घोषणापत्रबिनै मतदाताको आँगनमा अधिकांश दल

प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ६८ दलमध्ये निर्वाचन आयोगले तोकेको समयमा ३० ले मात्रै बुझाए घोषणापत्र

फाल्गुन ६, २०८२

दुर्गा दुलाल

Most parties in the voters' court without manifestos

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको समय अब १६ दिन मात्रै बाँकी छ । २१ फागुनका लागि तोकिएको निर्वाचन नजिकिँदै गर्दा ७७ वटै जिल्ला निर्वाचनमय बनेका छन् । तीन वर्षपछि दलका नेता/कार्यकर्ता मतदाताको घरआँगनमा पुग्दा गाउँसहरमा चहलपहल बढेको छ । तर, अधिकांश दलका उम्मेदवार घोषणापत्रबिनै मतदाताकहाँ पुगिरहेका छन् । 

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ६८ दलमध्ये मंगलबारसम्म ३० दलले मात्रै चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेका तथा आयोगमा बुझाएका छन् । आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले प्रत्यक्षतर्फको निर्वाचनमा ६८ दलले भाग लिनका लागि दर्ता गरेका छन् । त्यसमध्ये आधाभन्दा कम दलले घोषणापत्र बुझाएको उनले बताए । उनले कांग्रेस र एमालेलगायतका ठूला दलले नै घोषणापत्र बुझाउन बाँकी रहेको बताए । उनका अनुसार हालसम्म ३८ दलले घोषणापत्र बुझाएका छैनन् । 

आयोगका अनुसार प्रमुख दलहरू कांग्रेस, एमाले र रास्वपाले नै हालसम्म घोषणापत्र सार्वजनिक गरेका छैनन् । उनीहरूले निर्वाचन आयोगमा घोषणापत्र ल्याउने भनेर समय भने ‘बुक’ गरेका छन् । कांग्रेसले ६ फागुनमा, एमाले र रास्वपाले ७ फागुनमा सार्वजनिक गर्ने समय ‘बुक’ गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा नेपाललगायतका दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगले चुनाव प्रसारप्रसार गर्ने समय तालिका अगाडि नै दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको थियो । तर, ५ फागुनसम्म पनि अधिकांश दलले घोषणापत्र बुझाएका छैनन् । एमाले र कांग्रेस घोषणापत्र ल्याउने भनी समय ‘बुङ’ गरेको, रास्वपाले करारपत्र भनी आंशिक प्रतिबद्धतापत्र बुझाएको र केही दिनमा विस्तृत बुझाउने जानकारी दिएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले ३ फागुनभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिए पनि निर्वाचन कानुनमा घोषणापत्र अनिवार्य रूपमा ल्याउनुपर्ने व्यवस्था भने छैन । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दलहरूले ल्याउने घोषणापत्र पार्टीको पहिचान र उसलाई छान्ने आधार भएको बताए । मतदातासमक्ष पार्टीले आफ्नो सरकार आए यी–यी काम गर्छॅ भन्ने प्रतिबद्धतादेखि नीति र सिद्धान्तहरू उल्लेख हुने भएकाले घोषणापत्र आवश्यक हुने उनको भनाइ छ । विगतमा पनि दलहरूले घोषणापत्र ल्याउने गरेको र त्यसमा उल्लेख एजेन्डा र प्रतिबद्धता हेरेर मतदाताले मत दिने उनको दाबी छ ।

‘घोषणापत्र प्रतिज्ञापत्र वा संकल्प हो । मलाई जिताउनुस्, म देश र जनताका लागि यो गर्छु भनेर भनिन्छ । मतदाताले त्यसैमा विश्वास गर्ने हो,’ उनले भने, ‘संकल्प पनि हो । म चै सरकारमा जान्छु र सबैको भलो गर्न जान्छु भन्ने हो । संकल्प गरेपछि पूरा गर्नुपर्छ । पूरा भए नभएको जनताले पछि जाँच्ने आधार पनि यही हो ।’ दलले मलाई किन जनताले रोज्ने भन्ने कुरा पनि यही प्रतिबद्धतापत्रमा हुने भएकाले ल्याउनुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ । 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल पनि दलहरूको योजना र नीति घोषणापत्र वा प्रतिबद्धतापत्रबाटै मतदाताले थाहा पाउने बताउँछन् । ‘कुनै बाध्यात्मक कानुनी व्यवस्था छैन तर दलहरूले आफ्नो सिद्धान्त, मतदाताले किन मत दिने र के गर्छु भनी जनतालाई बुझाउन यस्तो घोषणापत्र ल्याउने हो,’ पोखरेलले भने, ‘नत्र कुन दल र उम्मेदवार कस्तो र यसको सिद्धान्त के हो भनेर मतदाताले कसरी थाहा पाउने ?’

निर्वाचन प्रचारको मुख्य सामग्रीका रूपमा पनि घोषणापत्रलाई लिने भएकाले यसको महत्त्व रहेको उनको तर्क छ । मतदाताको आवश्यकता र प्रस्टताका लागि पनि घोषणापत्र ल्याउनुपर्ने भएकाले यो कानुनी बाध्यताभन्दा जनताप्रतिको विश्वास भएको टिप्पणी उनले गरे ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा पारदर्शिता र सुशासनका क्षेत्रमा काम गरिरहेका दीपेश घिमिरेले दलहरूले निर्वाचनपछि के गर्ने मात्र हैन उसको सैद्धान्तिक आधार, के गर्न खोजेको हो प्रस्ट हुने बताए । प्रतिबद्धतापत्र दलको नीति र मार्गदर्शन पनि भएकाले ल्याउनुपर्ने उनको तर्क छ । ‘कार्यान्वयन हुने नहुने फरक पाटा हुन् । तर घोषणापत्रको सैद्धान्तिक आधारहरू हुन्छन् । दलको विधान र नीति पनि यसकै आधारमा बनाउने हो । दलप्रति चासो राख्नेले दलको घोषणापत्र हेर्ने अनि विश्वास गर्ने हो ।’

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully