पराजुली आइतबार राति नै सर्लाही पुगेका थिए
हेटौंडा — राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ बाट सोमबार बिहान टीकामाला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निरज बर्तौला पनि कांग्रेस प्रवेश गरेका छन् । पराजुली आइतबार राति नै सर्लाही पुगेका थिए ।
कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्वको शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको समाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।
मनहरी गाउँपालिका घर भएका पराजुली ६ मंसिर २०८१ मा भएको पार्टीको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए । पुरानो दल कांग्रेस छोडेर उनी रास्वपामा नेतृत्व लिन पुगेका थिए ।
रास्वपाबाट पराजुली २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पराजुलीले १२ हजार ३९ मत ल्याएर तेस्रो भएका थिए । पराजुली २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः उम्मेदवार हुन चाहन्थे ।पार्टीले टिकट नदिएपछि असन्तुष्ट थिए ।
