संविधान संशोधनका लागि सबै राजनीतिक पार्टी र सरोकारवालाहरुसंग राष्ट्रिय संवाद गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसले आज आगामी फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै छ।
धनुषाको जनकपुरमा हुने ठूलो साभाबीच पार्टी सभापति गगन थापाले घोषणापत्र सार्वजनिक गर्ने छन्। प्रतिज्ञापत्र नाम दिएको घोषणापत्रमा जेनजी विद्रोहलाई आत्मसाथ गरिएको छ।
घोषणापत्र लेखनमा सहभागी कांग्रेस नेताहरूका अनुसार राज्यका संवैधानिक निकाय राजनीतिक प्रभावबाट पूर्णरुपमा मुक्त गरिने, भ्रष्ट्राचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभाकारी कानुन निर्माण गरेर कार्यान्वयन गर्ने लगायतका विषय समेटिएको छ।
त्यस्तै मन्त्रिपरिषद्का निर्णयलाई पनि अख्तियारको छानबिनको दायाराभित्र ल्याउनेगरि भ्रष्ट्राचार निवारण ऐन र अख्तियार ऐन संशोधन गर्ने पनि उल्लेख गरिएको छ।
मन्त्री, सांसद र उच्च पदस्थ राजनीतिक व्यक्तिहरुले शपथ लिनुपूर्व आफ्नो सम्पति अनिवार्य सार्वजनिक घोषणा गर्ने, २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पति छानबिन गर्न उच्चस्तरीय सम्पति छानबिन आयोग गठन गर्ने विषय राखिएको छ।
त्यस्तो आयोगलाई पूर्वन्यायाधीश, सेनाका पूर्व अधिकारीलगायतका सम्पूर्ण व्यक्तिको सम्पति छानबिनको समेत अधिकार प्रदान गर्ने उल्लेख गरिएको छ।
संविधान संशोधनका लागि सबै राजनीतिक पार्टी र सरोकारवालाहरुसंग राष्ट्रिय संवाद गर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्ने र आरक्षित निर्वाचन क्षेत्र प्रणाली अपनाउने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।
आरक्षित निर्वाचन क्षेत्रमा जाँदा एउटा क्षेत्र एक पटक मात्रै आरक्षित हुने अभ्यास गरिने कांग्रेसको प्रतिवद्धता छ। उम्मेदवार चयनमा सदस्यतामा आधारित प्राइमेरी निर्वाचनमा जाने विषयलाई पनि कांग्रेसले जोड दिएको छ।
सन्तुलित परराष्ट्र सम्वन्ध अंगाल्ने बताएकाे कांग्रेसले अर्थतन्त्रका क्षेत्रलाई दलीय प्रभाव, दबाव र कब्जा मुक्त पार्ने समेत घोषणा गरेको छ।
अनि, मुख्य विषय चाहिँ प्रधानमन्त्री दुई कार्यकाल मात्रै रहन पाउने रहेको छ।
