पछिल्लो समय जनतामा पुराना दलले केही गर्न नसकेको भन्ने चर्को आक्रोश छ । जसको फाइदा रास्वपा उठाउने दाउमा छ ।
What you should know
वीरेन्द्रनगर — वर्षौंदेखि कांग्रेस–एमालेले आलोपालो जित्दै आएको सुर्खेत–२ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनौती पेस गरेको छ । कर्णाली प्रदेश राजधानी रहेको क्षेत्र २०४८ यता मुलुकका दुई प्रमुख दलबीच प्रतिस्पर्धा हुँदै आएको थियो । कांग्रेस र एमालेको संगठन बलियो भएको क्षेत्रमा यसपटक रास्वपाले बाजी मार्न सक्ने आकलन गर्न थालिएको छ ।
०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ रास्वपाले पाएको मतका आधारमा यसलाई जित निकाल्न सकिने क्षेत्रमा राखेको हो । पुराना दलले काम गर्न नसकेको आरोपबीच विकल्पका रूपमा आफ्नो दल आएको भन्दै मत तान्ने रणनीतिमा रास्वपा देखिन्छ । चुनावी माहोल, प्रमुख दलको सांगठनिक अवस्था, विगतको चुनावी परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।
कांग्रेस र एमालेले सांगठनिक भोट जोगाउन नसकेको खण्डमा रास्वपालाई फाइदा हुने देखिएको स्थानीय व्यापारी चिन्तामणी शर्माले बताए । पछिल्लो समय जनतामा पुराना दलले केही गर्न नसकेको भन्ने चर्को आक्रोश छ । जसको फाइदा रास्वपा उठाउने दाउमा छ । सुर्खेत–२ का निर्णायक मतदाता वीरेन्द्रनगरमा छन् । सुर्खेत–२ का १७ उम्मेदवारमध्ये १६ जना वीरेन्द्रनगरकै छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कविराम पुरीबाहेक सबै उम्मेदवार वीरेन्द्रनगरका छन् । यसपटक सबै नयाँ अनुहार चुनावी मैदानमा छन् । कांग्रेसका नारायण कोइराला, एमालेका कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का झकबहादुर मल्ल (सुदीप), रास्वपाका रमेश सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुरीसहित १७ जना प्रतिस्पर्धामा छन् ।
कांग्रेस उम्मेदवार कोइराला वीरेन्द्रनगरस्थित रेडियो भेरीका अध्यक्ष हुन् । सुर्खेत उपत्यका विकास समितिको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । कांग्रेस क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ । एमाले उम्मेदवार देवकोटा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिकामा छन् । देवकोटा पार्टीको जिल्ला अध्यक्ष हुन् । नेकपाका उम्मेदवार मल्ल पार्टीका केन्द्रीय सदस्य हुन् । उनी सशस्त्र युद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय थिए ।
रास्वपा उम्मेदवार सापकोटा यातायात व्यवसायी हुन् । काँक्रेविहार यातायात प्रालिका अध्यक्षसमेत हुन् । यसअघि कांग्रेसको वीरेन्द्रनगर नगर समितिका सचिव थिए । अहिले रास्वपाका जिल्ला सभापति हुन् । राप्रपा उम्मेदवार पुरी पार्टीका जिल्ला अध्यक्ष हुन् ।
कांग्रेस पृष्ठभूमिका रास्वपा उम्मेदवार सापकोटाले कांग्रेसका भोट काट्दा सांगठनिक भोट जोगाउन सके एमालेलाई फाइदा हुने निश्चित छ । तर, सापकोटाले कांग्रेसका भोट काट्न सकेनन् भने पुनः कांग्रेसलाई फाइदा हुने विश्लेषण गरिएको छ । यसपटक फेरि रास्वपाले काट्ने मत कांग्रेस, एमाले दुवैको हुनेछ ।
गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनमा हृदयराम थानी विजयी भएका थिए । उनीसँग एमालेका अमृतबहादुर बुढाक्षेत्री पराजित भएका हुन् । थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गर्दा एमालेका बुढाक्षेत्रीले २९ हजार ५ सय ५८ मत पाएका थिए । रास्वपाका टेकबहादुर चुनाराले ४ हजार ६ सय १ मत प्राप्त गरेका थिए ।
समानुपातिकमा एमालेले २५ हजार ८६ मत प्राप्त गरेको थियो भने कांग्रेसले २३ हजार १० समानुपातिक मत प्राप्त गर्दा तत्कालीन नेकपा माओवादी केन्द्रको १० हजार ५९ समानुपातिक मत थियो । रास्वपाको समानुपातिक मत ६ हजार १ सय ४६ थियो । राप्रपाको ३ हजार ९ सय ७५ थियो । सुर्खेत–२ मा वीरेन्द्रनगरका १ देखि १४ वडा र पश्चिम क्षेत्रका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्छन् ।
