गाउँमा बिजुली पुगेको थियो । चार वर्षअघिमात्र गाउँलेले मोबाइलमा कुरा गर्न पाएका हुन् । ०७८ मा नेवलागन्जमा नेपाल टेलिकमको बीटीएस टावर स्थापना भएपछि सञ्चार सहज बनेको छ । त्यसअघि निकै कष्ट रहेको स्थानीय परदेशी थारुले बताए । ‘त्यही भएर नेता उम्मेदवार देख्दा वाक्क लागेको छ,’ उनले भने, ‘काम गर्लान् भनेर एउटै पार्टीलाई मत दिएर जितायौं । गरिव विपन्नको जीवनस्तर सुधार्छन् भन्ने आस थियो । तर, नेता भने बुटवल, दाङ र काठमाडौं गएर आफ्नो जीवनस्तर सुधारे । हाम्रो त उस्ताको उस्तै ।’

आधारभूत स्वास्थ्य सेवा लिन ६ किमि पूर्वस्थित नेवलागन्ज पुग्नु पर्छ । वर्षाका बेला अर्रार् नदीको भेलले भारतसँग सम्पर्क टुट्छ । नेपालतिर हिलाम्य बाटो र २/३ वटा घोल बढेपछि आवतजावत ठप्प हुन्छ । भारतका भुकरा र भोजपुर बजारसम्म किनमेल गर्न जाँदा भारतीय सुरक्षाकर्मीले दुःख दिने गर्छन् । ‘उतै बस, यता नआऊ भन्छन् । त्यसैले भारतीय बजारमा जान मन लाग्दैन,’ स्थानीय हर्कबहादुर रानामगरले भने, ‘नेपालतिर बाटो राम्रो छैन । गाउँले कुवाको भ्यागुताजस्तै बनेका छन् । नेताले हामीलाई भोट बैंकमात्र बनाए ।’ 

पहिले जमिन्दारको बस्ती भए पनि अहिले कसैसँग एक बिघाभन्दा धेरै खेत छैन । धेरै हुनेको एक बिघा होला नत्र सरदर १२/१५ कठ्ठा छ । अधिकांशले ५/७ कठ्ठामा गुजारा चलाएका छन् । मुस्किलले खान पुगे पनि घरगर्जो टार्न नपुग्ने स्थानीय बताउँछन् । त्यही भएर ज्याला मजदुरी गर्न जानुपर्ने बाध्यता रहेको छ । माटाको पर्खाल र खरको छाना भएका घर छन् । केही घर टाटीले बारेर टिनको छानाका छन् । केहीका मात्र पक्की घर बनाएका छन् । जंगल नजिक भएकाले बाख्रा, कुखुरा र बंगुर पालेर जीविकोपार्जन गर्दै आएका छन् । सार्वजनिक सवारीका साधन चल्दैनन् । साधनका नाममा मोटरसाइकल र साइकल मुख्य छन् ।Juwabairat village in Kapilstu will only be remembered when elections come.

‘अहिलेको समयमा पनि हामीहरू कुवाको भ्यागुतो जस्तै बन्नु परेको छ,’ स्थानीय बलबहादुर थारुले भने, ‘मतदान गर्न पनि नेवलागन्ज पुग्नु पर्छ । त्यही भएर यसपटक जाने/नजाने दोधारमा छु ।’ गाउँमा चुनावको रौनक नदेखिएको उनले बताए । आय आर्जन र रोजगारका साथै जनचाहना अनुसारका विकास निर्माणका काम नगर्दा स्थानीयमा राजनीतिप्रति नै वितृष्णा बढेको उनले बताए ।

‘निर्वाचनमा कसैको दबाबमा नपरी मतदान गर्ने चेत पलाएको छ,’ उनले भने, ‘यो अवस्था हाम्रै नेताबाट सिर्जना गरिएको हो ।’ कपिलवस्तु–३ मा दलका १३ र २३ जना स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ लाख १८ हजार ४ सय ४ मतदाता रहेको यस क्षेत्रमा ७२ मतदान स्थलमा १ सय ४८ केन्द्र छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully