उम्मेदवारले घरदैलोमा पुगेर विगतमा जे–जस्तो भए पनि यसपटक ‘धोका’ नदिने प्रण गरिरहेका छन् । ठूला सपना देखाउन डराइरहेका उम्मेदवार नयाँ योजना धेरै बाँडिरहेका छैनन् ।
What you should know
भैरहवा — मध्य तराईका गाउँ सुनसानजस्तै छन् । सर्वसाधारण कामकाजमा व्यस्त छन् । यहाँका ग्रामीण क्षेत्रका बासिन्दालाई सुक्खा बारीमा पानीको जोहो कसरी गर्ने ? पानीको प्रबन्ध भइहालेमा मल खोज्न कहाँ जाने ? जसोतसो बीउ खोजेर उत्पादन गरेका तरकारी र फलफूल कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता छ । यस्तो चिन्ता एक्कासि उब्जिएका होइनन् । वर्षौंदेखि यहाँका किसान र कृषि उद्यमीलाई सिँचाइ, मल, बीउ र बजारको पिरलो छ । निर्वाचनमा उम्मेदवारले यिनै माग पूरा गर्ने आश्वासन दिएर सम्बोधन नगर्दा मतदाता निराश बनेका हुन् ।
मतदातामा देखिएको यो निराशा नयाँ दलका लागि स्वतः लाभ बनिरहेको छ । विगतमा पनि कामको थालनी गरिएको र अब त्यस्ता कामलाई तीव्रता दिन्छौं भनेर बुझाउन पुराना दललाई सकस भइरहेको छ । मुलुकमा लामो समय सत्तामा रहेका दलका उम्मेदवार घरदैलोमा पुग्दा मतदाताले असन्तुष्टि व्यक्त गरेको सुनिन्छ । विगतमा आश्वासन दिएर व्यवहारमा काम नगरिएको उनीहरूको भनाइ छ । मतदाताको उक्त असन्तुष्टि नयाँ दल र उम्मेदवारका लागि अनुकूल बनेको छ । पुराना दलले बदलिएर आएका छौं भनिरहेका छन् । नयाँ दलले ‘परिवर्तन’ देखाएर भोट मागिरहेका छन् । नयाँ–पुराना दलले सार्वजनिक गरेका स्थानीय वाचापत्रमा पूर्वाधार, स्वास्थ्य, शिक्षा, सिँचाइ, मल, बीउ र बजार व्यवस्थापन, खेल मैदानलाई समेटेका छन् ।
उम्मेदवारले यसपटक घोषणा शब्द छाडेर केन्द्रको सिको गर्दै ‘प्रतिज्ञा र संकल्प-पत्र’ सार्वजनिक गरिहेका छन् । घरदैलोमा पुगेर विगतमा जे–जस्तो भए पनि यसपटक ‘धोका’ नदिने प्रण गरिरहेका छन् । ठूला सपना देखाउन डराइरहेका उम्मेदवारका यस्ता वाचापत्रमा नयाँ योजना धेरै छैनन् । सपना बाँड्न डराउनुको एउटा कारण मतदातामा ‘एजेन्डा’ भन्दा तीव्र परिवर्तनको अपेक्षा देखिनु रहेको छ । जसले गर्दा दलले सञ्चालन गर्ने घरदैलो र कोणसभामा प्रतिबद्ध कार्यकर्ता बाहेक जनसमर्थन देखिँदैन । यसपटक ‘परिवर्तन’ शब्द मतदाताको जिब्रोमा झुण्डिएको छ । तर, उनीहरूले चाहेको शीघ्र परिवर्तन कसरी सम्भव होला ? त्यसप्रति भने उनीहरूको चासो देखिँदैन ।
पश्चिम नवलपरासीस्थित प्रतापपुर–९ का रामअवतार कलावरले यसपटक दलका वाचापत्र र आश्वासनप्रति कसैको चासो नदेखिएको सुनाए । उक्त पालिकाको अठलइनमा खाजा पसल सञ्चालन गरेर गुजारा चालाउँदै आएका उनले युवा, तन्नेरी र पाका पुस्ताले ‘परिवर्तन’ चाहेको बताए । ‘उम्मेदवारहरू गाउँ घुमिरहेका छन्,’ उनले भने, ‘तर, पहिलेजस्तो भीडभाड देखिँदैन ।’ चोक, चौतारामा कुराकानी हुँदा सबैले विगतका नेताले केही काम नगरेको दुखेसो पोख्ने गरेका छन् । कलवारको पसलअगाडिको बाटो पक्की भइसकेको छैन । १५/२० वर्षदेखि सडक निर्माणको माग गरे पनि पूरा हुन नसकेको उनले बताए । उनका अनुसार युवा, तन्नेरी र पाकाको रोजाइ फरक–फरक हुने देखिन्छ । ‘अहिले बाहिर देखिएको रुझान मतदानको एक/दुई दिनअगाडि परिवर्तन हुन सक्छ,’ उनले भने, ‘त्यसैले अहिले नै यो उम्मेदवार बलियो, त्यो उम्मेदवार कमजोर भन्न सकिँदैन ।’
बर्दघाट–१३ का किसुन कहार तरकारी कृषक हुन् । मौसमअनुसार तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । यतिबेला गाउँघरमा चुनावी मौसम चलिरहेको उनलाई जानकारी छ । तर, दलका प्रचारमा ध्यान दिने फुर्सद छैन । ‘तरकारी रोप्ने बेला मल पाइँदैन,’ उनले भने, ‘भारतबाट ल्याउँदा दुःख पाइन्छ ।’ सीमामा सुरक्षाकर्मीको हप्कीदप्की सहेर भए पनि भारतबाट मल ओसारेर खेतीपाती गरिरहेको उनले बताए । यो तराईको बाह्रमासे समस्या हो । यसबाहेक जमिनको तिरो रकम वृद्धि भएकामा उनलाई चित्त दुखेको छ । ‘पहिले दुई बिघाको २० रुपैयाँ कर बुझाउँथेँ,’ उनले भने, ‘अहिले वर्षको २४ सय रुपैयाँ तिर्नुपर्छ, एक/दुई रुपैयाँ वचत गरेर घर चलाउनेलाई त अन्याय भयो ।’ वडा कार्यालयले मल वितरणका लागि किसानलाई कुपन वितरण गर्छ । त्यो कुपन लिएर मलका लागि किसान रातभरि लाइन लाग्छन् । कर्मचारी बिहान १० बजे आएर मल बाँड्छन् । ‘रातभरि लाइन लागेर ४/५ किलो पाइन्छ,’ उनले भने, ‘किसानका समस्या भारी छन् ।’ यस्ता समस्या हल नहुँदा मतदाताले ढिलासुस्तीवाला प्रणालीमा परिवर्तन खोजेको उनले बताए । 
पश्चिम नवलपरासीको सरावल–४, गोबरडियाका रामकृष्ण गुप्ता तीन दिनअघि बारीमा भान्टा टिपेर बजार लैजाने तयारीमा थिए । उनका अनुसार यसपटक विगतका चुनावमा जस्तो ‘हा–हु’ कम छ । उम्मेदवार र दलका जिल्लास्तरीय नेता–कार्यकर्ता सक्रिय देखिए पनि गाउँ तहमा चुनावको रौनक छैन । ‘घरदैलोमा जो आयो, उसैलाई भोट दिन्छौं भनिरहेका छौं,’ उनले भने, ‘मतदाता चुपचाप छन् ।’ गाउँमा प्रचार–प्रचारले भन्दा पनि फेसबुक, युट्युव हेरेर चुनावको माहोल बनिरहेको उनले बताए । सर्वसाधारणको रुचि बुझेर होला धेरै उम्मेदवारले आफ्नो व्यक्तृत्व र योगदानको चर्चा गरेर भिडियो, रिल बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । ‘जेन–जी आन्दोलनले हो कि फेसबुक, टिकटकले यसपटक माहोल नै फरक छ,’ गुप्ताले भने, ‘बाहिर सबैलाई भोट हाल्छु भने पनि भित्री तयारी अर्कै छ ।’
रूपन्देहीको सिद्धार्थनगर–२ की कलावती बनियाँका अनुसार पहिलेका चुनावमा उम्मेदवार र कार्यकर्ताले घरदैलोमा आएर हैरान बनाउँथे । कसलाई भोट दिने/नदिने सोचेर निर्णय गर्नु पर्थ्यो । यसपालि फागुन दोस्रो साताबाट मात्र चुनाव आएको जानकारी मिल्यो । ‘पहिले सबै पार्टीका मान्छे आएर यो गर्छु, त्यो गर्छु भन्थे,’ उनले भनिन्, ‘यसपटक उम्मेदवारले गफ लगाएको सुन्दिनँ ।’ सिद्धार्थनगर–२ स्थित आफ्नै घरमा पसल सञ्चालन गरिरहेका नन्द कोहारले यसपटक देशैभरि ‘परिवर्तन’ को लहर आएको बताए । पहिलेजस्तो दलका कार्यकर्ताले आफ्नै चुनाव चिह्नमा भोट हाल्ने अवस्था नदेखिएको उनले बताए । ‘दलका आश्वासन सुन्दा–सुन्दा दिक्क भएकाले हो, परिवर्तन कसरी सम्भव छ भन्ने नबुझेकाले पनि परिवर्तनकै नारा लगाइरहेका छन्,’ उनले भने, ‘यसपटक दलका घोषणा सुन्ने फुर्सद कसैलाई छैन जस्तो छ ।’
रूपन्देहीको कोटहीमाई–५ का प्रेम हरिजनले ३० वर्षलेखि प्रत्येक चुनावको साक्षी रहेको बताए । ‘३० वर्षअघि मर्चवारको बाटोघाटो, शिक्षा, स्वास्थ्यको अवस्था जस्तो थियो, अहिले पनि त्यस्तै छ,’ उनले भने, ‘यस अवधिमा दलका वाचा र आश्वासन पनि फेरिएका छैनन् ।’ ग्रामीण क्षेत्रको अवस्था परिवर्तन गरे अर्को पटक निर्वाचन जित्न असहज हुने ठानेर पनि विकास निर्माणका काम गर्न नचाहेका हुन् कि भनेर नेताप्रति नै शंका लाग्न थालेको उनले बताए । यसपटक आफ्नो क्षेत्रमा पुरानासँगै नयाँ व्यक्ति उम्मेदवार बनेर आएको बताए ।
रूपन्देही–४ अन्तर्गत मर्चवारमा उम्मेदवारका वाचापत्र भन्दा उनीहरूले व्यक्तिगत रूपमा पार्ने प्रभावले मत प्रभावित गर्दै आएको उनले बताए । यस बाहेक जातीय र धार्मिक विषयले पनि मतमा असर गर्दै आएको उनले बताए । कोटहीमाई–५, का मोती लोधले विकास नगर्ने नेतालाई जिताएर पठाउनु भन्दा फेर्नु नै जाती हुने बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा पनि नयाँ दलप्रति आकर्षण देखिन्छ । तर, त्यस्तो आकर्षण मतदानसम्म टिक्छ टिक्दैन यकिन नहुने उनले बताए । ‘हाम्रो अवस्था जस्ताको तस्तै छ,’ उनले भने, ‘नेतालाई मात्र कति सहने ?’
कतै सहज, कतै असहज
पश्चिम नवलपरासी र रूपन्देहीका विभिन्न क्षेत्रबाट उम्मेदवार बनेका नेताले मतदातालाई सम्झाउन कतै सहज त कतै असहज भइरहेको बताए । उनीहरूका अनुसार जिल्लामा पूर्व–पश्चिम रार्गमार्ग आसपास र सीमावर्ती बासिन्दाका आवश्यकता र माग फरक छन् । राजमार्ग छेउछाउ आधुनिक विकास निर्माणका माग हुन्छन् भने सीमावर्ती क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीसित सम्बन्धित माग उठ्ने गरेका छन् । ‘परिवर्तनकारी शक्ति कांग्रेस फेरि जुर्मुराएको छ, नयाँ ढंगले उदाएको र स्पष्ट एजेण्डा बोकेको छ भन्ने आममानसिकता पाइरहेको छु,’ पश्चिम नवलपरासी– १, कांग्रेस उम्मेदवार विनोद चौधरीले भने, ‘मुलुकको चौतर्फी विकासमात्र होइन, लोकतन्त्र र प्रजातन्त्रको रक्षा पनि कांग्रेसले गर्न सक्छ भन्ने विश्वास सबैतिर देखिरहेको छु ।’
आफ्नो क्षेत्रमा सबैभन्दा ठूलो समस्या रोजगारीको देखिएकाले औद्योगीकरणमार्फत हल गर्न पहल गरिएको उनले बताए । सकभर विदेश गएको जनशिक्त फर्काउने गरी औद्योगिक क्षेत्र निर्माणमा लागिपरेको उनले बताए । ‘विदेशबाट युवाहरू फर्काएर यहीँको उद्योगमा रोजगारी दिने लक्ष्यसाथ काम गरिरहेको छु,’ उनले भने, ‘स्वास्थ्यतर्फ डायलासिस र ट्रमा सेन्टरसँगै चिसापानी अस्पतालको स्तरोन्नति गरिएको छ ।’ आफ्नो क्षेत्रमा धेरै काम गरे पनि त्यसको जानकारी मतदातासमक्ष पुग्न नसक्दा पुराना दल र नेताले केही गर्न नसकेको आरोप लागिरहेको उनले बताए । पूर्वाधार विकाससँगै सामाजिक पुनर्संरचना र महिला सशक्तीकरणका लागि आफूले काम गर्न चाहेको उनले बताए ।
एमाले रूपन्देही–४ का उम्मेदवार प्रमोद यादवले भौतिक पूर्वाधारले मात्र सामाजिक परिवर्तन सम्भव नभएको बताए । उनका अनुसार राज्यले पनि सीमावर्ती क्षेत्रमा आवश्यक स्वास्थ्य, शिक्षा, रोजगार, बाटोघाटो निर्माणमा ध्यान दिन सकेको छैन । अधिकांश विकास निर्माणका काम पूर्वपश्चिम राजमार्ग दायाँबायाँ केन्द्रित छन् । जसले गर्दा सीमावर्ती बासिन्दामा चर्को असन्तुष्टि देखिन्छ । ‘रूपन्देही–४ अन्तर्गतको मर्चवार नेपालकै भूभाग भन्ने पनि कतिपयलाई जानकारी छैन,’ उनले भने, ‘यसपटक सीमावर्ती बासिन्दाका विकासका मुद्दासँगै पहिचानको पनि कुरा उठिरहेको छ ।’ यसअघि भएका विकास कामबारे जनतालाई जानकारी गराउन र जनताका अपेक्षा सुनुवाइ नगरिँदा पुराना दललाई भोट माग्न पनि समस्या भइरहेको उनले बताए ।
पूर्व–पश्चिम राजमार्ग आसपास नयाँ बस्ती विकास हुनुका साथै त्यहाँ स्वास्थ्य र शिक्षामा लगानी धेरै भएको पाइन्छ । त्यसको तुलनामा पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुका सीमावर्ती पालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी नगरिएको रूपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्वल बोहराले बताए । ‘जिल्लाका उत्तरी भागमा आधुनिक सडक, खानेपानी र फोहोर व्यवस्थापनका मुद्दा छन्,’ उनले भने, ‘दक्षिणी भेगमा अहिले पनि शिक्षा र स्वास्थ्यमा पूर्वाधारको कमी छ । विशेषज्ञ चिकित्सक छैनन् । सामान्य बिरामी हुँदा पनि बुटवल र भैरहवा धाउनुपर्छ ।’ मुलुकमा लामो समय सत्ता सञ्चालन गरेका दलले जनभावना नबुझ्दा नागरिकमा असन्तुष्टि बढेको उनले बताए ।
रास्वपा रूपन्देही–५ का उम्मेदवार तौफिक अहमद खानले कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका अधिकांश बासिन्दा कृषिमा निर्भर रहेको बताए । दैनिक जीवन कृषिमा आधारित भए पनि उत्पादन वृद्धिका लागि चाहिने आधारभूत सुविधा प्राप्त नगरेको उनले बताए । प्रचारप्रसारका क्रममा घरदैलोमा पुग्दा सर्वसाधारणले मल, बीउ र सिँचाइको माग गरिरहेको उनले बताए । ‘मल वितरण प्रभावकारी नहुँदा किसानमा आक्रोश छ,’ उनले भने, ‘स्वदेशमा मल पाइँदैन, भारतबाट ल्याउँदा दुव्यर्वहार सहनु परेको छ ।’ सीमावर्ती बासिन्दा बीउका लागि पनि भारतीय बजारमा निर्भर रहेको उनले बताए । यहाँ उपलब्ध पुरान सिँचाइ प्रणाली मर्मत नगरिएको र नयाँ योजना लागू नगरिएका कारण किसान मर्कामा परेको उनले बताए । ‘विगतमा सिँचाइका लागि लागू गरिएका योजना पनि अलपत्र छन्,’ उनले भने, ‘यसअघि भ्रष्टाचार र सुशासनको अभाव प्रत्यक्ष भोगेका कारण यस्ता विकृति अन्त्यका लागि नागरिकले परिवर्तन खोजिरहेका छन् ।’
विश्लेषक युवराज कँडेलका अनुसार रूपन्देही क्षेत्र नम्बर १ मा २८ दशमलव ५, २ नम्बर क्षेत्रमा ५४ दशमलव ९, ३ नम्बरमा २२ दशमलव ७ र ५ नम्बरमा १९ दशमलव शून्य प्रतिशत मानिस जिल्लाबाहिरबाट बसाइँ सरेर आएका हुन् । कपिलवस्तु र पश्चिम नवलपरारीका अधिकांश पालिकामा बसाइँ सरेर आएका मानिस धेरै छन् । यसरी बसाइँ सरेर आएकामध्ये धेरै नागरिक मतदान गर्न आफ्नै जिल्ला फर्किनेछन् । ‘त्यसैले उम्मेदवारको पक्षमा नाराबाजी गर्ने र अघिपछि लाग्ने भीड हेरेर हारजितको अनुमान गर्नु मूर्खता हुन्छ,’ उनले भने, ‘मतदाताले उम्मेदवार मात्र चिनेर हुँदैन, उम्मेदवारले मतदाता पनि चिन्नुपर्छ ।’
