विदेश नीतिमा कति सफल, कति असफल ?

असंलग्नताको मूल मर्मलाई आत्मसात् गर्दै बहुसहभागिताको नीति लिनु, बहुपक्षीय कूटनीतिलाई प्राथमिकता दिनु र छिमेकी तथा महाशक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नु नै नेपालको आगामी विदेश नीतिको आधार हुनुपर्छ ।

फाल्गुन ७, २०८२

रूपक सापकोटा

How successful and how unsuccessful in foreign policy?

What you should know

गएको हप्ता जर्मनीको म्युनिख सुरक्षा सम्मेलनमा सहभागी विश्वभरिका ७० भन्दा बढी मुलुकका नेताहरूमध्ये अधिकांशले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था अन्त्य भएको स्वीकार गरेका छन् । जर्मन चान्सलर फ्रेडरिक मेन्जले १९४५ पछिको व्यवस्था अब अस्तित्वमा नरहेको बताए ।

सम्मेलनमा सहभागी अमेरिकी विदेशमन्त्री मार्को रुवियोले पुरानो संसारको विसर्जन र नयाँ युगको सुरुवात भएको उद्घोष गरे । चिनियाँ विदेशमन्त्री वाङ यीले विश्व बहुध्रुवीय व्यवस्थामा पदार्पण गरिसकेको बताए । केही समयअगाडि डोभोस इकोनोमिक फोरम क्यानडाका प्रधानमन्त्री मार्क केनीले बहुध्रुवीय विश्वको यथार्थतालाई स्विकार्दै नयाँ ढंगबाट अगाडि बढ्नुको विकल्प नभएको बताएका थिए ।

बहुध्रुवीय विश्वको अवश्यम्भावी जन्म भएको छ । यद्यपि, यहाँ हामीले के कुरा मनन गर्नुपर्छ भने नयाँ बहुध्रुवीय विश्व थप अनिश्चित र कटु प्रतिस्पर्धाले भरिएको हुनेछ, यो त्यति मायालु र मैत्रीपूर्ण नहुन सक्छ, जति हामीले सोचेका छौं ।

यस पृष्ठभूमिमा, आठ दशकको विश्व राजनीति र नेपालले विगतमा अख्तियार गरेको विदेश नीतिको सिंहावलोकन गर्दै विवेचना गर्न आवश्यक छ । यसका लागि विगतमा नेपालले अख्तियार गरेको नीति, वर्तमान परिस्थिति र विश्व राजनीतिको शक्ति सन्तुलनमा आएको परिवर्तनको कसीमा नेपालको आगामी विदेश नीति कस्तो हुनुपर्छ भन्ने बहस सान्दर्भिक हुनेछ ।

असंलग्नता र पञ्चशीलको विरासत

शीतयुद्धको उपजस्वरूप नेपालले पनि असंलग्नताको नीति र पञ्चशील सिद्धान्तलाई आधार बनाएर विदेश नीति सञ्चालन गर्‍यो । आजपर्यन्त पनि नेपालले असंलग्नताको नीतिलाई आत्मसात् गरिरहेको छ । अहिलेको संविधानले संयुक्त राष्ट्रसंघको चार्टर, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिलाई मार्गदर्शक बनाएको छ ।

गएको एक दशकमा विश्व राजनीतिमा बढ्दो ध्रुवीकरणका बाबजुद नेपालले सन्तुलित र तटस्थ नीति अवलम्ब गर्‍यो । त्यसो त, यसबीचमा शक्ति राष्ट्रहरूबाट नेपालसामु विभिन्न समयमा अनेकन सामरिक, सैन्य एवं रणनीतिक चरित्रका प्रस्तावहरू नआएका होइनन् । अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक रणनीति –आईपीएस) होस् या चीनले अगाडि सारेको गोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) दुवैमा नेपालले आफूलाई सामेल गराउन चाहेन ।

पञ्चशील सिद्धान्त, असंलग्न परराष्ट्र नीति र सैन्य चरित्रको कुनै पनि रणनीतिमा सहभागी नहुने एमसीसी परियोजनासँगै संसद्बाट पारित १० बुँदे व्याख्यात्मक घोषणाको आलोकमा सैन्य चरित्रको संरचना जस्तो ठानिएको अमेरिकी कार्यक्रम एसपीपीमा नेपाल सहभागी नहुने निर्णय लिएको थियो । बरु, यसबीच नेपालले आफूलाई सदैव असंलग्न र तटस्थ राख्ने प्रयत्न गरिरह्यो ।

सम्भवतः कुनै पनि शक्तिराष्ट्रको रणनीतिक साझेदारमा सामेल हुन नचाहेका कारण नेपालले आर्थिक विकास र समृद्धिका लागि आवश्यक पर्ने वैदेशिक पुँजी परिचालनमा अपेक्षाकृत सफलता हासिल हुन सकेन । परिणामतः बहुपक्षीय एवं आर्थिक मुद्दामा नेपालको अन्तर्राष्ट्रिय सहकार्य सोचेझैं अगाडि बढाउन कठिन भयो । त्यसो त यस शताब्दीको पहिलो दशकमा नेपालले भारत र चीनसहित त्रिपक्षीय सहकार्यको अवधारणालाई पनि अगाडि बढाउन खोजेको थियो । यद्यपि, छिमेक मुलुकहरूको संरचनागत सोच र असमानताका कारण त्यसले ठोस आकार भने लिन सकेन ।

छिमेक नीतिमा प्रधानता

नेपालको विदेश नीतिको अर्को महत्त्वपूर्ण पक्ष भनेको छिमेक नीतिमा प्रधानता हो । नेपालले प्रत्यक्ष सीमा जोडिएका भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको छ ।नेपाल–भारत र नेपाल–चीन सम्बन्धका आ–आफ्नै ऐतिहासिकता र चारित्रिक विशेषताहरू छन्, जसलाई नेपालले आफ्नो छिमेकी नीतिका आधारमा विवेचना गरिनुपर्छ ।

कुनै विशेष सन्दर्भ र परिस्थतिमा नेपालले चीनसँग सघन सहकार्य गर्दा भारत संशकित हुने र अर्को कुनै पस्थितिमा नेपाल र भारतका बीचमा बाक्लो सान्निध्य र आदानप्रदान हुन खोज्दा चीन तरंगित हुने गरेको छ । अझ त्यसमा पनि चीनसँगको नेपालको बढ्दो सहकार्य भारतका लागि अझ बढी चासोको विषय हुने गरेको छ । नेपालको अर्को छिमेक मुलुकसँगको द्विपक्षीय सम्बन्धप्रति अर्का छिमेकी सशंकित हुने गरेको स्थितिका प्रशस्त दृष्टान्तहरू छन् । नेपालका लागि यस्तो स्थितिको अन्त कसरी गर्न सकिन्छ भन्ने अहम् विषय हो ।

चीन, भारत र नेपाल सम्बन्धलाई द्विपक्षीय सम्बन्धका रूपमा मात्रै संकुचन गर्नु हुँदैन  । चीन, भारत र नेपाल सम्बन्धलाई द्विपक्षीयका अलाबा त्रिपक्षीय र बहुपक्षीय सम्बन्धका रूपमा विकास गर्न जरुरी छ । नेपालले प्रस्ताव गर्दै आएको चीन–भारत–नेपाल त्रिदेशीय सहकार्यको प्रस्तावलाई यही पृष्ठभूमिमा राखेर हेर्नुपर्छ । यसले तीनै देशबीच विश्वासको वातावरण निर्माण गर्न र साझा हितका क्षेत्रमा सहकार्य गर्न मद्दत पुर्‍याउँछ ।

नेपालले सबैभन्दा पहिला आफ्नो राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर छिमेकी नीतिलाई अगाडि बढाउनुपर्छ । अनि मात्र हामी हाम्रा छिमेकीहरूको चासोलाई सम्बोधन गर्ने नीति अवलम्बन गर्नुपर्छ । त्यसमाथि, छिमेकीहरूको चासोलाई सम्बोधन गर्दै गर्दा पनि त्यसले हाम्रो राष्ट्रिय स्वार्थलाई कति टेवा पुर्‍याइरहेको छ भन्ने ख्याल गर्नुपर्छ । 

आफ्नो रणनीतिक र सामरिक स्वार्थका लागि प्ररोक्ष प्रतिस्पर्धा गरिरहेका छिमेकीहरूसँग कूटनीतिक सन्तुलन कायम गर्नु नेपालका लागि सबैभन्दा चुनौतीपूर्ण स्थिति छ ।

भूराजनीतिक चुनौती र अवसर 

माथि चर्चा गरिएझैं अहिलेको विश्व परिदृश्य जटिल र अनिश्चिततापूर्ण छ । अमेरिका र चीनको प्रतिस्पर्धा संरचनागत तहमा विस्तार भएको छ । अमेरिका चीनसँगको प्रतिस्पर्धालाई व्यवस्थापन गर्ने ढंगबाट नभई ‘जित्ने’ रणनीतिका साथ अगाडि बढिरहेको छ । ट्रम्पको पुनरुदयसँगै अमेरिकामा संरक्षणवादी नीतिले अझ प्रश्रय पायो । अमेरिकी राष्ट्रपति ट्रम्पले कारोबारी (ट्रान्ज्याक्सनल) विदेश नीतिलाई असाध्यै महत्त्व दिएका छन् । तर अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिमा इन्डो प्यासेफिक रणनीति थप  मुखर रूपमा प्रकट भएको छ ।

हालै अमेरिकी सहायक विदेशमन्त्री पदमा नियुक्त पउल कपुरले आफ्नो सुनुवाइको क्रममा निर्वाचनपछि बन्ने नेपालको नयाँ सरकारसँग काम गर्ने तयारी र दक्षिण एसियामा भारतसँग मिलेर चीनको विस्तार र प्रभावलाई रोक्ने बताएका छन् । साथै, अमेरिकी अधिकारीबाट दक्षिण एसियामा कुनै एक मुलुकको दबदबालाई अमेरिकाले स्वीकार नगर्ने अभिव्यक्ति पनि सार्वजनिक भएको छ, जसले क्षेत्रीय समीकरणलाई थप जटिल बनाउन सक्छ ।

यता, जापानमा हालैको निर्वाचनबाट अनुदारवादी नेतृ सानाए टाकाइचीले स्पष्ट विजय हासिल गरिन् । र, उनले जापान पुनः सैन्यीकरण र रक्षा खर्च वृद्धिको नीति अघि सारेकी छन्, जसले इन्डो–प्यासिफिक क्षेत्रमा थप तनाव बढाउने देखिन्छ । 

गावान भ्याली झडपको लामो समयपछि चीन र भारतको सम्बन्ध सुधार हाम्रो क्षेत्रका शान्ति, स्थिरता र विकासका लागि सकारात्मक भूमिका खेल्नेछ । तर यहाँ के बिर्सनु हुँदैन भने, चीन र भारतबीच सम्बन्ध सुधारको पछाडि विश्वको शक्ति सन्तुलनमा आएको परिवर्तन नै मुख्य कारण हो ।

उनीहरूबीचको संरचनागत विभिन्नतामा कुनै सुधार आएको छैन र निकट भविष्यमा पनि सम्बन्ध सुमधुर रहिरहने त्यस्तो कुनै सम्भावना देखिँदैन । हालैको म्युनिख सुरक्षा सम्मेलनमा भारतीय विदेशमन्त्री एस. जयशंकरले ‘बृहत् बहुध्रुवीय’ विश्व व्यवस्थाको पक्षमा आफ्नो धारणा राखेका थिए, जसले भारत पनि नयाँ विश्व व्यवस्था र एसियाको बदलिँदो शक्ति सन्तुलनप्रति सचेत रहेको देखाउँछ ।

त्यसमाथि, नेपालमा अमेरिकाको बढ्दो चासो, केही मुद्दाहरूमा चीनप्रति भारत र अमेरिकाबीच समानता (कन्भजेन्स) विकास भइरहेको देखिन्छ । यस अर्थमा नेपालसामु अमेरिकी, भारत र चीनबीचको त्रिपक्षीय स्वार्थ र प्रतिस्पर्धालाई कसरी व्यवस्थापन र सन्तुलन गर्ने चुनाती सिर्जना भएको छ ।

बहुपक्षीयता र बहुसहभागितामा जोड

आकार र संरचनात्मक क्षमताका आधारमा नेपालले बहुपक्षीय कूटनीतिको प्रखर पक्षपोषक गर्दै आएको छ । यद्यपि, नेपालको बहुपक्षीय कूटनीतिक मञ्चमा सहभागिता अपेक्षाकृत विस्तार हुन सकेको छैन । संयुक्त राष्ट्रसंघ कमजोर हुँदै गएको छ । अनि, नेपालले ब्रिक्स जस्ता नयाँ विकसित संरचनामा सहभागी हुने सम्बन्धमा पर्याप्त ध्यान दिन सकिरहेको छैन । यता क्षेत्रीय तवरमा भारत र पाकिस्तानको द्वन्द्व र बेमेलका कारण क्षेत्रीय सहकार्य पनि अपेक्षाकृत सफल हुन सकिरहेको छैन । सार्क मृतप्रायः हुन पुगेको छ । बिमिस्टेक र बीबीआईएनमार्फत हुने अपेक्षा गरिएका क्षेत्रीय सहकार्यका मुद्दाहरू ओझेलमा परेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले नेपाल जस्ता मध्यम शक्तिहरूलाई अहिलेको जटिल भूराजनीतिक परिदृश्यलाई पग्रेल्न र प्रभावकारी कदम चाल्न कठिन भइरहेको छ । सार्वभौमिकताको रक्षा गर्दै विकास र अन्तर्राष्ट्रिय सहकार्यका लक्ष्यहरू पछ्याउन उपयुक्त रणनीति अख्तियार गर्न सकिरहेका छैनन् । सम्भवतः अधिकांश साना तथा मध्यम देशहरू यस्तै ‘डायलेमा’ बाट गुर्जिरहेका छन् । यी मुलुकहरू आफ्नो सापेक्षतामा यी चुनौतीको सम्बोधन गर्ने उपायहरूको खोजीमा छन् ।

नयाँ विश्व व्यवस्था विनिर्माणको अहिलेको सन्दर्भमा साना र मध्यम आकारका देशहरूले पनि अन्तर्राष्ट्रिय सम्बन्धलाई आकार दिन आफ्नो भूमिका खेल्ने अवसर पाउनुपर्छ । त्यसका लागि नेपालले आफ्नो चारित्रिक विशेषतासँग मिल्दोजुल्दा  संगठन र मुलुकहरूसँगको संवाद र सहकार्यको पहल लिनु आवश्यक छ ।

नयाँ विश्व व्यवस्थाको संक्रमणकालीन अनिश्चितताका बीच पनि नेपालले आफ्नो असंलग्नताको अडानलाई बलियो बनाउन सक्छ । वर्तमान परिवर्तित विश्व परिदृश्यमा, सबै देशहरू विगतको शीतयुद्धभन्दा भिन्न र मिश्रित चरित्रको गठबन्धन र साझेदारी निर्माण गर्न थालेका छन् । यस्तोमा, बहुसंलग्नता (मल्टी–अलाइनमेन्ट) जसले सामरिक एवं सैन्य विशेषतालाई पनि समेट्न सक्छ, नेपालका लागि उपयुक्त हुँदैन । यसको साटो, असंलग्नताकै भावभूमिमा टेकेर नेपालले बहुसहभागिता (मल्टी–इन्गेजमेन्ट) को नीति लिनु वाञ्छनीय हुन्छ । यसले सबै शक्ति केन्द्रहरूसँग आर्थिक, राजनीतिक र जलवायु परिवर्तन जस्ता जल्दाबल्दा मुद्दाहरूमा सहकार्य गर्दै सैन्य गठबन्धनबाट टाढा रहन मद्दत गर्छ ।

आगामी दिशा

नेपालको विदेश नीति विगत लामो समयदेखि वैचारिक रुझान वा पश्चिमी मूल्यमान्यताले निर्देशित नभई राष्ट्रिय स्वार्थबाट निर्देशित हुँदै आएको छ । यो नीति असंलग्नता र पञ्चशीलमा आधारित छ, जसले नेपाललाई ठूला शक्तिहरूको बीचमा सन्तुलित रहन मद्दत गरेको छ ।

वैदेशिक शक्तिकेन्द्रहरूका स्वार्थहरू स्थायी हुन्छन् । सामान्यतया उनीहरू आफ्ना नीति तथा कार्यक्रम लागू गर्नका लागि उपयुक्त समय र अवसरको प्रतीक्षामा हुन्छन् । जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक शून्यता तथा संक्रमणकालमा यी शक्तिहरू सामान्यभन्दा बढी सक्रिय भएको हामीले प्रत्यक्ष अनुभव गरेका छौं । ठूला शक्तिराष्ट्रहरूले यस्ता संक्रमणकाललाई अवसरका रूपमा लिने गर्दछन्, जसले नेपाल जस्ता मध्यम मुलुकहरूमा प्रभाव विस्तार गर्ने मौका प्रदान गर्छ ।

हालैको राजनीतिक परिवर्तनपछि उदाएका शक्तिहरूमा स्पष्ट राजनीतिक कार्ययोजना तथा दीर्घकालीन भूराजनीतिक दृष्टिकोणको अभाव देखिन्छ । उनीहरूमा जटिल भूराजनीति परिस्थितिलाई गहिराइमा बुझ्ने र पर्गेल्ने सामर्थ्य कमजोर देखिन्छ, जसले राष्ट्रिय हितलाई प्राथमिकता दिने नीति निर्माणमा चुनौती थप्छ । समयक्रममा यो अभावको प्रतिबिम्ब विदेश नीति तर्जुमा एवं निर्णय प्रक्रियामा देखिन सक्छ ।

यसका साथै, अतिरञ्जित राष्ट्रवादको जोखिमबाट पनि जोगिनु आवश्यक छ । विदेशी शक्तिविरुद्ध प्रयोग हुने राष्ट्रवादको राजनीतिले दीर्घकालमा नेपालको सार्वभौमिकता र विकास लक्ष्यलाई नै हानि पुर्‍याउन सक्छ । भूराजनीतिक अवस्थितिका कारण, विद्यमान समस्या र भविष्यमा उत्पन्न हुने सक्ने विवाद तथा चासोहरूलाई कूटनीतिक संवादबाटै समाधान खोज्नुपर्छ । यसले मात्र नेपालले आफ्नो स्वतन्त्रता, राष्ट्रिय अखण्डता र विकासका अवसरहरूलाई सुरक्षित राख्न सक्छ ।

असंलग्नताको मूलमर्मलाई आत्मसात् गर्दै बहुसहभागिताको नीति लिनु, बहुपक्षीय कूटनीतिलाई प्राथमिकता दिनु र छिमेकी तथा महाशक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नु नै नेपालको आगामी विदेश नीतिको आधार हुनुपर्छ ।

रूपक सापकोटा

Link copied successfully