चुनावमा मन, भारतमा ज्यान

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले तयार पारेको सन् २०१९ को प्रतिवेदन अनुसार भारतमा रोजगारीका लागि अछामबाट मात्रै ७३ हजार ३ सय ४६ जना गएको उल्लेख गरिएको छ ।

फाल्गुन १३, २०८२

मेनुका ढुंगाना

Mind in elections, life in India

What you should know

अछाम — कति छन् भाइबहिनी हाम्रा, नेपालमा पढेका
को दिन्या हो यिनलाई भोट, सब भारत झरेका...

रोजगारी सिलसिलामा भारतको बिहार पुगेकी ढकारी–६, ढुंगाचाल्नाकी ३५ वर्षीया खिमा विकले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा देउडा गीतमार्फत आफ्नो असन्तुष्टि पोखिन् । सामाजिक सञ्जालमा उनले उल्लेख गरेको देउडा गीतमा जन्मथली छाडेर परदेशिनुको पीडा, चुनावका आश्वासनले उब्जाएको निराशा र युवा पुस्ताको भविष्यप्रतिको चिन्ता पोखिएको छ । सामाजिक सञ्जालमा उनले गीतको टुक्का पोस्ट गरेपछि धेरैको ध्यान पुगेको हो । 

‘चुनावका बेला मात्र नेताहरू गाउँ पुग्छन्, आश्वासन बाँड्छन्,’ खीमाले भनिन्, ‘चुनावपछि फर्किएर कोही आउँदैनन् ।’ लामो समयपछि चुनावमा मात्र फर्किने नेताले मतदाता लोभ्याउन आश्वासन बाँड्छन् । यस्ता आश्वासन कहिल्यै सत्य नहुँदा राजनीतिप्रति जनविश्वास खस्किएको उनले बताइन् । ‘गाउँघरमा रोड पुर्‍याउँछौं, उज्यालो ल्याउँछौं भन्छन्,’ उनले भनिन्, ‘चुनावपछि लात्तीले हानेजस्तो व्यवहार गर्छन् ।’ आफ्नो गुनासो सुनाएपछि उनले देउडा गीतको अर्को टुक्का सुनाइन्:

गाउँघरमा रोड पुर्‍याउँला, उज्यालो भनन्ना
चुनाव जिती सक्यापछि, लात्तीले हानन्ना ।

खिमा एमाले कार्यकर्ताका रूपमा सक्रिय थिइन् । पार्टीका कार्यक्रममा सहभागी भएर गीत गाउँथिन् । गीतमार्फत पार्टीको नीति र योजना जनतामाझ पुर्‍याएकी उनले जीवनको कठिन परिस्थितिमा पार्टी र नेताबाट अपेक्षित सहयोग नपाएको गुनासो गरिन् । ‘एमालेको सक्रिय कार्यकर्ता भएर काम गरेँ,’ खिमाले सुनाइन्, ‘मेरो जीवनमा ठूलै घटना भएको पनि धेरैलाई थाहा छ । कसैले वास्ता गरेनन् ।’ आफू अनुकूल जनतालाई प्रयोग गर्ने, झूटा आश्वासन मात्रै दिने काम गरेको उनले बताइन् । Mind in elections, life in India

आफूलाई दुःख परेका बेला कसैले वास्ता नगरेपछि कार्यकर्ता भएर डुल्नुभन्दा परदेश आएर काम गर्नु ठीक लागेको उनले बताइन् । उनका अनुसार पहिले सुदूरका पहाडी भेगबाट पुरुष कमाउन भारत जान्थे । अहिले ग्रामीण भेगबाट महिला पनि कामदारका रुपमा भारत आउन थालेको उनले बताइन् । घरायसी काम, सरसफाइ, वृद्धवृद्धा र बालबालिकाको हेरचाह, गाडी धुने काम महिलाले गरिरहेको उनले बताइन् ।

यहाँबाट कामका लागि भारत जाने युवाले बजारमा चौकीदारी, घरको रेखदेख, सरसफाइ, होटलमा भाँडा माझ्ने काम गर्छन् । तर, यसपटक चुनावका लागि बिदा मागेर गाउँ फर्किन नसकिने मंगलसेन–५ का पुष्प विकले बताए । ‘देशमा चुनावको माहोल सम्झिन्छु । जितेर जानेले राम्रो काम गरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘काम छोडेर भोट दिनमात्र जान सकिँदैन, हामीले यतै मजदुरी गरेर समय कटायौं । हाम्रा सन्तानले यस्तो दुःख भोग्न नपरोस् ।’ उनलाई पनि यसपटक काम गर्नेले चुनाव जितेको हेर्न मन छ । उनका अनुसार गाउँका अधिकांश व्यक्ति अहिले भारतमै छन् । जसले गर्दा धेरै सर्वसाधारणले मतदान गर्न नपाउने उनले बताए । 

सुदूरपश्चिमका जिल्लास्थित धेरै गाउँमा युवाको वैदेशिक रोजगारीको गन्तव्य भारत हो । धेरै बासिन्दा परदेशमै रहेकाले गाउँघरमा चुनावी माहोल फितलो हुने भारतमा कार्यरत ढकारी–७, थाराका मने नेपालीले बताए । ‘गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै बाँकी छन् । भोटर जति भारतमै छन्,’ उनले भने, ‘झूटा आश्वासन दिनेलाई भोट दिन जान पनि सकिँदैन, देशभित्र अवसर नपाएर विदेशिएकाले पनि मतदानमा सहभागी हुन पाउनु पर्ने हो । तर हाम्रो वास्ता कसैलाई छैन ।’

भारतको महाराष्ट्रमा रहेको कमलबजार–६ का मानबहादुर शाहीले नेपालको राजनीतिभन्दा धेरै बढी भारतकै बारेमा जानकारी रहेको बताए । ‘मेरो उमेर ५५ वर्ष भयो । मैले भारतमै काम गर्न जान थालेको ४० वर्ष भइसक्यो,’ उनले भने, ‘अछाममा कुन पार्टी, को नेता केही थाहा छैन, भारतमा निर्वाचन भयो भने मात्रै थाहा पाउँछु ।’ पहिले घर गएका बेला मतदाता नामावलीमा नाम दर्ता गरेर आएको उनले सुनाए । ‘अहिलेसम्म भोट हाल्न पाएको छैन,’ उनले भने, ‘भोटरकार्ड प्रयोगमा आउन गाह्रै छ ।’

चार दशकभन्दा बढी भारतमा रोजगारी गरे पनि अहिलेसम्म बस्ने ठाउँको ठेगान नभएको उनले बताए । ‘यहाँ पनि पढेलेखेका र जान्ने बुझ्नेले ठिकै काम पाउँछन्,’ उनले भने, ‘हामीजस्तो नपढेका व्यक्तिलाई राम्रो काम मिल्दैन ।’ उमेर पुगेका महिला–पुरुष मात्र नभएर बालबालिका पनि कामको खोजीमा आउनुपर्दा पढाइ छोड्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘घरायसी कामको बोझले छोराछोरीले पढ्न पाएका छैनन् । अभिभावकविहीन जस्तै छोराछोरी भएका छन्,’ उनले भने, ‘नेपालमै काम मिलेको भए यस्तो बिचल्ली हुने थिएन । देश फर्किने वातावरण नै भएन ।’

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले तयार पारेको सन् २०१९ को प्रतिवेदन अनुसार भारतमा करिब ३० देखि ४० लाख नेपाली कामदार कार्यरत छन् । संगठनकै तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारतमा सबैभन्दा धेरै मानिस गएका छन् । अछामबाट ७३ हजार ३ सय ४६ जना भारतमा रहेको तथ्यांकमा उल्लेख गरिएको छ । यसले सुदूरपश्चिमअन्तर्गत सबै जिल्लामध्ये अछामबाट धेरै जना भारत गएको देखिन्छ । भारतीय अधिकारीको अनुमान अनुसार ८० लाख नेपाली भारतका विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । 

अछामका विभिन्न ठाउँबाट कामको खोजीमा भारत गएका अछामी । तस्बिर : कान्तिपुर

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully