सीमाका मतदाता भन्छन् : ‘रोजगारी ग्यारेन्टी गर्नेलाई भोट’

‘अधिकांशको धनीपुर्जा छैन,’ वडाध्यक्ष समिम कमर मियाँ भन्छन्, ‘नागरिकता पनि धेरैको बन्न बाँकी नै छ ।’

फाल्गुन १०, २०८२

पर्वत पोर्तेल

Border voters say: 'Vote for those who guarantee employment'

What you should know

विराटनगर — मोरङ क्षेत्र नं ५ मा विराटनगर महानगरपालिकाका १७ र १८ नम्बर वडा पनि पर्छन् । यी वडा भारतीय सीमा क्षेत्रसँग जोडिएका छन् । खास गरी विहारको जोगवनीसँग यी वडाको साँध जोडिन्छ । 

सीमावर्ती यी वडा विकासका हिसाबले अन्य वडाभन्दा निकै पिछडिएका छन् । यहाँ चरम बेरोजगारी छ । मुस्लिम समुदाय बहुल यो क्षेत्रका अधिकांशको रोजीरोटीको आधार नै छैन । ‘सरकारले न रोजगारी दिन्छ, न वारिपारि गर्न सहज सुविधा नै,’ स्थानीय मो अक्तर आलम दुखेसो पोख्छन्, ‘रोजगारी पाए यो दुःखको काम गर्न कसलाई मन हुन्छ र !’ 

उनले रोजगारीको ग्यारेन्टी दिने पार्टी र नेतालाई मात्रै अबको चुनावमा भोट दिने बताए । फुल्न थालेका दाह्री मसार्दै उनले थपे, ‘जसले काम दिन्छ, त्यसलाई भोट दिने हो ।’ 

वडा कार्यालयको तथ्यांक अनुसार १७ नम्बर वडामा करिब २ हजार ६ सय घरधुरी छन् मुस्लिम समुदायको । जनसंख्या करिब २५ हजार छ । वडाध्यक्ष समिम कमर मियाँका अनुसार अधिकांश घरधुरी ऐलानी जमिनमा छन् । ‘अधिकांशको धनीपुर्जा छैन,’ वडाध्यक्ष मियाँ भन्छन्, ‘नागरिकता पनि धेरैको बन्न बाँकी नै छ ।’ Border voters say: 'Vote for those who guarantee employment'

यहाँका स्थानीय भारतबाट सामान ल्याएर गुजारा चलाउँछन् । ‘वारिपारि नगरी त हातमुख जोड्नै समस्या छ,’ स्थानीय युवा सर्फराज मियाँ भन्छन्, ‘यहाँका धेरैजसो मान्छेको रोजगारी नै यही हो ।’

केही युवा वैदेशिक रोजगारीमा छन् । केही जुट मिलमा मजदुरी गरिरहेका छन् । केही चाहिँ वारिपारिबाट प्राप्त पैसा लागू पदार्थ दुर्व्यसनमा खर्च गरिरहेका छन् । २० वर्षमुनिका अधिकांश किशोर दुर्व्यसनको दलदलमा फसेको स्थानीय ६८ वर्षीया जरिना खातुनले बताइन् । थपिन्, ‘दुई मिनेटमा भारत पुगिन्छ, त्यहाँबाट गाँजा, चरेस किनेर खान्छन् ।’ 

मोरङ–५ मा तीव्र प्रतिस्पर्धा

यो निर्वाचन क्षेत्र झापा–५ जस्तो चर्चाको शिखरमा त छैन । तर, चर्चित चाहिँ छ । २०७९ मा स्वतन्त्र उठेर जितेका योगेन्द्र मण्डल दलसहित मैदानमा छन् । यसपटक सबै दलहरू एक्ला–एक्लै प्रतिस्पर्धामा छन् । जसले कसले बाजी मार्ला भन्ने प्रश्न सबै मतदाताको मनमा छ । 

मण्डल यसपटक राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवार बनेका छन् । नेकपा एमालेबाट मनोजकुमार अग्रवाल, नेपाली कांग्रेसबाट फूलकुमार लालवानी, नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डल, जनता समाजवादी पार्टी नेपालबाट राजकुमार यादव र राष्ट्रिय मुक्ति पार्टी नेपालबाट नरेशकुमार लाभ उम्मेदवार छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट गंगाकुमारी राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमोद राय, जनमत पार्टीबाट परमेश्वर मुर्मु, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजेन्द्रप्रसाद मण्डल र मंगोल नेसनल अर्गनाइजेसनबाट शकुन्तला श्रेष्ठ उम्मेदवार छन् ।

त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट गंगाप्रसाद गिरी प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा जयनारायण शर्मा, सूर्यनारायण ठाकुर, ममता यादव, मोहमद रेजा हुसैन र विकाश श्रेष्ठसहित २२ जना उम्मेदवार यस क्षेत्रमा चुनावी मैदानमा छन् । 

अघिल्लो पटक मोरङ ५ मा दुइटा गठबन्धन थिए । एमाले–जसपा तथा माओवादी–कांग्रेस–एकीकृत समाजवादी । तर, ती दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार मण्डलले बाजी मारेका थिए ।  उनले २१ हजार ८ सय २० मत प्राप्त गरेर जित्दा माओवादीका शिवकुमार मण्डल १७ हजार ४ सय ८६ मत पाएर दोस्रो बनेका थिए । 

कांग्रेसबाट उम्मेदवार बनेका फूलकुमार यो क्षेत्रका पुराना कांग्रेस नेता हुन् । माओवादीका शिवकुमार मण्डल यसअघि यही क्षेत्रबाट जितिसकेका नेता हुन् । मधेश बहुल यो क्षेत्रमा जातीय मत जितको आधार बन्न सक्ने आंकलन गरिएको छ । ‘त्यसको फाइदा कसले लिन्छ भन्न गाह्रो छ,’ कांग्रेसका एक नेताले भने । 

पछिल्लो निर्वाचनको समानुपातिक मतलाई आधार मान्ने हो भने मोरङ ५ मा कांग्रेस सबैभन्दा बलियो शक्ति बनेको देखिन्छ । कांग्रेसले २४ हजार ६ सय २९ मत पाएको थियो । जनता समाजवादी पार्टी नेपालले १२ हजार ७ सय ३१, एमालेले ९ हजार ४ सय २८, माओवादीले ७ हजार २ सय २३, जनमत पार्टीले ३ हजार ६ सय ४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ४ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ९ सय ७ मत प्राप्त गरेका थिए । 

यो क्षेत्रमा धनपालथान र जहदा गाउँपालिका, रंगेली नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडा र विराटनगर महानगरपालिकाको १३, १४, १५ , १६, १७ र १८ नम्बर वडा समेटिएको छ । यसपटक यो क्षेत्रमा १ लाख १० हजार १ सय ७७ मतदाता छन् ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully