‘तपाईंहरूले भोट नदिए पनि काम गर्छ, तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ । तपाईंहरूले काम दिनू,’ उनले भने ।
What you should know
धनगढी — ‘बेली छकालै एउटा सुइना धेक्या थे, सुदूरपश्चिम र देश बनेको’ रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले बुधबार धनगढीमा आयोजित रास्वपाको पहिलो चुनावी सभामा करिब तीन मिनेटमै सम्पन्न गरेको आफ्नो मन्तव्यको सुरुआत डोटेली भाषाबाट गरे ।
त्यस क्रममा उनले सुदूरपश्चिमको सम्भावना, विकास निर्माणमा दिनुपर्ने गति र शिक्षा, स्वास्थ्यमा विपन्नले प्राप्त गर्नुपर्ने पहुँचको कुरा गरे । ‘त्यो सपना पूरा गरन्या हो, त्यो पूरा गरन्या पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो,’ उनले भने ।
पहिलो चुनावी प्रचार सभामा बोल्दै शाहले राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न नभई काम माग्न आएको दाबी गरे । ‘तपाईंहरूले भोट नदिए पनि काम गर्छ, तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ । तपाईंहरूले काम दिनू,’ उनले भने ।
मन्तव्यका क्रममा उनले सुदूरपश्चिम सम्भावनाको खानी रहेको आशय व्यक्त गरे । ‘मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीं छ, किन बनाउनुपर्यो स्विट्जरल्यान्ड ?, स्विट्जरल्यान्डको पराकाष्टा रामारोशन यहीं छ, खप्तड नेसनल पार्क यहीं छ,’ उनले भने, ‘हामी नेपालीहरू माल पाएर पनि चाल नपाएका मान्छेहरू पर्यौं । भएका चिज देखाउनै सक्या छैनौं ।’
सुदूरपश्चिम हालसम्म केन्द्रसँग नजोडिएको उनको भनाइ थियो । उनले सुदूरपश्चिमका गीतसंगीत काठमाडौंका चोकहरूमा घन्किनुपर्ने बताए । ‘सुदूरपश्चिममा एकदमै
धेरै कलाकार हुनुहुँदो रहेछ, तर गीतहरू काठमाडौंका चोकहरूमा बज्दैनन्,’ बालेनले भने, ‘जुन दिन सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बज्छ, अनि बल्ल जोडिन्छ काठमाडौंसँग सुदूरपश्चिम । सुरुमा त गीत बज्नुपर्यो, अनि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ ।’
उनले खल्तीमा पैसा नभएको विपन्न गरिबले उपचार पाउनुपर्ने, खल्तीमा पैसा नभएका विपन्नहरूले शिक्षा पाउनुपर्यो भन्ने आफूहरूको एजेन्डा भएको बताए । ‘दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा,’ उनले भने, ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा राखेर हुन्छ, बाटो बन्नुपर्यो ।’
हाल आफ्ना भोट भएका ठाउँमा मात्र बाटो बन्ने प्रवृत्ति रहेको बताउँदै सबै नेपालीले हिँड्ने बाटो बनाउने बताए । उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको बताए । ‘भोट नदिए पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ ।’
यस्तै, रास्वपा सभापति रवि लामिछानेले सुदूरपश्चिमको मुद्दालाई अब केवल चुनावी एजेन्डा होइन, राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले मतदानलाई सामान्य चुनावी प्रक्रिया मात्र नभई इतिहास लेख्ने अवसर भएको बताए ।
सुदूरपश्चिमका मुद्दा र अधिकारलाई वर्षौंसम्म अल्झाइराख्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने भन्दै उनले जनताका मुद्दालाई पटक–पटक चुनावी एजेन्डा मात्र बनाउने चलन बन्द हुनुपर्ने बताए । ‘अब सटर बन्द गर्ने हो । कु–शासनको सटर, बेरोजगारीको सटर, अशिक्षाको सटर– सबै सटर एकै पटक बन्द गर्ने हो,’ उनले भने, ‘नेताहरूका वाचाबाट जनताले दुःख पाए । वाचा जसले गरेको हो, पूरा नगरे सजाय उसैले पाउने हो, जनताले होइन ।’
सभापति लामिछानेले सिंहदरबार जलाउने वा बनाउने बहसभन्दा महत्त्वपूर्ण कुरा सिंहदरबार बदल्ने भएको उल्लेख गर्दै उनले भने, ‘हामी डोजर चलाउन होइन, बनाउन आएका हौं ।’
आम सभामा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी र अछामका उम्मेदवारले पनि आफ्ना प्रतिबद्धता व्यक्त गरेका थिए । कैलाली–५ का उम्मेदवार आनन्दबहादुर चन्दले सुदूरपश्चिमको विकासले फड्को मार्न सामान्य सोच होइन, ठूलो दृष्टिकोण आवश्यक रहेको बताए ।
कैलाली–२ का उम्मेदवार केपी खनालले देशलाई आवश्यक परेका बेला सुदूरपश्चिमले रगतको खोला बगाएको बताउँदै तर सुदूरपश्चिम पछाडि पारिएकामा आक्रोश पोखे । कञ्चनपुर–२ का उम्मेदवार दीपक बोहराले देशमा निराशा व्याप्त रहेको बताउँदै बालेन्द्र शाह अगाडि आउँदा आशाको सञ्चार भएको जिकिर गरे ।
कैलाली–३ का उम्मेदवार जगतप्रसाद जोशीले पुराना पार्टीहरूले जनतामाथि धोकाधडी गरेको आरोप लगाए । बैतडीका उम्मेदवार हरिमोहन भण्डारी, डडेलधुराका उम्मेदवार ताराप्रसाद जोशी, कैलाली–१ का उम्मेदवार कोमल ज्ञवाली, कैलाली–४ का उम्मेदवार खेमराज कोइरालाले पनि आफ्ना चुनावी प्रतिबद्धता र धारणा व्यक्त गरेका थिए ।
