प्रदूषण न्यूनीकरण गर्दै प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षण गर्ने, पर्या–पर्यटनको फाइदालाई स्थानीयसम्म जोड्ने र जनस्तरमा विकासका कार्यलाई प्रोत्साहन गर्ने नीति, योजना र कार्यक्रम अघि सार्नुपर्नेमा संरक्षणकर्मीको जोड ।
What you should know
लुम्बिनी — यतिबेला मुलुकभरका उम्मेदवारले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी लगायत पूर्वाधार विकासका एजेण्डा सुनाएर मत मागिरहेका छन् । तर, उनीहरूले वातावरण संरक्षणलाई प्राथमिकता दिएको पाइँदैन । पर्या–पर्यटनलाई राष्ट्रिय विकास, अर्थतन्त्र, सांस्कृतिक संरक्षण र रोजगारी सिर्जनासँग जोडिएको महत्त्वपूर्ण उद्योगका रूपमा स्विकारिएको छ ।
तर, राजनीतिक दल र नेताले निर्वाचन लक्षित गरेर ल्याएका प्रतिबद्धता, वाचा, प्रतिज्ञा र घोषणापत्रमा भने भौतिक पूर्वाधार, बाटोघाटो, पुलपुलेसा र विकासलाई बढी जोड दिएको पाइन्छ । मतदातालाई प्रभावित गर्ने, भुलाउने योजना र कार्यक्रमलाई प्राथमिकता दिँदा पर्या–पर्यटन, वातावरण र जलवायु परिवर्तनका विषय ओझेलमा परेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
हिमाल, पहाड र तराईको भौगोलिक विविधता, मनमोहक विश्वप्रसिद्ध प्राकृतिक सौन्दर्य, चरा, वन्यजन्तु आकर्षण बोकेका उत्कृष्ट स्थल मुलुकमा छन् । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र उत्कृष्ट आतिथ्य संस्कृतिका कारण नेपाल विश्वकै उत्कृष्ट पर्या–पर्यटन गन्तव्यको सम्भावना बोकेको स्थलका रूपमा विश्व प्रसिद्ध रहेको लाटोकोसेरो कोष बेलायतका नेपाल प्रतिनिधि राजु आचार्यले बताए । विश्व प्रसिद्ध संरक्षण ह्वाइटली अवार्ड विजेता आचार्यले प्रकृतिमैत्री, पर्यटनप्रति मानिसको आकर्षण बढ्दै गएकाले अहिले विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटनको विधाका रूपमा पर्या–पर्यटन स्थापित रहेको उनले बताए ।
खुसी, आनन्द र उमंगका लागि प्राकृतिक वातावरणमा रमाउन र नजिकबाट प्रकृति नियालेर अध्ययन अनुसन्धानका लागि आउने अध्येताहरू पर्या–पर्यटक हुन् । ‘दललाई संरक्षण क्षेत्रको महत्त्वबारे जानकारीको अभाव रहेको छ,’ उनले भने, ‘त्यसो हुँदा चुनावमा एजेण्डा मात्र होइन, संसदमा नीति र योजना पनि बन्न सक्दैनन् ।’ थोरै पनि जोखिम लिन नखोज्ने, वातावरणका कुरा गर्दा कतै विकासका काम अवरोध हुन्छ कि भन्ने मानसिकताले पनि काम गरिरहेको उनले बताए ।
बाटोघाटो, पुलपुलेसा र भौतिक संरचनालाई मात्र विकास मान्ने तर आफूहरूले सास फेर्ने रुख र हावालाई पनि हराभरा र स्वच्छ बनाउनु पर्छ भन्ने ज्ञान नहुँदा संरक्षणका कुरा ओझेलमा परेको उनले बताए । संरक्षणविदका अनुसार संरक्षण र वातावरणका मुद्दामा दलले दूरदृष्टि राखेर काम नगर्दा नेपालले अपेक्षित फाइदा पाउन सकेको छैन । बर्सेनि करिब ४२ हजार नेपालीको अकालमा ज्यान लिने वायु प्रदूषण, जलवायु परिवर्तनले हिमाल र मानवलाई पारिरहेको असरप्रति संवेदनशील नहुनु र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनलाई न्यूनीकरण गर्न दलले खासै प्राथमिकतामा राखेको पाइँदैन ।
दिगो पर्यटन पूर्वाधार निर्माण गर्ने र नयाँ गन्तव्यको पहिचान तथा प्रवर्द्धन गर्ने विषयलाई दलले ओझेलमा राखेका छन् । ‘हामी अहिले पृथ्वीमा सहज रूपमा बसेका छौं, त्यो वातावरणले गर्दा नै हो,’ समुदायद्वारा नवलपुरमा सञ्चालित विश्वकै पहिलो जटायु रेस्टुरेन्ट (गिद्ध) व्यवस्थापन समिति संयोजक डीबी चौधरीले भने, ‘तर, पर्यावरणको ज्ञान नहुँदा समस्या भइरहेको हो ।’ नीति अभावमा दिगो संरक्षणको काम हुन नसकेकाले दलले संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर साझा दायित्व र कर्तव्य भन्ने ठानेर काम गर्नुपर्ने उनले बताए ।
‘प्रकृति हाम्रो प्राण हो,’ उनले भने, ‘प्रकृतिबिना हामी बाँच्न सक्दैनौं भन्ने जान्दाजान्दै नीति, योजना र कार्यक्रम बनाउन चुकिरहेको छौं ।’ क्षेत्रफलका हिसाबले विश्व मानचित्रमा नेपाल सानो भए पनि जैविक विविधताका दृष्टिले अग्रणी स्थानमा पर्छ । नेपालमा ३ सय ५० प्रजातिका वनस्पति र १ सय ६० प्रजातिका जीवजन्तु रैथाने छन् । नेपालमा विश्वका झन्डै ९ प्रतिशत चराका प्रजाति तथा २ प्रतिशत फुल फुल्ने वनस्पतिका प्रजाति पाइन्छन् । त्यस्तै ९ सय ३ प्रजातिका चरा र ६ सय ९५ बढी पुतलीका प्रजाति पाइन्छन् ।
तराईदेखि हिमाली क्षेत्रसम्म पाइने वनस्पति तथा जीवजन्तुमा पनि ठूलो विविधता छ । यस्तो विविधता हुँदा पनि दलले जनतालाई भोट बैंक बनाउने र भौतिक विकासका कुरा गर्दा जहिले पनि संरक्षण क्षेत्र ओझेलमा पर्ने गरेको बर्दिया नेचर गाइड एसोसिएसनका पूर्वअध्यक्ष राम शाहीले बताए । ‘संरक्षण क्षेत्रमा गरेको लगानीले तत्काल परिणाम आउँदैन,’ उनले भने, ‘त्यही भएर दलले मतदाता प्रभावित हुने काममा बढी ध्यान दिने गरेका छन् ।’ प्रकृति जोगाएर पर्यटन विकास नगरेसम्म मुलुकमा सम्मृद्धि नआउने उनले बताए ।
प्रदूषण न्यूनीकरण गर्दै प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षण गर्ने, पर्या–पर्यटनको फाइदालाई स्थानीयसम्म जोड्ने र जनस्तरमा विकासका कार्यलाई प्रोत्साहन गर्ने नीति, योजना र कार्यक्रम अघि सार्नुपर्ने संरक्षणकर्मीले बताए । दूरदराज क्षेत्रमा पर्या–पर्यटकीय पूर्वाधार निर्माण र लगानी अभिवृद्धि गरी स्थानीयको आय आर्जन वृद्धि गर्न प्राकृतिक स्रोतको दिगो उपयोगलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ ।
नेताहरूले बाटोघाटो, बिजुलीबत्ती भवनका कुरा बढी गरेर प्रकृति संरक्षणका काम भुलेको वरिष्ठ चरा तथा वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए । ‘जनतालाई स्वास्थ्य जस्ता कुरामा प्रत्यक्ष असर गर्ने काम छाडेको जस्तो देखिन्छ,’ उनले भने, ‘जुन दलले आफ्नो बाचा र घोषणापत्रमा वन्यजन्तु संरक्षणका नीति योजना कार्यक्रम बनाउँछन्, उनीहरूलाई सम्मान गर्नुपर्छ ।’
संरक्षणकर्मीका अनुसार नेपालका वन, वन्यजन्तु, प्राकृतिक मनमोहक दृश्य विदेशी पाहुना आकर्षण गर्ने अमूल्य निधि हुन् । एक अध्ययनले देखाएअनुसार नेपालमा आउने विदेशी पाहुनामध्ये ६० प्रतिशतभन्दा बढीले हाम्रा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्रको भ्रमण गर्न मन पराएको देखिन्छ । वार्षिक १२ लाखमा सीमित विदेशी पर्यटकको संख्या दुई/तीन गुणाले बढाउन नीतिगत स्पष्टता, पूर्वाधार सुधार, सन्जाल विस्तार र स्थानीय स्रोतको उपयोग अपरिहार्य बनेको उनीहरूको भनाइ छ । संरक्षण र वातावरण क्षेत्रमा गर्ने लगानीको नजिताका लागि १०/२० वर्ष कुर्नुपर्ने तर भौतिक पूर्वाधारका कामबाट तत्काल मतदाता फकाउन सक्ने हुँदा दल र नेताहरूको ध्यान त्यतातर्फ जाने कैलालीका चराविद् हिरूलाल डगौराले बताए ।
प्रकृतिमैत्री पर्यटनप्रति आममानिसको आकर्षण बढ्दै गएका कारण अहिले विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटनको विधाका रूपमा पर्या–पर्यटन अग्रणी स्थानमा रहेको उनले बताए । पर्या–पर्यटनको विकासका लागि राजनीतिक प्रतिबद्धता मात्र होइन, स्पष्ट कार्ययोजना, बजेट सुनिश्चितता र जवाफदेहितासहित युद्धस्तरको सुधार पर्खिरहेको पोखरा बर्ड सोसाइटीका पूर्वअध्यक्ष मनशान्त घिमिरेले बताए । नेपाली पर्यटन उद्योगको आत्मा पर्या–पर्यटनलाई दलले चुनावी वाचामात्र नबनाएर व्यवहारमै कार्यान्वयन गरेर देखाउन सके राम्रो प्रतिफल पाउने उनले बताए ।
