शिक्षा, स्वास्थ्य र खेलकुदका भाैतिक पूर्वाधारलाई मात्र विकास मान्ने होडबाजी चल्दा पछिल्लो समय धनगढीले भोगिरहेको बाढी, डुबान, गर्मी र पानी संकट जस्ता मुद्दा उम्मेदवारका घोषणा पत्रमा ओझेल परेका छन् ।
What you should know
कैलाली — सुदूरपश्चिम प्रदेश एकमात्र उपमहानगरपालिका र प्रदेशको आर्थिक तथा प्रशासनिक केन्द्रका रूपमा रहेको कैलाली क्षेत्र नम्बर ५ मा यतिबेला अन्य क्षेत्रको तुलनामा चुनावी सरगर्मी बढी छ । यो क्षेत्रलाई सुदूरपश्चिमको राजनीतिमा चासोका साथ हेरिन्छ । त्यसैले धनगढीका चोक, गल्ली र चिया पसल अहिले राजनीतिक बहसका केन्द्र बनेका छन् ।
कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, एमाले जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना, डोटीबाट तीन पटक निर्वाचित भइसकेका नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, रास्वपाबाट जनस्वास्थ्य अभियन्ता डा. आनन्दबहादुर चन्द, राप्रपाका रोशन शाही र स्वतन्त्र पूर्वसंविधानसभा सदस्य प्यारालाल राना गरी १५ जना उम्मेदवार यो क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।
पुराना स्थापित दलदेखि नयाा पार्टीसम्मका उम्मेदवारहरू आ–आफ्ना एजेन्डा बोकेर मतदाता कहाँ घरदैलो गरिरहेका छन् । धेरैले आफ्नै स्थानीय घोषणापत्र पनि सार्वजनिक गरिसकेका छन् । मुख्य चार दलसहित अन्य उम्मेदवारका प्रतिवद्धतामा समानता देखिन्छ । विकासका सपना सबैका साझा छन् । तर ती सपनाभित्र यो क्षेत्रको भविष्यलाई नै चुनौती दिइरहेको ‘जलवायु संकट’ भने कतै पनि प्राथमिक एजेन्डा बनेको छैन ।
उम्मेदवारहरूका घोषणापत्रमा सबैभन्दा धेरै दोहोरिएको विषय हो- सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने र ड्रिम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्ने ।
कांग्रेस उम्मेदवार शाहले सेती अस्पताललाई विशिष्टिकृत सेवासहितको केन्द्रीय अस्पतालका रूपमा विकास गर्ने प्रतिवद्धता गरेका छन् । एमालेका ढुंगानाले अस्पताललाई संघीय सरकार मातहत ल्याएर स्तरोन्नति गर्ने योजना अघि सारे भने नेकपाका आलेले सेती अस्पतालबाट विशिष्टिकृत सेवा सुरु गर्ने र सिकलसेल एनेमियाका बिरामीका लागि छुट्टै वार्ड स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । रास्वपाका चन्दले अस्पताल र विश्वविद्यालयलाई एकीकृत ‘स्वास्थ्य–शिक्षा इकोसिस्टम’ का रूपमा विकास गर्ने अवधारणा अघि सारेका छन् । उज्यालो नेपाल पार्टीले पनि अस्पताल स्तरोन्नतिलाई आफ्नो एजेन्डा बनाएको छ ।
स्वास्थ्यसँगै सबै उम्मेदवारको अर्को साझा एजेन्डा हो- फाफ्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण । धनगढीलाई ‘त्रिकेटको सहर’ बनाउने सपना धेरै अघिदेखि सुनिँदै आएको हो । यसपटक नेकपाका आलेले यो मुद्दालाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् भने कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारले पनि प्राथमिकताका साथ घोषणापत्रमा समेटेका छन् । विगतका चुनावमा पनि यो रंगशाला निर्माणको कुरा उठ्दै आएको थियो । मतदाताहरु यसपटक पनि चुनावी वाचामै सीमित हुने आशंका गरिरहेका छन् । कैलाली ५ का ३२ वर्षीय खडक रैकाले आफु सानै हुँदा फाप्लामा क्रिकेट मैदान बन्ने कुरा सुने पनि अहिलेसम्म पूरा हुन नपाएको बताए ।
धनगढीलाई महानगर बनाउने विषय पनि उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक एजेन्डा बनेको छ । कांग्रेसका शाह र एमालेका ढुंगानाले धनगढीलाई महानगर बनाउने प्रतिबद्धता जनाएका छन् । अन्य उम्मेदवारले पनि धनगढीलाई सुविधासम्पन्न सहर, स्मार्ट सिटि बनाउने कुरा अघि सारेका छन् । तर महानगर बनाउँदा चाहिने मापदण्ड, जनसंख्या, पूर्वाधार र आर्थिक स्रोतबारे घोषणापत्रमा स्पष्ट खाका छैन । त्यसैले यो विषयलाई जति लोकप्रिय बनेको छ, त्यति नै अस्पष्ट पनि छ ।
व्यक्तिगत एजेन्डा र शैलीका हिसाबले भने उम्मेदवारहरूबीच केही फरक प्रतिवद्धता देखिन्छ । कांग्रेस उम्मेदवार शाहले ‘धनगढीमै सचिवालय राखेर जनताका गुनासा सुन्ने र समस्या समाधान गर्ने’ नारा पनि अघि सारेका छन् । सांसद निर्वाचित भए पछि जनताका समस्या समाधान गर्न काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उनको दाबी छ । उनले आफूलाई स्थानीय र सुलभ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै त्रिनगर भन्सार स्तरोन्नति, पश्चिम सेतीजस्ता राष्ट्रिय गौरवका आयोजनामा दबाब दिने प्रतिबद्धता जनाएका छन् ।
एमाले उम्मेदवार ढुंगानाले डिजिटल पूर्वाधार विस्तार, विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट सेवा, स्वास्थ्य बिमालाई निजी अस्पतालसम्म विस्तार गर्ने मुख्य बुँदा राखेका छन् । उनी ‘स्मार्ट सिटी’ अवधारणाको सहारामा युवा मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् ।
नेकपाका आलेको प्रतिवद्धता ‘प्रोजेक्ट केन्द्रीत’ देखिन्छ । उनले फाप्ला रंगशालासँगै धनगढी विमानस्थलको धावनमार्ग २५ सय मिटरमा बिस्तार गर्ने विस्तार, खेलकुद पूर्वाधार विकास र सिकलसेल एनेमियाका बिरामीका लागि विशेष सेवा विस्तारलाई प्राथमिकतामा राखेका छन् ।
जनस्वास्थ्यमा लामो अनुभव भएका रास्वपा उम्मेदवार डा. चन्दले शिक्षा प्रणालीमा एआई, रोबोटिक्स र डेटा साइन्स जस्ता विषय समेट्ने विषय अघि सारेका छन् । उनले सेती अस्पताल र गेटा विश्वविद्यालयलाई एकीकृत प्रणालीमा विकास गर्ने अवधारणा पनि प्रस्तुत गरेका छन् । थारु समुदायको ‘भलमन्सा’ प्रणालीलाई स्थानीय शासनसँग जोड्ने र थारु संस्कृतिको ब्रान्डिङ गर्ने पनि उनको एजेन्डा छ ।
उज्यालो नेपाल पार्टीका चन्द्र साउँदले आफूलाई भूँइमान्छेका मुद्दा बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । सुकुम्बासी, कमैया, भूमिहीन समस्या समाधान, सहकारी पीडितको रकम फिर्ता, उपभोक्ता अधिकार र भ्रष्टाचारविरुद्धको अभियान उनका मुख्य एजेन्डा हुन् । ५ वर्षमा १२ हजार युवालाई रोजगारी दिने उनको अर्को महत्वाकांक्षी प्रतिवद्धता छ ।
कैलाली–५ मा थारु, राना थारु र पहाडी समुदायको मिश्रित बसोबास छ । उम्मेदवारहरूको एजेन्डा हेर्दा जातीय र क्षेत्रीय मनोविज्ञान पनि प्रभावशाली देखिन्छ । केही उम्मेदवार बजार क्षेत्रका र पहाडी मतदातामा केन्द्रीत छन् भने केही थारु तथा उत्पीडित समुदायका मुद्दामा बढी जोड दिइरहेका छन् ।
ओझेलमा जलवायु परिवर्तनको मुद्दा
सबै उम्मेदवारका घोषणापत्र हेर्दा एजेण्डा महत्वकांक्षी नै छन् । शिक्षा, स्वास्थ्य र खेलकुदका भाैतिक पूर्वाधारलाई मात्र विकास मान्ने होडबाजी चल्दा पछिल्लो समय धनगढीले भोगिरहेको बाढी, डुबान, गर्मी र पानी संकट जस्ता मुद्दा उम्मेदवारका घोषणा पत्रमा ओझेल परेका छन् । बाढी तथा डुबान धनगढीको ठूलो समस्या हो । सामान्य वर्षामा पनि सहरका धेरै भाग जलमग्न हुन्छन् । यो क्षेत्रका हजारौं परिवार वर्सेनि बाढीबाट बिस्थापित हुने गरका छन् ।
उम्मेदवारहरूले ढल निकास र तटबन्धको कुरा त गरेका छन्, तर चुरे क्षेत्रको दोहन, भू–क्षय र जलवायु अनुकूलनका दीर्घकालीन रणनीतिबारे कसैको ध्यान जान सकेन । कृषिमा यान्त्रीकरण र मलको कुरा भए पनि घट्दो उत्पादकत्व, जलवायु परिवर्तनले बालीमा ल्याएको असर र भूमिगत पानीको सतह घट्दै गएको गम्भीरताबारे स्पष्ट दृष्टिकोण कसैको एजेण्डामा देखिँदैन ।
अर्को समस्या धनगढी पछिल्ला वर्षमा नेपालकै अत्यधिक गर्मी हुने सहरमध्येमा पर्न थालेको छ । बढ्दो तापक्रम घटाउन सहरी वन, खुला क्षेत्र संरक्षण, हरित यातायात वा नवीकरणीय ऊर्जाबारे कुनै ठोस योजना उम्मेदवारका घोषणापत्रमा छैनन् ।
घोषणा पक्र सार्वजनिक कार्यत्रममा रास्वपा उम्मेदवार चन्दलाई जलवायुका मुद्दा ओझेलमा परेकोबारे प्रश्नमा उनले भनेका थिए, ‘बास्तवमै जलवायु संकट अहिलेको ठूलो समस्या हो । यो विषय प्रतिवद्धतामा समेट्ने सोचेका पनि थियौं । तर सुदूरपश्चिममा अनुसन्धान नभएको र स्पस्ट तथ्यांक नहुँदा छुटेको हो ।’
