एक महिनामै चौथो पटक निर्वाचन क्षेत्र पुगे ओली

यतिबेला एमाले अध्यक्ष केपी ओलीलाई काठमाडौं–झापा ‘पानी पँधेरो’ जस्तै भएको छ । उनी झापा धाएका धायै छन् । महिना दिनयता ओलीले चारपटक काठमाडौं–झापा ओहोरदोहोर गरिसके ।

फाल्गुन ९, २०८२

पर्वत पोर्तेल

Oli visits constituency for the fourth time in a month

What you should know

विराटनगर — विगतका निर्वाचनमा एमाले अध्यक्ष केपी ओली मनोनयन दर्ताका समयमा मात्रै गृहजिल्ला आउँथे । केही दिन झापा बसेर काठमाडौं फर्किहाल्थे । दोस्रो पटक जितको प्रमाणपत्र लिन आउँथे र फर्किहाल्थे ।

उनको व्यस्ता यति धेरै थियो कि कहिलेकाहीँ त मनोनयन दर्ता पनि वारेसमार्फत नै गर्थे । आफ्नो क्षेत्रमा भन्दा अन्य क्षेत्रका चुनावी सभामा व्यस्त हुने ओलीको कार्यतालिका यसपटक बिल्कुल भिन्न छ । आफ्नोबाहेकका क्षेत्रमा उनको दौडधुप शून्य नै छ । बरु आफ्नै क्षेत्र कसरी सुरक्षित गर्ने भन्ने चिन्ता उनमा देखिन्छ । 

यतिबेला ओलीलाई काठमाडौं–झापा ‘पानी पँधेरो’ जस्तै भएको छ । उनी झापा धाएका धायै छन् । महिना दिनयता ओलीले चारपटक काठमाडौं–झापा, झापा–काठमाडौं ओहोरदोहोर गरिसके । खासमा यसपटकको निर्वाचनमा ओली ढुक्क बन्न सकेका देखिँदैनन् । काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह झापा–५ मा उम्मेदवार बनेपछि ओली दबाबमा देखिएका हुन् । 

झापाको सुरक्षा निकायका अनुसार ओली शनिबार चौथो पटक झापा ओर्लिएका छन् । स्थानहद फुकुवापछि माघ ५ मा झापा ओर्लिएर ९ मा फर्किएका उनको आउजाउ त्यसयता बाक्लिएको हो । दोस्रो पटक माघ २३ मा झापा आए । निर्वाचन क्षेत्रमा एक साता बिताएर फर्किए । फागुन ३ मा पुनः आएका उनी ६ गते फर्किए ।

उनले तीन पटकको झापा यात्रामा १६ दिन बिताए । शनिबार आएका उनी करिब एकसाता बढी समय बस्न सक्ने एक एमाले नेताले जनाए । ‘केपी ओलीले यति धेरै झापामा बिताएको झापा विद्रोह ताका मात्रै थियो,’ लेखक निरोज कट्टेल भन्छन्,‘नत्र २०४८ पछि ओलीले झापामा यतिधेरै समय बिताएका थिएनन् ।’ 

ओलीको मतदाता नामावली भक्तपुरमा छ । उनले आफैलाई भोट दिन पाउँदैनन् । ‘त्यसकारण पनि उनको प्राथमिकतामा झापा पर्दैनथ्यो’, कट्टेल भन्छन्,‘यसपटक चाहीँ झापाप्रति उनको मोह अत्याधिक देखिएको छ ।’
ओलीले शनिबार भद्रपुरमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गरे । त्यसपछि सोझै आफ्नो क्षेत्र पुगेर दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एनप्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउने र आन्तरिक भेटघाट गर्ने व्यस्त रहने तालिका छ । 

चुनावी माहोल तातिरहेको बेला झापा–५ का उम्मेदवार ओलीको तारन्तारको झापा भ्रमणलाई मतदाताले सुक्ष्म ढंगले हेरिरहेका छन् । ‘उहाँलाई यसपटक अत्याधिक डर भएको छ,’ गौरादहका मतदाता खड्गवहादुर बराइलीले भने,‘त्यही भएर उहाँ मतदाताको घर–घरमा पुग्दै हुनुहुन्छ ।’ 

निर्वाचनताका ओली यतिधेरै सक्रिय रहेको गौरीगञ्जका मतदाता हंसराम राजवंशीले कहिल्यै देखेका थिएनन् । ‘विगतमा उहाँ मत माग्न आएको मलाई खासै सम्झना छैन,’ २०५६ देखि ओलीलाई मत हाल्दै आएका राजवंशी भन्छन्,‘यसपटक त उहाँलाई भोट माग्दै गरेको देखेर अनौठो पो लाग्यो ।’ माघ २७ मा ओली गौरीगञ्ज पुगेका थिए । राजवंशी, मधेशी समुदायका स्थानीय मतदाताले गुइँठाको विषयबारे ओलीलाई हाकाहाकी सोधेका थिए ।  

माघ ५ मा झापा आएका बखत ओलीले निर्वाचनको सुरक्षा चुनौती चिन्ता जाहेर गरेका थिए । त्यसताका उनले मनोनयन दर्ता गरेपछि र गर्नुअघि जेन–जी आन्दोलनका क्रममा जलाइएका प्रहरी कार्यालय, नगरपालिका, नेताहरुको घर र आफ्नै घर समेत अवलोकन गर्दै हिँडे । मतदातासँगै खासै भेटेनन् । 

माघ २३ मा भने उनले तालिका बदले । मतदाताका कुरा सुने । पार्टीका विभिन्न संगठनका अगुवासँग छलफल गरे । फागुन ३ पछि उनले मतदातासामु ४२ बुँदे प्रतिबद्धता पक्र टत्र्याएनन् मात्रै एमाले पहिलो पार्टी बन्ने दाबी नै गरे । त्यही दिन उनले भ्यू टावर भएको बस्तीमा पुगेर मतदातासँग,‘देशमा शत्रु लाग्यो’ भन्नेसम्म भ्याए । अघिल्लो दिन उनले रास्वपाका नेता भरत खनालसहितलाई एमालेमा स्वागत गरेका थिए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully