रौतहट–२ मा कांग्रेस र वामपन्थी दलबीच प्रतिस्पर्धा हुँदै आएको छ । ०४८ सालदेखि नै आलम परिवारसित वामपन्थी प्रतिस्पर्धामा छन् ।
What you should know
रौतहट — ‘आलाम परिवार’को विरासत जोगाउने र भत्काउने होडले रौतहट–२ को चुनावी माहोल तातेको छ । यस क्षेत्रमा कांग्रेस दिवंगत नेता मोहम्मद आफताव आलमका छोरा फिरदोस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का किरणकुमार साह आमनेसामने छन् । फिरदोसलाई पारिवारिक विरासत फर्काउने दबाब छ । अन्य दल त्यसलाई भत्काउने कोसिसमा देखिन्छन् ।
०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा साहले फिरदोसलाई हराएका थिए । त्यही निर्वाचनबाट साहले आलम परिवारको राजनीतिक ‘दबदबा’ तोडेका हुन् । त्यतिबेला स्वतन्त्र उम्मेदवार रहेका साहले अहिले नेकपा रोजेका छन् । यसपटक नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यहाँ प्रतिस्पर्धा गर्दै आएका पुराना पार्टीलाई दबाबमा राखेको छ । पुराना दल विरासत कायम राख्ने दौडमा छन् । नयाँ दल विरासत भत्काउने कसरत गरिरहेका छन् ।
साह र आलम बाहेक रास्वपाका शेख सागिर, एमालेका मोहम्मत अतिउल्लाह, जसपाका रामआशिष राय यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका सुरेन्द्रप्रसाद जैसवाल प्रतिस्पर्धा गरिरहेका छन् । यीमध्ये साह र आलम मात्र पुराना हुन् । वर्षौंदेखि रौतहट–२ कांग्रेस पृष्ठभूमिका आलम परिवारको राजनीतिक गढका रूपमा रहेको छ । यसअघि फिरदोसका बुवा मोहम्मद आफताव आलमले यहाँबाट पटक–पटक चुनाव जित्दै आएका थिए । आफतावको ०८२ कात्तिकमा उपचारका क्रममा निधन भइसकेको छ । बुवाको निधनपछि फिरदोसले राजनीतिक विरासत थाम्ने कोसिस गरिरहेका छन् । उनीमाथि पुरानो विरासत फर्काउन चर्को दबाब छ ।
उनका हजुरबुवा शेख इद्रिसले ०१५ सालको निर्वाचनमा प्रजापरिषदका तर्फबाट चुनाव जितेका थिए । कांग्रेसका पुराना नेतामध्ये इद्रिस एक हुन् । ०५४ सालमा उनको मृत्यु भएपछि भतिजा मोहम्मद आफतावले राजनीतिक विरासत सम्हालेका थिए । ०५४ को उपनिर्वाचन जितेपछि पहिलोपटक संसदीय यात्रा थालेका आफतावले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भान्जा मोहम्मद मुस्ताक आलमसित चुनाव हारेका थिए । धेरैले त्यसलाई पनि आलम परिवारभित्रकै जित ठान्थे । ०७४ मा आफतावले चुनावको नतिजा आफ्नो पोल्टामा पारे ।
त्यसपछि उनको राजनीतिक यात्रा सहज रहेन । चर्चित राजपुर बमकाण्ड भएको १८ वर्षपछि सोही मुद्दामा ०७६ असोजमा आफताव पक्राउ परे । उनको सांसद पद पनि निलम्वित भयो । उनी जेल चलान भएपछि रौतहट–२ को राजनीतिले पनि कोल्टे फेर्यो । उक्त मुद्दामा उनलाई जेल सजाय भयो र नख्खु जेलमा परेकै बेला गम्भीर बिरामी परे । उच्च अदालत वीरगन्जले ०८२ जेठ २४ गते उनलाई सफाइ दिएलगत्तै अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भयो । बुवाको अनुपस्थितिमा उनका समर्थकलाई एकबद्ध बनाइराख्नु फिरदोसका लागि चुनौती छ । 
बुवाको ‘कमान्डिङ’ व्यक्तित्वका सामु फिरदोस राजनीतिमा नयाँ र कम अनुभवी मानिन्छन् । नेपाली राजनीतिमा प्रायः प्रयोग हुने ‘सहानुभूति’ को कार्ड यसपटक उनले खेल्न सक्ने अन्य पार्टीका उम्मेदवार सुनाउँछन् । आफ्ना बुवालाई षड्यन्त्रपूर्वक फसाइएको भाष्य निर्माण गरेर अहिले उनी भोट तान्ने प्रयासमा देखिन्छन् । आलम परिवारको बलियो पकड भएको क्षेत्रमा यसपटक नेकपा, जसपा, प्रगतिशील लोकतान्त्रिक पार्टी र एमालेले आफ्नो संगठन विस्तार गरेका छन् । जेन–जी आन्दोलन र बालेन्द्र शाहको क्रेजले पनि यस क्षेत्रमा अन्य दलको प्रभाव बढेको देखिन्छ ।
नयाँ–पुराना दल कांग्रेसको ‘गढ’ भत्काउन आक्रामक देखिन्छन् । ०७९ मा यस क्षेत्रमा रास्वपाको उपस्थिति कमजोर थियो । त्यसबेला रास्वपाबाट उम्मेदवारी परेको थिएन । यसपटक रास्वपाले सागिरलाई उम्मेदवार बनाएर सक्रियता बढाएको छ । पहिचान र परिवर्तनको नारा लगाइरहेको रास्वपाले रौतहट–२ मा जित सुनिश्चित गर्न अभियान थालेको जनाएको छ । पुराना दल र विरासतको राजनीतिबाट दिक्क भएका युवा र केही तटस्थ मतदातामाझ सागिरले प्रभाव बनाउन खोजिरहेको देखिन्छ । ‘शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएको छु,’उनले भने, ‘जनताले परिवर्तन चाहेका छन् । त्यसैले क्षेत्रमा पनि नेतृत्व परिवर्तन हुन्छ ।’
परम्परागत रूपमा यस क्षेत्रमा कांग्रेस र प्रभावशाली स्थानीय नेताको पकड रहेको मानिन्छ । सागिरको मुख्य प्रतिस्पर्धा कांग्रेसका फिरदोस र ०७९ मा स्वतन्त्र उम्मेदवार बनेर जितेका किरण कुमारसँग हुँदैछ । गत माघ २२ गते प्रचारप्रसारका क्रममा सागिरको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएपछि माहोल केही गम्भीर र असहज बनाएको छ । यसले विपक्षीलाई आलोचना गर्ने बाटो दिए पनि सागिर र पार्टीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । मधेशमा रास्वपाको लहर कत्तिको छ भन्ने कुराको परीक्षण यस क्षेत्रको नतिजाबाट हुने देखिएको छ ।
यहाँ फिरदोस र किरणबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । रास्वपाका लागि पुराना शक्तिको भोट बैंक खोस्नु चुनौती देखिएको छ । जिल्लामा जातीय र क्षेत्रीय एजेन्डा बलिया हुन्छन् । त्यसैले रास्वपाले सुशासन र भ्रष्टाचार निवारणको नारालाई कसरी स्थानीय माटो सुहाउँदो बनाउँछ, त्यसमै उसको प्रभाव निर्भर रहनेछ । रास्वपा अहिले यस क्षेत्रमा निर्णायक भन्दा उदाउँदो वैकल्पिक शक्तिका रूपमा काम गरिरहेको छ । माओवादी पृष्ठभूमिबाट उदाएका शुरेन्द्र जैसवाल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिस्पर्धामा छन् । उनी तत्कालीन माओवादीबाट समानुपातिक सभासद हुन् । यस क्षेत्रमा धेरै विकास निर्माणका काम गरेकाले यस पटक जनताले चुन्नेमा उनी ढुक्क देखिन्छन् । ‘जनताको हातमा मतपत्र छ,’ उनले भने, ‘यसपटक समय खेर फाल्नु हुन्न ।’
यस क्षेत्रमा ०१५, ०४८, ०५१ मा कांग्रेस नेता इद्रिसले निर्वाचन जिते । उनको ०५४ जेठमा मृत्युपछि भएको उपनिर्वाचनमा भतिज मोहम्मद आफताव आलमले जिते । त्यसपछि ०६४ पहिलो संविधानसभा निर्वाचनमा पनि आलमले जिते । जतिखेर निर्वाचनको पूर्वसन्ध्यामा राजपुरमा बम विस्फोट भएको थियो । ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा आलमका भान्जा मोहम्मद मुस्ताकले मामालाई ३ हजार ४५ मतान्तरले पराजित गरे । ०७४ मा फेरि आफताव विजयी भए । ०७९ मा स्वतन्त्र उम्मेदवार किरणकुमारको हातमा आलम परिवारको विरासत पुग्यो । साहले ३२ हजार ८ सय ४२ मत ल्याएर विजयी भए । त्यतिबेला फिरदोसले २८ हजार २ सय ४८ मत पाएका थिए । ०७४ को चुनावमा पनि आफतावका प्रतिद्वन्द्वी साह नै थिए ।
यसपटक शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, ग्रामीण सडक, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रको समग्र विकास प्रमुख चुनावी एजेन्डा रहेको फिरदोसले सुनाए । आफ्ना लागि निर्वाचन केवल एक सिटको लडाइँ मात्र नभएर परिवारको राजनीतिक विरासत कायम राख्ने परीक्षा भएको उनले बताए । बुवाको निधनपछि सिर्जना भएको राजनीतिक शून्यता चिर्न कांग्रेसका पुराना कार्यकर्ता एकीकृत गर्न उनी सक्रिय देखिन्छन् । चिकित्सा पेसा छाडेर राजनीतिमा होमिएका आलमले यसपटक विकास र न्यायलाई पनि आफ्नो एजेन्डा बनाएका छन् । उनलाई सहानुभूति भोट र पार्टी संगठनको साथ छ । यो मुस्लिम बाहुल्य क्षेत्र हो ।
आलम पक्षधर र विरोधी कित्ता
रौतहट–२ को राजनीति अहिले पनि ‘आलम पक्षधर’ र ‘आलम विरोधी’ कित्तामा विभाजित छ । आफताबको मृत्यु भए पनि उनको प्रभाव कायम छ । तर, अहिले राजनीतिमा नयाँ शक्ति र अनुहारको उदयले विगतको जस्तो सहज भने देखिँदैन । अधिकांश उम्मेदवारले मतदातामाझ ‘हिंसाको राजनीति गर्ने कि विकासको’ भन्ने प्रश्न गर्न थालेका छन् । जसले तटस्थ मतदातालाई फिरदोसबाट टाढा लैजान सक्छ ।
नेता आफताबको मृत्युले यस क्षेत्रमा कांग्रेसलाई धक्का लागेको छ । यस क्षेत्रको राजनीति तरल र चुनौतीपूर्ण हुने गरेको छ । विगतका चुनावमा हिंसा र झड्पले चर्चा पाउने गरेको क्षेत्र हो । तर, पछिल्लो चुनावमा सुरक्षा सतर्कता र कानुनी सक्रियताले मतदाताले निर्धक्क आफूलाई मन परेको उम्मेदवार छान्न सक्ने वातावरण बनेको छ । नयाँ पुस्ताका मतदाताले हिंस्रक घटना र पुरानो विरासतभन्दा पनि सुशासन र विकास चाहिरहेको देखिन्छ । परोहा नगरपालिका–१ स्थित जिंगडवा गाउँका युवा शेख रुस्तमले परिवर्तन अहिलेको आवश्यकता भएको सुनाए । ‘जनता सुशासन र विकास, भ्रष्टाचारमुक्त समाज चाहन्छन्,’ उनले भने, ‘यी कुरा पूरा गर्नेलाई मत दिने हो । हैन भने चुनावको अर्थ छैन ।’
यसपटकको निर्वाचनलाई विरासत जोगाउने मात्र नभई त्यसलाई जनअपेक्षाअनुसार रूपान्तरण गर्ने अवसरका रूपमा लिइएको राजनीतिक विश्लेषक बिन्दा सहनीले बताए । रौतहट–२ विकासका हिसाबले अझै पनि पछाडि परेको क्षेत्र हो । यहाँको सडक, सिँचाइ, गुणस्तरीय विद्यालय, अस्पताल तथा रोजगारीको अभाव रहेको स्थानीय महेश बैठाले बताए । ‘यस क्षेत्रलाई नेताले भोट बैंकका रूपमा मात्र नभई विकासको नमुना क्षेत्र बनाउने समय आएको छ,’ उनले भने, ‘यसपटकको चुनाव व्यक्ति–व्यक्तिको मात्र नभई विकासको दृष्टिकोण र राजनीतिक जिम्मेवारी बोधको प्रतिस्पर्धा हुनुपर्छ ।’
विगतको नतिजा हेर्दा यस क्षेत्रमा जित–हारको अन्तर कम रहने गरेको छ । यसअघिका चुनावमा मुख्य प्रतिस्पर्धा कांग्रेस र वामपन्थी गठबन्धनबीच देखिएको छ । रौतहट–२ मा विशेष गरी ईशनाथ, राजपुर र बौधीमाई जस्ता पालिका पर्छन् । मतदाताले यसपटक स्वास्थ्य, शिक्षा र बाढी नियन्त्रणजस्ता आधारभूत मुद्दालाई प्राथमिकता दिएका छन् । फिरदोस आफू चिकित्सक भएकाले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने आश्वासन दिइरहँदा विपक्षीले भने ‘वंशवाद’को मुद्दा उठाएर उनलाई घेर्ने प्रयास गरिरहेका छन् ।
कांग्रेसका लागि अघिल्लो हारको बदला लिने र आफ्नो राजनीतिक यात्रालाई मजबुत बनाउने सुनौलो अवसर छ भने साहका लागि आफ्नो साख जोगाउने चुनौती पनि हो । लामो समय माओवादीमा संलग्न भएर राजनीति गरेका किरण मधेशवादी दल हुँदै स्वतन्त्र उम्मेदवारबाट एमाले हुँदै अहिले नेकपा प्रवेश गरेका छन् । यसपटक रौतहट–२, मा २६ जना उम्मेदवार छन् । जसमध्ये १२ जना स्वतन्त्र छन् । मत बाँडिने सम्भावना प्रबल भएकाले थोरै मतान्तरले पनि नतिजा प्रभावित हुन सक्छ ।
यस क्षेत्रका मतदाता दुई धारमा बाँडिएका छन् । एकथरी, विरासत जोगाउन पुरानै दल र परिचित अनुहारलाई नै निरन्तरता दिन चाहन्छन् भने अर्कोथरी परिवर्तनका लागि नयाँ दल र नयाँ अनुहारलाई अवसर दिएर भ्रष्टाचार अन्त्य गर्न चाहन्छन् ।
एमालेका मोहम्मत अतिउल्लाह पनि वामपन्थी नेता हुन् । सरकारी जागिरबाट अवकाश पाएपछि उनी राजनीतिमा होमिएका हुन् । विगतको मत परिणामका आधारमा उनी पनि जोडदार प्रतिस्पर्धामा छन् । जसपाका राम आशिष राय पनि चुनावी प्रतिस्पर्धामा छन् । यसअघि उनी जिल्ला समन्वय समितिका उपाध्यक्ष थिए ।
रौतहट–२ मा कांग्रेस र वामपन्थी दलबीच प्रतिस्पर्धा हुँदै आएको छ । ०४८ सालदेखि नै आलम परिवारसित वामपन्थी प्रतिस्पर्धामा थिए । वामपन्थी नेता विष्णुबहादुर मानन्धर, शैलेन्द्र साह, अब्दुल कलाम आजाद र किरणकुमार साहले आलम परिवारको विरासत भत्काउने प्रयास गरेका थिए ।
रौतहटको ग्रामीण भेगमा जातीय समीकरणले चुनावी परिणाम तय गर्छ । चुनाव जित्न टोल–टोलमा कार्यकर्ता र बुथ तहसम्मको बलियो संगठन चाहिन्छ । रास्वपाको हकमा रौतहटमा अझै पनि तल्लो तहसम्म भरपर्दो सांगठनिक संरचना बनिसकेको छैन । स्थापित नेतासँग भिड्नका लागि आवश्यक ‘ग्राउन्ड नेटवर्क’ तयार गर्नु रास्वपाका लागि प्राथमिक चुनौती हो । यस क्षेत्रमा प्रभावशाली र बाहुबली भनिएका नेताको पनि उपस्थिति रहने गरेको छ । यस्तो परिवेशमा निर्धक्क भएर मतदातालाई आफ्नो पक्षमा पार्न नयाँ दलका उम्मेदवारलाई चुनौती हुन सक्छ ।
