राजनीतिमा देखिएको लोडसेडिङ हटाउन निर्वाचनमा होमियौःं कुलमान घिसिङ

चुनावी प्रचारका क्रममा मंगलबार दिउँसो चितवन आइपुगेका घिसिङले विद्युतीय क्षेत्रको लोडसेडिङ हटाउन सफल भएको भन्दै अब राजनीतिमा देखिएको लोडसेडिङ हटाउन निर्वाचनमा होमिएको बताए।

फाल्गुन ५, २०८२

राजु चौधरी

We are contesting the election to eliminate load shedding in politics: Kulman Ghising

What you should know

चितवन — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा देखिएको लोडसेडिङ हटाउन आफू निर्वाचनमा होमिएको बताएका छन् ।

चुनावी प्रचार–प्रसारका क्रममा मंगलबार दिउँसो चितवन आइपुगेका घिसिङले भरतपुरको चौविसकोठीमा सम्बोधन गर्दै विद्युतीय क्षेत्रको लोडसेडिङ हटाउन सफल भएको भन्दै अब राजनीतिमा देखिएको लोडसेडिङ हटाउन निर्वाचनमा होमिएको बताए ।

‘नेपालमा हिजो एउटा क्षेत्रको लोडसेडिङको अन्त्य भयो, यहाँ धेरै क्षेत्रमा लोडसेडिङ छ, मुख्यगरी राजनीतिक क्षेत्रमा लोडसेटिङ छ, यो राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न उज्यालो नेपाल पार्टी जन्मिएको हो,’ अध्यक्ष घिसिङले भने । 

उनले राजनीतिमा वेथिती र अध्यारो अवस्था आएको भन्दै राजनीतिलाई उज्यालो बनाउन आफू अघि सरेको बताए । उनले देशलाई अगाडि बढाउने भिजनसहित प्रतिवद्धता पत्र सार्वजनिक गरिएको भन्दै कार्यान्वयन क्षमतासहितको रोडम्याप ल्याईएको बताए । 

त्यसअघि भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष घिसिङले देश बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)सँग सहकार्य गरे पनि उनीहरुकै कारण आफ्नो पार्टी पछि हटेको बताए । उनले भने, ‘हामी सबै छाडेर उहाँहरु (रास्वपा)सँग मिल्न गएकै थियो तर उहाँहरुले नै सहमति तोड्नु भएको हो ।’ 

अध्यक्ष घिसिङले अहिलेको निर्वाचन नयाँ र पुरानो, काम गर्ने र भाषण गर्ने पार्टीबीचको लडाइँ रहेको बताए । उनले जेन–जी आन्दोलनपछि जन्म भएको आफ्नो पार्टी नै नयाँ र काम गर्न सक्ने प्रमाणित पार्टी भएको उनले दाबी गरे ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका घिसिङले सबै उम्मेदवारलाई आफू सम्झेर जिताउन आग्रह गरे । ‘हामी काम देखाएर राजनीतिमा आएका हौं, देशमा केही न केही परिवर्तन ल्याएका छौं’ अध्यक्ष घिसिङले भने,‘आर्थिक रुपान्तरण, झ्रष्टचारमुक्त, सुशासनयुत्त देशसँगै समग्र क्षेत्रकै उज्यालोका लागि पार्टी खोलेर आएका हौं ।’  

अध्यक्ष घिसिङ मंगलबार नै चितवनका विभिन्न क्षेत्रमा पुगेर पार्टीका लागि मत मागिरहेका छन् । उज्यालो नेपाल पार्टीबाट चितवन क्षेत्र नम्बर १ मा धनबहादुर गुरुङ, २ मा कुमार पाख्रिन र ३ मा डम्बरबहादुर तामाङ उम्मेदवार छन् । 

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully