टिकट वितरण गर्दा पार्टीमा योगदान, क्षमता र योग्यता भन्दा पनि आर्थिक विषय प्राथमिकतामा परेको उनको आरोप छ ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यबाट राजीनामा गरेकी छन्।
पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको र क्षमता तथा योगदानको कदर नभएको भन्दै शर्माले पार्टी परित्याग गरेकी हुन् ।
शर्माले बुधबार रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेको घोषणा गरेकी छन् । उनी समानुपातिक उम्मेदवारको आकांक्षी थिइन् ।
समानुपातिकमा नराखेपछि प्रत्यक्षको टिकटको आकांक्षी थिइन् । प्रत्यक्षमा टिकट वितरण गर्दा पार्टीमा योगदान, क्षमता र योग्यता भन्दा पनि आर्थिक विषय प्राथमिकतामा परेको उनको आरोप छ ।
‘संगठनमा दिनरात खटिएका क्षमतावान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ,’ शर्माले राजीनामा घोषणा गर्दै लेखेकी छन्, ‘यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु ।’
बारा जिल्लाकी शर्मा रास्वपाको मधेस प्रदेशको संस्थापक सभापति हुन् । उनी हाल रास्वपाको महिला तथा सामाजिक विभागकी सदस्य थिइन् ।
‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने’ भन्ने मूल नाराले प्रेरित भएर आफू पार्टीमा आबद्ध भएको तर त्यो मूल्य विपरीत काम भएकोमा आफ्नो असन्तुष्टि रहेको शर्माको भनाइ छ । ‘आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेकी छु,’ उनले लेखेकी छन् ।
रास्वपाले प्रत्यक्षतर्फको टिकट वितरमाण आर्थिक अनियमितता गरेको आरोप नेताहरूमाथि लाग्दै आएको छ। यसै विषयलाई लिएर काठमाडौंका नेता प्रणयशमशेर राणाले पनि यसअघि पार्टी परित्याग गरिसकेका छन् ।
