उनले ५ वर्ष स्थिर रहने सरकारका लागि चुनावपूर्व नै राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् ।
काठमाडौँ — कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जित्ने मात्र होइन टिक्ने प्रधानमन्त्रीको पद्धति सोच्नुपर्ने बताएका छन् । धरानको भानु चोकमा सुनसरी-१ का उम्मेदवार सुजेन्द्र तामाङको `प्रतिबद्धता घोषणा सभा´ मा बोल्दै उनले चुनावपूर्व सरकार, दलहरू, बौद्धिक क्षेत्र र जेनजी सहितको बृहत् सम्मेलनको आह्वान पनि गरेका छन् ।
'त्यसबाट वर्तमान संविधान र समग्र पद्धतिमा दर्जन बढी सुधारको बुँदागत सहमति गरौं । सार्वजनिक रुपले हाम्रो प्रस्ताव छ,' उनले भने ।
कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको दाबी गर्दे उनले ५ वर्ष स्थिर रहने सरकारका लागि चुनावपूर्व नै राष्ट्रिय सहमति गर्नुपर्ने बताए । 'प्रधानमन्त्री ५ वर्ष टिक्न र टिकाउन नयाँ सोच सहितको संवैधानिक प्रावधान राख्न जरुरी छ । किनभने बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेनन्,' उनले भने ।
'प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै ५ वर्ष शासन गर्ने, बहुमत नपुगेमा `विनर्स टेक अल´ को नीतिबमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो/तेस्रो लगायतका दल सरकारमा नगएर पूरै ५ वर्ष प्रतिपक्षी कित्तामा बस्ने, यस्तै कुनै अवधारणामा चुनावपूर्व जरुरी राष्ट्रिय सहमति गरौं,' उनले भने । सभामुख चयनपछि बस्ने संसदको पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गर्न पनि उनले आग्रह गरेका छन् ।
