काठमाडौं बाहिर तथा नेपाल बाहिर रहेका नागरिकहरूले पनि घोषणापत्रबारे प्रश्न सोध्न सक्ने व्यवस्था कांग्रेसले मिलाएको छ ।
काठमाडौँ — कांग्रेसले राष्ट्रिय सभा गृहमा घोषणापत्रबारे सवाल–जवाफ कार्यक्रम गर्ने भएको छ । बुधबार जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे उठ्ने प्रश्नहरूको जवाफ कांग्रेस सभापति गगन थापाले दिनेछन् । कांग्रेसले ‘भिजन टेन’ शीर्षकमा प्रतिज्ञापत्र ल्याएको छ । त्यसको विस्तृत स्वरूप पनि आजै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं बाहिर तथा नेपाल बाहिर रहेका नागरिकहरूले पनि घोषणापत्रबारे प्रश्न सोध्न सक्ने व्यवस्था मिलाइएको छ ।पार्टी सभापती गगन थापाले सामाजिक संजाल फेसबुकमार्फत भनेका छन, 'तपाइको आवाजले छलफलको दिशा निर्धारण गर्न सहयोग गर्नेछ ।
कांग्रेसले बुधबार सार्वजनिक गरेको १० बुँदे संक्षिप्त प्रतिज्ञापत्रमा सम्मानित भएर बाँच्ने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने र देशलाई चिनाउने किसानको नेपाल, औषधि र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्कने नेपालका बुँदा समावेश छन् ।
