तामझामबिनै प्रचारप्रसारमा उम्मेदवार

जिल्लामा कांग्रेस र कम्युनिस्टका मत माग्ने भिन्न भिन्न शैलीले गाउँगाउँमा रौनक छाएको छ ।

फाल्गुन १२, २०८२

काशीराम डाँगी

Candidates campaign without fanfare

What you should know

रोल्पा — फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा उम्मेदवार र दलका नेता–कार्यकर्ता मतदाता भेटघाट र मत माग्न व्यस्त छन् । दलहरू दलबलसहित गाउँ–गाउँ मतदातासमक्ष पुगिरहेका छन् ।जिल्लामा कांग्रेस र कम्युनिस्टका मत माग्ने भिन्न शैलीले रौनक छाएको छ ।  

कांग्रेस उम्मेदवार डा. सुदनकुमार वली सानो तर छरितो टिमसहित गाउँ–गाउँ पुगिरहेका छन् । पाका नेता र युवासहित घरदैलोमा छन् । पार्टीको पकड मानिएका गाउँका घर र चोक चौतारामा पुगेर उनीहरू मत मागिरहेका छन् । आफैंले भिडियोमार्फत मत माग्ने गरेका छन् । ‘आदर र सम्मानसाथ आफ्नो बारेमा परिचय दिन्छु । अनि अहिलेको राजनीतिक अवस्थाबारे जानकारी गराएपछि मात्रै मत मलाई दिनुहोला भन्छु,’ कांग्रेस उम्मेदवार वलीले भने । उनलाई सघाउन पूर्वसांसद लेखनाथ आचार्य पनि खटिरहेका छन् । जनताको घरमै बास बसेर प्रचार गरिरहेको उनले बताए ।

यसअघिका निर्वाचनका क्रममा यस्तो प्रचार शैली थिएन । आचार्यका अनुसार गाउँमा पुग्दा कार्यकर्ताकै घरमा बास बस्ने गरेको पहिलो अनुभव हो । ‘यसपटक भने हामीले आफ्नै कार्यकर्ताको घरमा बास माग्ने, जे जुट्छ, त्यही खाने र गाउँलेसँगै दुःखसुखका कुराकानी गर्ने गरेका छौं,’ उनले भने, ‘यो बिलकुलै नयाँ र जनतासँग भिज्ने र रमाउने तरिका रहेछ ।’ २०५६ को संसदीय निर्वाचनमा रोल्पा–१ बाट प्रतिनिधिसभा सदस्यमा आचार्य निर्वाचित भएका थिए ।

वेइजिङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. वली आफैं पनि दुर्गम गाउँमा जन्मेका हुन् । दुःख कस्तो हुन्छ भन्ने अनुभव वलीले गरेका छन् । त्यसैले गाउँ पुग्दा पनि सामान्य तरिका मन पराउने गरेको कांग्रेस जिल्ला सचिव शेरबहादुर थापाले बताए । 

एमालेबाट गोकुलप्रसाद घर्तीमगर प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनी पनि निर्वाचन प्रचारप्रसारका लागि घरगाउँमा पुग्ने क्रममा छन् । एउटा सानो समूह बनाएर मतदाता भेट्न सबै पालिका पुगिरहेका छन् । तामझाम र खर्चिलो गतिविधि नगरेरै मतदाता भेट्ने उनको योजना छ । ‘जनताको घरमा बास बसेको देख्दा र जनतासँग बसेर उनीहरूसँगै खाना खाएको देखेपछि मेराबारे अनेक टिप्पणी आएछन्,’ उनले भने, ‘तर जनताको घरमा बास मागेर बस्नु महंगो होटलको स्वागतभन्दा निकै धेरै महत्त्वको हुन्छ ।’ 

यसअघि समानुपातिकबाट सांसद भएका उनी संसदीय दलका सचेतक समेत थिए । ‘संसदमा पुगेपछि कानुन बनाउने हाम्रो काम हो । साथै विकास निर्माणका योजनाबारे पनि चासो दिनुपर्छ,’ गाउँमा पुग्दा जनताले विकास योजनाको माग गर्ने तरिकाबारे उनले भने, ‘अर्कोतिर सांसदको स्थानीय योजना र विकासको खाका बनाउनु पनि त्यत्तिकै जिम्मेवारी हो । त्यसैले जनताले योजना माग गर्नु सामान्य नै हो ।’ 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं उम्मेदवार वर्षमान पुनले भने दुई–तीनवटा गाडीमा कार्यकर्ता लिएर यात्रा गरिरहेका छन् । उनी गाउँमा पुग्दा सानो खालको सभा नै आयोजना गर्ने गरिएको छ । त्यसो गर्दा कतिपय स्थानमा निर्वाचन आचारसंहिता पालना नगरिएको आरोप लाग्ने गरेको छ ।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully