पाँचौंपटक प्रतिस्पर्धामा रहेका राईलाई प्रतिष्ठाको चिन्ता

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका राई नेपालगन्जको सहरी विकास र जिल्लाको भौतिक पूर्वाधार क्षेत्रमा आफूले पुर्‍याएको योगदानका कारण जित हासिल हुने दाबी गर्छन् ।

फाल्गुन १२, २०८२

रुपा गहतराज

Rai, who is running for the fifth time, is concerned about his reputation.

What you should know

नेपालगन्ज — मधेस आन्दोलनबाट स्थापित मोहम्मद इस्तियाक राई यसपटक बाँके–२ बाट प्रतिस्पर्धामा छन् । यही क्षेत्रबाट विजयी भएर दुईपटक मन्त्री भइसकेका उनले यसपटकको प्रतिस्पर्धालाई प्रतिष्ठाको विषय बनाएका छन् । 

तत्कालीन अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव राई यसपटक एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् । ०५३ सालमा राप्रपामा आबद्ध भएर उनले राजनीति सुरु गरेका थिए । २०६२/०६३ को जनआन्दोलनका बेला राई उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए । त्यसको दुई वर्षभित्रै उनी पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिवसम्म भए । आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार भएर हिरासत बसे ।

०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन फोरमबाट उम्मेदवार बनेर बाँके–२ बाट निर्वाचित भएका थिए । त्यसपछि ०६८ मा श्रम तथा यातायात व्यवस्था मन्त्री बने । ०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर सहरी विकास मन्त्री भएका थिए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद् सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा केही महिना भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । ०६४ मा संविधानसभा सदस्य निर्वाचनमा उनले १९ हजार ३ सय ९६ मत प्राप्त गरेर विजयी भएका थिए । 

०७४ सालमा संसदीय निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट २१ हजार ५ सय ७५ मत ल्याएर निर्वाचित भएका थिए । ०७० र ०७९ को निर्वाचनमा उनले हार बेहोरेका थिए । यसपटक हारको शृंखला तोड्ने अपेक्षासहित पाँचौंपटक चुनावी मैदानमा छन् । ०७० मा एमालेका दिनेशचन्द्र यादवसँग पराजित उनले ०७९ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणासँग हारेका थिए । 

राणाले राईलाई ६ हजार ५७ मतान्तरले पराजित गरेका थिए । राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दा जसपा उम्मेदवार राईले २३ हजार ५ सय २० मत ल्याएका थिए । राई आफ्नो कार्यकालमा गरेका विकासका कामबाट आफ्नो निर्वाचन क्षेत्रमा स्थापित छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका राई नेपालगन्जको सहरी विकास र जिल्लाको भौतिक पूर्वाधार क्षेत्रमा आफूले पुर्‍याएको योगदानका कारण जित हासिल हुने दाबी गर्छन् ।

यसपटक उनले सार्वजनिक गरेका प्रतिबद्धतामा आधुनिक क्रिकेट रंगशाला निर्माण गरेर नेपालगन्जलाई क्रिकेटको केन्द्रमा पुनः पहिचान दिने, नेपालगन्ज रंगशालामा सुविधा थप्दै सहरलाई खेलकुद हव बनाउने, नेपालगन्ज–नयाँदिल्ली सिधा हवाई उडान सञ्चालनका लागि संरचनागत विकास एवं कूटनीतिक पहल, नेपालगन्ज चक्रपथ आयोजना कार्यान्वयन गरिने बताएका छन् । 

बाँके–२ अहिले जिल्लाको चर्चित निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिका समेटिएका छन् । यसपटक एमालेबाट राई, कांग्रेसबाट सुधांशु कोइराला, राप्रपाबाट ऋषिराज देवकोटा, रास्वपाबाट विवेक श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्ट उम्मेदवार छन् ।

पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा यकिन गर्न सकिने अवस्था छैन । यस क्षेत्रमा १ लाख ५ हजार मतदाता छन् ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully