शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीले कुनै पनि भातृ संगठन नबनाउने बताए ।
What you should know
दाङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो पार्टीले कुनै पनि भातृ संगठन नबनाउने बताएका छन्।
शुक्रबार घोराहीमा आयोजना गरेको पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीले कुनै पनि भातृ संगठन नबनाउने बताए ।
उनले विद्यार्थी, शिक्षक, कर्मचारी, किसान, मजदूरलगायतका बिभिन्न वर्गलाई पार्टीमा जोडेर अन्य पार्टीले धोका दिएको आरोप लगाए । ‘पुराना पार्टीले बिभिन्न पेसाका मानिसहरुलाई संगठनमा जोडेर के काम गरे ? के तपाईहरुका समस्या समाधान गरे ?,’ उनले भने,‘हामी पेसाकर्मीलाई संगठनमा जोड्न चाहँदैनौं । सबै पेसाकर्मीले आफ्नै काम गर्ने हो । हामी पेसाकर्मीलाई पार्टीको ट्याग लगाइदिँदैनौं ।’
हालसम्म पुराना दलले सबै जाति, वर्ग र पेसाकर्मीलाई राजनीतिक भोट बैंक मात्र बनाएको आरोप उनले लगाए। ‘शिक्षक, किसान र मजदूरहरु किन सडकमा आन्दोलनमा आउनुपर्यो त ?,’ उनले भने,‘संगठनमा बसेर माग पूरा हुँदैन भने किन त्यस्तो संगठनमा लाग्ने ? हामी भातृ संगठनविना नै अघि बढ्छौं ।’
कुनै पनि व्यवसायीले रास्वपालाई चन्दा दिनु नपर्ने उनले बताए । ‘रास्वपालाई एक सुका दिनु पर्दैन । कसैले चन्दा लिएमा कारवाही गर्छौं,’ उनले भने,‘नेता भेट्नुपर्दैन । मजदूर भेट्नुहोस् । आफ्नो काम गर्नुहोस् ।’
अहिले देशमा वर्षौंदेखि शासन गरिरहेका र नयाँ शक्तिबीचको संघर्ष भइरहेकाले नयाँ शक्ति रोज्न उनले आग्रह गरे । ‘पुराना दललाई भोट हाल्न मन लागेको छ भने हामीलाई फेरि भोलि देश बनेन भनेर कचकच गर्न पाइँदैन,’ उनले भने,‘भोट हाल्ने अवसर अहिले आएको छ । यही बेला देश बनाउने अवसर दिनुपर्छ ।’
उनले पुराना दलले कुनै पनि क्षेत्र नजितेर प्रतिपक्षमा बसेर या सडकबाट खबरदारी गरे पनि हुने धारणा व्यक्त गरे । ‘पुराना दललाई आफ्नो संगठनको घमण्ड छ भने एक सिट पनि नजितेर सडकमा आएर हामीलाई खबरदारी गर्नुहोस्,’ उनले भने, ‘हामी हेर्छौं । तपाईहरुले आफ्नो संगठनको तागत सडकबाट देखाउनुहोस् ।’
